कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मन्दिरमा फोटो व्यवसाय

अर्घाखाँची — मुलुककै विभिन्न जिल्ला र भारतबाट अर्घाखाँचीको धार्मिक गन्तव्य सुपादेउराली मन्दिरमा दर्शनार्थी भित्रिनेको संख्या उच्च छ । मन्दिरमा दर्शनपछि मायाको चिनोस्वरूप तस्बिर खिचेर लैजाने धेरै हुन्छन् । भक्तजनको इच्छा पूरा गरिदिन ३५ जना युवाले हातमा क्यामरा लिएर उभिएका हुन्छन् । ५ मिनेटमै मन्दिरसहितको तस्बिर तयार गरेर फ्रेममा दिन्छन् ।

११ कक्षा पढ्दै गर्दा विदेश गएर फर्किएका खाँचीकोटका कमल केसीले चार वर्षदेखि भक्तजनको तस्बिर खिचेर बिक्री गर्दै आएको बताए । त्यसबाट उनले दैनिक १ हजारदेखि २ हजार रुपैयाँसम्म आम्दानी गर्छन् । कोरोना संक्रमणका कारण बीचमा मन्दिर बन्द भएर भक्तजन नआउँदा फोटो खिच्ने पेसाबाट विस्थापित हुने चिन्ता थियो ।

संक्रमणदरमा कमी आएपछि मन्दिर खुलेर दर्शनार्थीको घुइँचो लाग्न थाल्दा उनी खुसी छन् । ‘निषेधाज्ञाले दुई वर्षसम्म व्यवसाय चलेन,’ उनले भने, ‘अहिले पछिल्लो समय मन्दिर खुल्दा फोटो खिच्ने काम भ्याइनभ्याइ छ । सामूहिक र व्यक्तिपिच्छे तस्बिर खिच्ने दर्शनार्थी पनि हुन्छन् ।’

भारतबाट गाडी रिजर्भ गरेरै दर्शनार्थी आउँछन् । सबैले मोबाइलमा तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे पनि मन्दिरसहितको फ्रेम फोटो चिनोका रूपमा लैजान्छन् । भारतबाट आएकाले तस्बिरमा नेपालको सुपादेउरालीको चिनो भन्ने लेख्न भन्छन् ।

पछिल्लो समय संक्रमण कम हुँदै जाँदा भारतीय तीर्थालुको आगमन बढ्न थालेको र स्वदेशका भक्तजन आउजाउको भरमा व्यवसाय थेगिँदा फोटो व्यवसायी खुसी छन् । तर, पछिल्लो समय भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको र संक्रमण तीव्र बनेको भन्दै पर्यटक आगमनमा असर पर्न सक्ने व्यवसायीको चिन्ता छ ।

प्रकाशित : मंसिर २३, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?