मुख्य नाका नै अस्तव्यस्त
लुम्बिनी — मुलुककै प्रमुख नाकामध्येको एक रूपन्देहीको बेलहिया नाका वर्षौंदेखि अस्तव्यस्त छ । मुख्य सडकमा गुड्ने ठूला बस, ट्याक्सी र भारवहन ट्रकका कारण खाल्डाखुल्डी बढेका छन् । भारतबाट प्रवेश गरेका गाडीका कारण पैदल यात्रा गर्नै मुस्किल हुन्छ । जिल्लाका छोटी नाका सफा र व्यवस्थित भए पनि मुख्य नाका सधैं भद्रगोल हुन्छ ।
छोटो दूरीका माइक्रो र लामो दूरीका बसका चालक र सहचालक मुलुक प्रवेश गर्नेबित्तिकै यात्रुलाई तानातान गर्छन् । मुलुक भित्रिने र बाहिरिने एउटै लेन भएकाले ओहोरदोहोर गर्ने सवारीको भीड उत्तिकै देखिन्छ । भन्सार बिन्दुमै सडक ओगटेर खाजा तथा फलफूलका ठेला राखिएका छन् । त्यहीं भन्सार सुविधाका लागि गाडीको लाम लाग्छ । खुला पार्किङ नहुँदा सडकमै भार बोकेका गाडी रोकिन्छन् । यहाँ दैनिक करिब ६ हजार मानिसको ओहोरदोहोर छ ।
बुटवल–बेलहिया ६ लेन सडक खण्ड अन्तर्गत बेलहियामा निर्माण बाँकी छ । ५ सय मिटर सडक जीर्ण छ । सडक निर्माणको जिम्मा पाएको व्यापारिक मार्ग विस्तार आयोजना चुपचाप छ । भारतलगायत श्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन, कोरिया, अमेरिका, अस्ट्रेलिया, भियतनामलगायत एक सयभन्दा बढी मुलुकका पर्यटक भित्रिने बेलहिया नाकाको दुर्दशाका कारण पर्यटकमा नकारात्मक सन्देश प्रवाह भइरहेको यहाँ खटिएका एक प्रहरीले बताए ।
चार वर्षदेखि बेलहिया नाका हुँदै देहरादुन पढ्न जाने तिलोत्तमा–६ का वसन्त पाण्डे नाकाको बेहालले गर्दा भारतीय साथीका अगाडि लज्जित हुनुपरेको बताउँछन् । ‘बिदामा भारतीय साथी लिएर घर आएँ,’ उनले भने, ‘नाकामा पुगेपछि साथीले सुन्दर नेपालको नारा झूटो भएको बतायो ।’
पर्यटक आउने नाका भएकाले सरसफाइ र व्यवस्थित बनाउनुपर्ने भए पनि यसप्रति कुनै पनि निकायले त्यति चासो दिएको छैन । पर्यटकले अध्यागमनको कागजपत्र बनाउने विषयमा अलमलिने गरेको पर्यटक प्रहरी कार्यालय बेलहियाका प्रहरी नायब निरीक्षक मोहनकुमार गुरुङले बताए । कागजी विषयमा विदेशीले नबुझ्दा झन्झट व्यहोर्नुपर्ने बताए । आफूहरूले ती समस्यामा सहयोग गर्ने गरेको भन्दै उनले अध्ययन गरेर नेपाल आउने पर्यटकलाई त्यति गाह्रो नहुने गरेको जनाए । गुरुङले अन्तरदेशीय पर्यटक बिना पासपोर्ट आउन मिल्ने र ती बाहेकका विदेशीसँग अंग्रेजीमा कुरा गर्नुपर्ने भएकाले भाषागत केही समस्या पर्ने गरेको बताए ।
विभिन्न ट्राभल्सका गाडी चढेर आउँदा पर्यटक ठगिने गरेको नाकामा खटिएकी एक प्रहरीले बताइन् । वर्षायाममा पर्यटक आएर सूचना लिने कार्यालय डुबानमा परेर बन्द हुँदा उनीहरूलाई अप्ठ्यारो पर्ने गरेको उनले बताइन् । यतिमात्र होइन, भारतीय गाडीमा आउने, उनीहरूकै जानकारीमा रहेका होटलमा सिधै जाने प्रवृत्तिले नेपाली पर्यटन व्यवसायीलाई व्यवसाय सञ्चालनमा चुनौती थपिएको उनले बताइन् । ‘भाडादरमा ठगिएको, नेपाल आउने सडकमा धूलो र फोहोरले बेहाल बनाएको गुनासो आइरहन्छ,’ उनले भनिन्, ‘उनीहरूको गुनासो सम्बोधन हुने निकायमा जानकारी पुगे पनि वास्ता गर्ने कोही छैन ।’ कागजपत्र हेरी पर्यटकलाई लगी नाकामा उपलब्ध कोरोना परीक्षणको व्यवस्थालाई भने सदुपयोग गर्ने गरेको उनको भनाइ छ ।
