२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

जसले लोकप्रिय मत पाए

राजनीतिमा पाएको अवसरले कपिलवस्तुका अलबिरा र लक्ष्मी चम्किए
सन्जु पौडेल

लुम्बिनी — ‘नमस्कार ! म डा. अलबिरा खान । मुस्लिम महिलातर्फकी उम्मेदवार । मलाई भोट दिनुहोला,’ तीन दिनअघि कपिलवस्तुको कृष्णनगर–२ की २४ वर्षीया खान यस्तै अनुरोध गरिरहेकी थिइन् । मत माग्दा मुहारमा चमक थियो । सोमबार मुहारमा खुसी दोब्बर देखियो । कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनको सोमबार बिहान पूरा भएको मत गणनामा अलबिराले ८ सय ८१ मत प्राप्त गरिन् ।

जसले लोकप्रिय मत पाए

मुस्लिम महिलाबाट प्रदेश सदस्य पद जितिन् । जितपछि माला र अबिर लगाउन व्यस्त रहेकी उनले भेटेजतिका कांग्रेस नेता तथा कार्यकर्तालाई धन्यवाद दिइरहेकी थिइन् । ‘जित–हारभन्दा युवाको उपस्थिति र आँट ठूलो विषय हो,’ उनले भनिन्, ‘मतदाताले गरेको मायाप्रति आभारी छु ।’

२०५४ सालमा कृष्णनगरमा जन्मिएकी खानले बाबुको प्रेरणाबाट राजनीतिमा आएको बताइन् । आफ्नो प्रवेशले मुस्लिम समुदाय हर्षित भएको उनले बताइन् । युवाले अवसर पाए राजनीतिक दल र समाजमा केही परिवर्तन हुन्छ कि भन्ने आशा पलाएको उनले बताइन् । बाल्यकालमा आफ्ना पिताको राजनीतिक यात्रादेखि प्रभावित उनले बुबा अकिल मियाको निस्वार्थ सामाजिक सेवा र घरमा आएका हरेक मानिसको समस्या समाधानको पहल देखेर राजनीतिमार्फत सेवा गर्नुपर्छ भन्ने लागेको बताइन् ।

‘युवा अवस्थामा पुगेपछि राजनीति गर्ने सोच बनाएँ,’ उनले भनिन्, ‘अहिले मौका पाएँ ।’ सानै छँदा बाबुको चुनावी प्रचारका लागि झण्डा बनाउन कपडा खरिद गर्न बजार जाने गरेको उनले सुनाइन् । ‘सिलाए पनि ल्याएर लट्ठीमा झुन्ड्याएर फरफराउँदै गाउँगाउँ हिंडेको याद छ,’ उनले भनिन्, ‘पिताको सेवाभावलाई अँगाल्न राजनीति गर्नुपर्छ भन्ने लाग्यो ।’

पिता अकिलले छोरीलाई लोकतान्त्रिक पार्टीको उम्मेदवार बनेर जित प्राप्त गरेको देख्न पाउँदा सन्तुष्टि मिलेको बताए । आफूले राजनीतिमा गरेको योगदान छोरीका लागि प्रेरणा बन्नु गर्वको विषय भएको उनले बताए । अलबिराले बाल्यकालको पढाइ कृष्णनगरमा सुरु गरिन् । त्यसपछि काठमाडौंको लिटल एन्जल्समा पढिन् ।

बंगलादेशको ढाकाबाट चिकित्सकीय अध्ययन पूरा गरिन् । यसअघि घर बिदामा आएका बेला जिल्लामा पार्टीको चुनाव थियो । उनका बुबा क्षेत्रीय सभापतिका उम्मेदवार बनेका थिए । बुबालाई जिताउन चुनावी नारा र झण्डा बोकेर हिंडेको उनले बताइन् । आमा रुविना खान छोरीले राजनीतिक यात्रा सुरु गरेकामा प्रशन्न छन् । ‘डाक्टर बनेकी छोरी नेता पनि भइन्,’ आमाले भनिन्, ‘खुसीले मन प्रफुल्ल छ ।’ राजनीतिबाट समाज सेवा गरी नाम उचो पार्न छोरीलाई साथ दिएको उनले बताइन् ।

