१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्राविधिक विधामा पालिकाको छात्रवृत्ति

रुकुम पूर्व — सिस्ने गाउँपालिकाले विभिन्न प्राविधिक विधामा विद्यार्थी पढाउन थालेको छ । गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरेर गाउँपालिकामा जनशक्ति बढाउने उद्देश्यले छात्रवृत्ति प्रदान गरेको हो ।

स्टाफ नर्स, ल्याब टेक्निसियन र विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न भन्दै गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । सिस्ने–१ का दुई छात्रछात्राले स्टाफ नर्स र ल्याब टेक्निसियनको छात्रवृत्ति पाउनेछन् भने अन्य सबै वडाका ३० विद्यार्थीले विज्ञान विषय पढ्न छात्रवृत्ति पाएका छन् । यसका लागि आवश्यक प्रक्रिया पूरा गरिएको गाउँपालिकाले जनाएको छ ।

बेलाबेलामा आवश्यक पर्ने जनशक्ति अभाव हुने भएपछि गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेरै भए पनि जनशक्ति उत्पादनमा लागेको हो । विशेष गरी जहाँ जे चाहिएको छ, त्यसलाई पूर्ण गर्ने गरी गाउँ कार्यपालिकाले निर्णय गरेको हो । गत असोज २१ गते बसेको गाउँ कार्यपालिका बैठकले यी सबै विषयमा छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको थियो । कार्यपालिकाले एक जना नेत्र सहायक पनि पढाउनका लागि छात्रवृत्ति तयार पारेको थियो । तर, अन्त्यमा कलेजले नै समझदारी गर्न नमानेपछि नेत्र सहायकमा भने यस वर्ष छात्रवृत्ति प्रदान भएन । स्टाफ नर्स र ल्याब टेक्निसियन पढ्नेहरूको प्रक्रियामा रहेको छ भने विज्ञान विषय पढ्नेहरूले भने छात्रृवत्तिमा पढ्न थालिसकेका छन् । सिस्ने गाउँपालिका–५ मै रहेको रुक्मिणी माध्यमिक विद्यालयमा विज्ञान पढ्नेहरूले छात्रवृत्ति पाएका छन् ।

गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा मगरले जनशक्तिमा समस्या भएपछि छात्रवृत्तिमार्फत दक्ष जनशक्ति उत्पादनको निर्णय गरिएको जानकारी दिए । सिस्ने–१ मा स्वास्थ्यकर्मी अभाव भइरहने भएपछि सोही वडाका दुई जनालाई छात्रवृत्ति दिने गरी निर्णय गरिएको उनले बताए । स्थायी बसोबास गर्ने एक जनालाई स्टाफ नर्स र एक जनालाई ल्याब टेक्निसिनमा छात्रवृत्ति प्रदान गर्ने प्रक्रियामा रहेको उपाध्यक्ष बुढाले बताए । रुक्मिणी माविमा भने ३० जना छात्रछात्राले छात्रवृत्ति पाएका छन् ।

प्रकाशित : पुस १४, २०७८ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?