१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नवलपरासीको दाउन्ने सडक खण्डमा मर्मत सुरु

नवीन पौडेल

परासी — पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी र पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड मर्मतको काम सुरु भएको छ । धुलो र खाडलले हिँड्न मुस्किल हुने सडक बल्ल मर्मत गर्न थालिएको हो ।

नवलपरासीको दाउन्ने सडक खण्डमा मर्मत सुरु

निकै व्यस्त सडक एकतर्फी रुपमा यातायात संचालन गरेर विभिन्न खण्डमा मर्मत गर्न थालिएको बुटवल नारायणगण सडक आयोजना विस्तार पश्चिम खण्डका प्रमुख प्रदीपराज शाक्यले बताए ।

‘दसैंअघि नै हामीले मर्मत गर्ने तयारी गरेका थियौं । तर पानी परीरहेकाले सम्भव भएन । पहिरो पनि लगातार खस्ने हुनाले सडक मर्मत गर्न नै जोखिम थियो,’ उनले भने, ‘अहिले दुम्किबासदेखि नै मर्मतको काम सुरु भएको छ । १०/१५ दिनमा काम सकिन्छ । सवारीको चाप धेरै हुनाले मर्मतमा समय लागेको हो ।’

यो सडक खण्डमा हिँड्ने पैदलयात्रु र मोटरसाइकल यात्रुहरू १५ किलोमिटर सडक पार गर्दा धुलोमैलोको सामना गर्न बाध्य छन् । धुलोका कारण दिउँसै बत्ती बालेर हिँड्नुपर्ने अवस्था रहेको भन्दै यात्रुहरूले गुनासो गरेका छन् ।

‘यो सडकखण्ड भएर हिँड्न नै मन लाग्दैन । वैकल्पिक सडक पनि छैन,’ एक यात्रु विकास लुईँटेलले भने, ‘बस्ती भएको क्षेत्रमा पानी दैनिक पानी हाल्ने गरेको भए पनि दाउन्ने खण्डको पहाडी क्षेत्रमा धुलो र खाडलले निकै सास्ती थियो । अहिले मर्मतको काम सुरु भएको रहेछ । खुसी लाग्यो ।’

दाउन्ने खण्डमा मात्र वर्षायाममा तीन स्थानमा सडक भासिएको र अधिकांश स्थानमा कालोपत्रे उक्किएको हुनाले सवारी आवतजावतमा असहज हुने गरेको छ ।

राजमार्ग विस्तारको काम सुरु भएपछि यस सडक खण्डको मर्मत गर्ने जिम्मा चाइना स्टेट कम्पनीले लिएको छ । तर ठेकेदार कम्पनीले बस्ती भएको स्थानमा स्थानीयले विरोध जनाएपछि मर्मत गर्ने तर बस्ती नभएको स्थानमा मर्मतमा चासो नदिँदा सडक जीर्ण बन्दैगएको हो । दुम्किबास, दलदले, कावासोती लगायत पूर्वी खण्डमा स्थानीयले ठेकेदार कम्पनीको कार्यालय घेराउ गरेपछि सडक मर्मत सुरु गरिएको थियो ।

प्रकाशित : मंसिर २४, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?