कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हवाई उडान सुरक्षामा चुनौती

धावनमार्गमै वन्यजन्तु पुग्न थालेपछि वरपरको झाडी तथा जंगल फडानी

नेपालगन्ज — दुई महिनायता नेपालगन्ज विमानस्थलको धावनमार्गमा उडान गर्न लागेका दुईवटा जहाजमा वन्यजन्तु ठोक्किए । सीता एयरको जहाजमा तीनवटा बँदेल र बुद्ध एयरलाइन्सको जहाजमा दुम्सी र स्याल ठोक्किएका हुन् । त्यसले जहाज उडानमा सुरक्षा चुनौती देखिएको छ ।

हवाई उडान सुरक्षामा चुनौती

उड्न लागेका जहाजका अघिल्लो चक्कामा स्याल, बँदेल र दुम्सी ठोक्किएपछि नेपालगन्ज विमानस्थलमा सुरक्षा चुनौति देखिएको हो । त्यसअघि पनि पटक–पटक वन्यजन्तु र पंक्षी ठोक्किँदै आएका थिए । पछिल्ला घटनापछि विमानस्थलको सुरक्षा अवस्था सुधार गर्ने उद्देश्यले नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग वरपरको झाडी तथा जंगल फडानी गर्न थालेको छ ।

त्रिभुवन विमानस्थलपछिको सबैभन्दा बढी व्यस्त मानिने नेपालगन्ज विमानस्थलको १ सय ७५ बिघाभन्दा बढी क्षेत्रमा फैलिएको झाडी फडानीसँगै सरसफाइ गर्न आर्थिक संकट भएको प्राधिकरणले जनाएको छ । ‘विमानस्थल सुधार गरी सुरक्षित तुल्याउन २४ करोड रुपैयाँ आवश्यक पर्छ,’ नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख सुभाष झाले भने, ‘झाडी पन्छाउन पनि १ करोड रुपैयाँ खर्च लाग्छ । तर, बजेट छैन ।’ उनले धावन मार्गको चारैतिरका खाडल पुर्न र सम्याउन कार्यालयको बजेटले नपुग्ने बताए । विमानस्थल वरपर झाडी बढ्दै गएकाले पंक्षी र अन्य जन्तु ठोक्किन थालेको उनको दाबी छ ।

जहाजजस्तो अति संवेदनशील यातायातको साधन जंगली जनावर ठोक्किएर क्षति पुग्दासमेत विमानस्थलको सुरक्षा गर्न सरकारले आवश्यक बजेट पठाएको छैन । विमानस्थलमा प्रायः साँझको समयमा वन्यजन्तुहरू धावनमार्गमै घुम्ने गर्छन् । वन्यजन्तु तथा चराको जोखिम न्यूनीकरण गर्न विमानस्थल क्षेत्रवरिपरि काँडे तारबार गरिएको छ ।

तर, विमानस्थल क्षेत्रको सुरक्षाका लागि लगाएको तारबार स्थानीयले काटिदिने गरेकाले पनि चुनौती र जोखिम दुवै बढेको विमानस्थल प्रमुख झाले बताए । ‘हामीले लगाएको तार–जाली पटक–पटक स्थानीयबासीले घाँस–दाउरा तथा केटाकेटीले बयर खानका लागि काटिदिन्छन्,’ उनले भने, ‘काटिएको तारजालीबाट जंगली जनावर छिर्ने गरेका हुन् ।’ धावनमार्गमा पानी जम्ने हुँदा लेदोले चिप्लो गराउने गरेको छ । यसका साथै रनवे सानो हुँदा पनि उडान तथा अवतरणमा असहजता हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

अवस्था निकै जोखिमयुक्त देखिएपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले लिखित रूपमै बजेट पठाइ दिन नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको पनि महिनौं बित्यो । बजेट अझै आएको छैन । ‘सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै जंगल तथा झाडी पन्छाउन आवश्यक बजेटको व्यवस्था गरिदिनु भन्दै चिट्ठी नै पठाएको हो,’ प्रजिअ खत्रीले भने, यसबारेमा पर्यटन मन्त्रीलाई पनि जानकारी गराइएको हो ।’

घाँस–दाउरा कटान वरपरको तारबार काटेर मानिस धावनमार्गभित्र छिर्दै आएका छन् । यसले पनि जोखिम बढाएको छ । ‘तारजाली काटेर भित्र आउनेलाई नियन्त्रणमा लिन आइतबारदेखि गस्ती प्रहरी परिचालन गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘अब पनि भित्र पसे भने थुनेर मुद्दा नै चलाउँछौं ।’ उनले विमानस्थलका चारैतिरका विभिन्न सेन्ट्री पोस्टमा प्रहरी राख्न थालेको बताए । सेना र सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले झाडी पन्छाउने काम सघाउँदै आएका छन् ।

काठमाडौं र पोखरासहित कर्णाली र सुदूरपश्चिम प्रदेशको उत्तरी हिमाली र पहाडी जिल्लामा नेपालगन्जबाट दैनिक ४० देखि ५० वटासम्म हवाई उडान हुने गर्छन् । तर, विमानस्थलको धावनमार्ग वन्यजन्तु कुद्ने मैदानजस्तो हुँदा पर्यटन मन्त्रालयका अधिकारीले निर्देशनबाहेक चाहिने बजेट नपठाएको प्राधिकरणकै अधिकारीको गुनासो छ । प्राधिकारणले उधारोमै ९० बिघा क्षेत्रको ठूलो झाडी फडानी गरेको छ । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको तुल्याउन माग भइरहेकाले अहिलेको १२ सय मिटरको धावन मार्गलाई बढाएर २५ सय मिटर पुर्‍याउने योजना छ । तर, बजेट भने छैन ।

प्रकाशित : पुस ७, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?