अलबिराको बोल्ने शैली र नरम स्वभावले विद्यालय र कलेजमा सधैं प्रशंसा मिल्ने गरेको परिवारले बताए । साथीभाइले शिक्षकसँग केही विषयमा छलफल गर्न परेमा आफूलाई बोल्न लगाउने र राम्रो बोलेको भनी प्रशंसा गर्ने गरेको अलबिराले सम्झिइन् । बाल्यकालदेखि आफूमा भएको सेवाभावलाई पेसागत र सामाजिक हिसाबले बहन गर्न पाएकामा खुसी लागेको उनले बताइन् ।

‘मुस्लिम समुदायमा महिलालाई पढ्ने र बाहिरी संसारमा घुलमिल हुनबाट रोक लगाउने परम्परा छैन,’ उनले भनिन्, ‘यदाकदाका घटना हेरी समग्र समुदायबाटै वञ्चित भएको बुझ्नु गलत हो ।’ स्थानीय स्तरमै चिकित्सा पेसालाई अँगाल्दै राजनीतिक पृष्ठभूमिमा अघि बढ्ने सोच रहेको उनले बताइन् । युवाको प्रवेशले लोकतान्त्रिक कांग्रेसमा नयाँ जुक्ति र परिवर्तनशील उपायले काम गर्न सकिने उनले बताइन् । ‘निर्वाचनमा होमिनु मेरा लागि नयाँ कुरा थियो,’ उनले भनिन्, ‘यही कदम बुबाको यात्रामा सहकार्य गर्ने अवसर बन्यो ।’

अलबिराजस्तै प्रदेश सदस्यमा युवा अघि बढ्नुपर्छ भनेरै चुनावमा होमिएकी लक्ष्मी थारुले सबैभन्दा धेरै ८ सय ८८ मत प्राप्त गरिन् । आफ्नो समुदायबाट कोटामा नपरेपछि केन्द्रीय नेता चन्द्र भण्डारीसमक्ष अवसर पाउनु पर्ने भन्दै आक्रोश पोखिन् । ‘युवाले अवसर पाउनु पर्ने भनेपछि मेरो ध्यानाकर्षण भयो,’ नेता भण्डारीले भने, ‘अनि मैले उम्मेदवार बनाएँ ।’ लगत्तै उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अलबिरा र लक्ष्मीको तस्बिर राखेर शुभकामना दिए ।

‘हामीले संविधान यिनीहरूकै लागि बनाएका हौं,’ भण्डारीले भने, ‘अवसर दिन पाउँदा हर्ष लागेको छ ।’ दुवैले विजय प्राप्त गरेपछि भण्डारीले टेलिफोनमार्फत बधाई दिए । २७ वर्षीया थारु कपिलवस्तुको वाणगंगा–१० की बासिन्दा हुन् । कांग्रेस भ्रातृसंगठन तरुण दलमा आबद्ध भएर राजनीति गर्न थालेको एक दशक पूरा भएको उनले बताइन् ।

‘थारु कोटाबाट उम्मेदवारी दिने निर्णय गरी निर्वाचनस्थल पुगेकी थिएँ,’ उनले भनिन्, ‘कोटामा टिकट नपाएपछि उम्मेदवार बन्न पाउने आशा गुमेको थियो ।’ युवाले अवसर पाउनुपर्छ भनी डटिरहेपछि मौका पाएको उनले बताइन् । आफ्नो संस्कृति झल्कने पोसाकसहित मतदान स्थलमा मत मागेकी थिइन् ।

सांस्कृतिक प्रभावले प्यानलगत मात्र नभई लोकप्रिय भोट पाएको उनले बताइन् । ‘मैले थारु समुदायका महिलासमेत अघि बढ्न सक्छन् भन्ने सन्देश दिन खोजेकी हुँ,’ उनले भनिन्, ‘संस्कृति र सन्देश दुवैको मिश्रणलाई मतले जोगायो ।’ अब भने आफू पिछडिएको समुदायका महिलालाई अघि बढाउने र कांग्रेसभित्रको युवा भूमिकामा सक्रिय हिसाबले रहने गरी काम गर्ने उनको भनाइ छ ।

प्रकाशित : मंसिर २२, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?