भन्सारमा जाने गाडी मात्र अर्को सडक हुँदै जाने गराउन सकिए भताभुंग देखिएको दृश्य परिवर्तन हुने इलाका प्रहरी बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेल बताउँछन् । यसो गर्न सके निजी साधन र पैदल यात्रुलाई व्यवस्थित गर्न सकिने उनले बताए । अन्यत्र नभएको व्यवस्थापन रुपन्देहीको बेलहिया नाकामा हुँदा समस्या थपिने गरेको पौडेलको भनाइ छ । ‘ब्यारियर’ भन्दा सिमामा पसल, पार्किङ भएको नाका बेलहिया मात्र भएको भन्दै उनले सुरक्षाका हिसाबले समेत यो सुविधा चुनौतीपूर्ण रहेको जनाए ।
तस्करी गरी सामान लिएर आउनेहरू भइहालेमा पनि आफूहरूले ब्यारियर नाघेपछि टुलुटुलु हेर्नेबाहेक केही गर्न नसक्ने उनको भनाइ छ । पैदल यात्रा गर्ने नागरिकका लागि छुट्याइने सडकको देब्रे किनारमा थोरै पनि स्थान बाँकी नरहेकाले व्यवस्थित गर्न सकिने माध्यम नै नरहने उनी बताउँछन् । स्थान अभाव भएकाले छोड्ने ठाउँ नहुँदा मानिस सडकमै उभिएर साधन पर्खने र यसले ट्राफिक व्यवस्थापनमा चुनौती रहने गरेको पौडेलको भनाइ छ । उनले यसबारे नगरपालिका र अन्य जनप्रतिनिधिसँग छलफल गरी उचित व्यवस्थापन गरिदिन आग्रह गरे पनि कुनै सम्बोधन नभएको गुनासो गरे ।
नाका व्यवस्थापनको मुख्य पाटो एकीकृत जाँच चौकी (आईसीपी) को अभाव भएको ट्रान्स नेपालका प्रमुख रवि पारिखले बताए । १५ वर्षअघि हुनुपर्ने कार्य अहिलेसम्म नहुँदा नेपाली सुन्दरता हेर्न आउने पर्यटकलाई नाकाले नराम्रो छाप छोडेको उनले बताए । पर्यटक नेपाल पस्ने मुख्य द्वारमा नेपाली शैली झल्किने कलासहितको गेटले समेत सकारात्मक सन्देश दिन सक्ने भन्दै उनले आधा सडक खण्ड पार गरेपछि मात्र गेट देख्नु पनि बेलहिया नाकाको लज्जास्पद पाटो भएको उनी बताउँछन् ।
देशलाई व्यापारिक र राजस्वमा अब्बल बनाएको नाका बेलहिया नाकाप्रतिको बेवास्ताले सरकारी नीति नियमप्रति धक्का पुग्ने खालको असर गर्ने पारिख बताउँछन् । समन्वयका हिसाबले पर्यटकीय क्षेत्रले समेत सहकार्य गरी नाकालाई अब्बल बनाए पर्यटक आगमन र व्यापार थप फस्टाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
बेलहिया नाकालाई व्यवस्थित बनाई अघि बढ्न प्रदेश सरकार र केन्द्रीय सरकारबीच छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । उनले आगामी चैतसम्म बाँकी रहेको ६ लेन सडक खण्ड सम्पन्न गरी भन्सार कार्यालयमा थप प्रभावकारी ढंगले चेकजाँच र सामग्री प्रवेशको चाँजो मिलाउने बताए ।
‘सडक सम्पन्न नहुँदा देखिएको बेहालबारे निर्माण व्यवसायी र सडक डिभिजनलाई बोलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘मुख्य सडक मंसिरभित्र र साइड सडक चैतसम्म सक्ने वाचाअनुसार काम गर्ने वातावरण मिलाइएको छ ।’ नाकाको विषयमा गम्भीर भएरै छलफल चलाइरहेको भन्दै उनले नाकाले दिने सन्देशप्रति संघीय सरकारले नै चासो दिई व्यवस्थापनमा सघाउने प्रतिबद्धता जनाएको बताए ।
प्रकाशित : मंसिर २३, २०७८ १०:२२