कांग्रेस महाधिवेशन : २४ वर्षीया डाक्टर अलविरा बनिन् लुम्बिनी प्रदेश सदस्य- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महाधिवेशन : २४ वर्षीया डाक्टर अलविरा बनिन् लुम्बिनी प्रदेश सदस्य

सन्जु पौडेल

लुम्बिनी — नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा विजयी हुनेमध्येकी एक हुन् डा.अलविरा खान । २४ वर्षीया खानले बाल्यकालदेखि नै आफ्नो पिता पूर्वक्षेत्रीय सभापति अकिल मियाँको राजनीतिक पृष्ठभूमिबाट प्रभावित भई राजनीतिमा प्रवेश गरेको बताइन् । 

उनले ८ सय ८१ मत ल्याई पौडेल समूहबाट सदस्यमा निर्वाचित भइन् । उनी मुस्लिम समुदायबाट प्रदेश सदस्य बनेकी हुन् । ‘पिछडिएको समुदायको आवाज उठाउन आफूले राजनीति रोजेको बताउने उनी कपिलवस्तु–३ को प्रदेशसभा ‘ख’ बाट प्रतिनिधि भएर लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी थिइन् ।

१८ वर्षमा क्रियाशील सदस्यता लिई अघि बढेकी उनले ५ वर्ष बंगलादेशको ढाकामा डाक्टरी पढेर फर्केपछि प्रदेश सदस्यमा उम्मेदवारी दिएकी हुन् ।

राजनीति र डाक्टरी दुवै सेवा गर्न मिल्ने पाटो भएकाले दुवैलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको उनले सुनाइन् । ‘बुवाको हात समाई-समाई झण्डा बोकेर हिँड्दा राजनीति मन पऱ्यो,’ उनले भनिन्, ‘पढेर डाक्टर नै बन्छु भन्ने चाहनाले डाक्टरी पास गरेँ ।’

दुवैमा आफ्नो संलग्नता र केही परिवर्तनको प्रयास जारी राख्ने भन्दै युवाको प्रवेशले समग्र कांग्रेसलाई युवामय कांग्रेस बनाउन सघाउने र यसले नयाँ पुस्तालाई पार्टीप्रतिको जिम्मेवारीबोध गर्न सिकाउने उनको भनाइ छ ।

प्रकाशित : मंसिर २०, २०७८ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्

मतदान नगरेकोबारे शेखरको प्रतिक्रिया : ‘गल्ती भए क्षमाप्रार्थी छु’

कान्तिपुर संवाददाता

काठमाडौं — कांग्रेस नेता शेखर कोइरालाले कानुनी परामर्श गर्दा भविष्यमा जटिलता आउन सक्ने पाएपछि प्रदेश १ को अधिवेशनमा मतदान नगरेको दाबी गरेका छन् ।

फाइल तस्बिर

कोइरालाको गृहनगर विराटनगरमा भएको अधिवेशनमा उनका उम्मेदवार गुरुराज घिमिरे २ भोटले पराजित भएका छन् । तर, कोइरालाले नै घिमिरेलाई मतदान गरेका थिएनन् ।

त्यसबारे प्रश्न उठेपछि कोइरालाले सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन् । ‘कांग्रेस १४ औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो,’ कोइरालाले लेखेका छन्, ‘तसर्थ मतदान नगर्नु उपयुक्त ठानें । यस क्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु ।’

प्रकाशित : मंसिर २०, २०७८ १३:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×