३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

म्याग्दीमा १२-१८ वर्ष उमेर समूहलाई मोडर्ना खोप लगाउन थालियो

रासस

म्याग्दी — म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ ।

पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरूलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिए ।

अभियान सुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरूले मोडर्ना खोप लगाउने लक्षित समुदायको तथ्यांक सङ्कलन गरेका थिए । बेनी नगरपालिकाका पाँच हजार ५३२, मालिकाका दुई हजार २८, धवलागिरिका एक हजार ४६५, मङ्गलाका एक हजार ४४५, रघुगङ्गाका एक हजार ११४ र अन्नपूर्णका एक हजार १०२ जनालाई मोडर्ना खोप लगाउने लक्ष्य छ ।

खोप लगाउनका लागि ८६ खोप केन्द्र कायम गरिएको छ । एक हजार ३०४ भाइल भ्याक्सिन आएको छ । धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा पुस ९ देखि १४ र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पुस ११ देखि १४ गतेसम्म खोप लगाउने समयतालिका बनाइएको छ ।

म्याग्दीका ३९ हजार ३९९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । थप १० हजार १७८ जनाले पहिलो डोज खोप लगाएका छन् । पूर्ण डोज खोपमा कोभिसिल्ड, भेरोसेल र एक डोज मात्र लगाउने जोन्सन एण्ड जोन्सनसमेतका खोप समावेश छन् । लक्षित ७२ हजार ९७३ जनसङ्ख्यामध्ये २३ हजार ३९६ अर्थात् ३२ प्रतिशतले अझै कोरोनाविरुद्धको खोप पाएका छैनन् ।

प्रकाशित : पुस १०, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?