साना किसानले पाएनन् अनुदान- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साना किसानले पाएनन् अनुदान

कार्यक्रम ल्याएको दुई वर्ष पुग्दासम्म सरकार र बैंकबीच समन्वय हुन सकेन
अमृता अनमोल

बुटवल — साना किसानलाई उकास्ने र व्यावसायिक कृषि बढाउने उद्देश्यले लुम्बिनी सरकारले २०७६ मा किसानका लागि सुलभ कर्जा कार्यक्रम ल्यायो । कृषि विकास बैंकमार्फत किसानलाई ब्याजमा १० प्रतिशतसम्म अनुदान दिने कार्यविधि बनायो । सरकार र बैंकबीच समन्वय नहुँदा कार्यक्रम ल्याएको दुई वर्ष पुग्दासम्म एक जना किसानले पनि अनुदान लगेका छैनन् । अनुदान पाइने आशमा प्रदेश सरकारका संरचना र बैंकहरू धाउँदा किसान भने दिक्क छन् ।

लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा खाद्य प्रविधि मन्त्रालयमार्फत किसानलाई व्यावसायिक योजनाका आधारमा व्याजमा अनुदान कार्यक्रम ल्याइएको हो । त्यसमा वार्षिक १ हजार किसानलाई बैंकबाट अनुदान दिने योजना छ । पहिलो वर्ष कार्यविधिमा समय बितायो । गत वर्ष कर्जाको व्याजमा पहिलो वर्ष १०, दोस्रोमा ८ र तेस्रोमा ५ प्रतिशत अनुदान दिने गरी गत आर्थिक वर्षमा १६ करोड बजेट विनियोजन भयो । रकम दुरुपयोग हुन नदिन भन्दै किसानले सुरुमा बैंकको सबै ब्याज बुझाएपछि मात्रै अनुदानको रकम फिर्ता हुने प्रावधान बनाइयो । तर, अहिलेसम्म एक जना किसानले पनि सुलभ कर्जाबाट ऋण लिएका छैनन् ।

कर्जा प्रवाहमा सहजीकरण गर्न सम्झौता गरेको कृषि विकास बैंकले लिएको पहिलो किस्ताको ५ करोड रकम खर्च गर्न नसकेको भन्दै फर्काइदिएको छ । मन्त्रालयका सूचना अधिकारी शालिकराम गौतमले बैंक, किसान र प्रदेश सरकारबीच आवश्यक समन्वय र सहकार्य अभावमा समस्या भएको बताए । ‘संघीय सरकार मातहतका बैंकले प्रदेशका कुरालाई बेवास्ता गरेको पाइयो,’ उनले भने, ‘ऋण पाइने आशमा कृषि विकास बैंकमा गएका किसानलाई समेत प्रदेश सरकारको अनुदान प्रक्रिया यस्तो छ भनेर बताउने काम भएको छैन ।’ ऋण प्रवाहमै समस्या भएपछि मन्त्रालयले राष्ट्रबैंक सिद्धार्थनगरसँग समन्वय गरेर कृषि विकास बैंकलाई सम्झौता अनुसार काम गर्न सहजीकरण थालेको छ । यद्यपि, नतिजा नदेखिएको सूचना अधिकारी गौतमले बताए ।

सुलभ कर्जा कार्यविधि अनुसार ऋण लिन चाहने किसानले जिल्लास्थित कृषि ज्ञान केन्द्र एवं पशु विज्ञ केन्द्रमा निवेदन दिनुपर्छ । सुरुमा ती कार्यालयको प्राविधिक अध्ययन, सिफारिस र व्यावसायिक योजना लिएर किसान बैंक गएपछि मात्रै बैंकले ऋण प्रक्रिया सुरु गर्छ । कतिपय किसान कृषि केन्द्र र बैंक धाइरहनुपर्ने झण्झटिलो प्रक्रियाका कारण ऋण लिन गएका छैनन् । कतिपय बैंकले खोजेजस्तो व्यावसायिक योजना बनाउन नसक्दा बैंकको ढोकाबाट फर्केका छन् । ओमसतिया गाउँपालिका पड्सरीका तरकारी किसान मेघराज घिमिरेले बैंकले खोजेजस्तो योजना बनाउन नसक्दा ऋण लिन नपाएको गुनासो गरे ।

‘१० लाखको धितो ग्यारेन्टी गरेर अनुदान लिन गएको थिएँ,’ उनले भने, ‘कहिले कर्मचारी नभेटिने, कहिले बैंकले योजना मिलेन भनेर फर्काउँदा अनुदान लिन सारै गाह्रो रहेछ ।’ मन्त्रालयले किसानलाई सघाउन र ऋणमा सहजीकरण गर्न १२ जिल्लामा १६ जना सहजकर्ता राखेको छ । तर, ती सहजकर्ता कहाँ छन् ? किसानले भेटेका छैनन् । कृषि विकास बैंकले पनि सहजकर्ताले अहिलेसम्म किसानलाई व्यावसायिक योजना बनाएर पठाएको नपाइएको बताएको छ ।

सहजीकरण पनि नहुने र किसानले स्पष्ट योजना ल्याउन पनि नसकेकै कारण ऋण प्रवाहमा समस्या भएको कृषि विकास बैंकका लुम्बिनी प्रदेश प्रमुख राजेशकुमार श्रीवास्तवले बताए । ‘सरकारी अनुदान नै भए पनि बैंकले धितो ग्यारेन्टी नहुँदासम्म ऋण प्रवाह गर्न सक्दैन,’ उनले भने, ‘अधिकांश किसान ऋण पाइन्छ भनेर आए पनि स्पष्ट योजना र धितोबिना आएकाले ऋण प्रक्रियामा समावेश गर्न नसकिएको हो ।’ यद्यपि, ७२ जना किसानलाई अनुदानमा ऋण दिन प्रक्रिया अगाडि बढाएको श्रीवास्तवले बताए ।

प्रकाशित : मंसिर २०, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

कलाकार कसको ?

संगीत, साहित्य, रंगमञ्च र ललितकलाका क्षेत्रमा दिवंगत सर्जकहरुलाई स्मरणको जिम्मेवारी उनीहरुका परिवार र शुभचिन्तकको मात्रै होइन
सुशीला तामा‌ङ

काठमाडौँ — ‘देश भन्नु ढुंगा र माटोको भूगोल मात्र होइन । साहित्य, संगीत तथा कला कुनै पनि देशको मुहार हो । साहित्य, कलाबिना देशको केही अर्थ नै छैन,’ गत बुधबार संगीत प्रवीण नरराज ढकालको १०१ औं जन्मजयन्तीका अवसरमा अर्का संगीत प्रवीण मोहनप्रसाद जोशी बोले । राज्यले सर्जकहरूप्रति गरेको बेवास्तालाई उनले इंगित गर्दा समारोहमा सहभागी धेरैजसो भावुक बने ।

नरराज ढकाल जस्तै थुप्रै सर्जकहरूले कला साधनामा जीवन अर्पण गरे । त्यसको बदलामा राज्यले स्रष्टालाई के दियो त भन्ने प्रश्नमा सबै मौन बस्नु दुःखदायी पक्ष रहेको उनले सुनाए । सर्जकहरू दिवंगत भएपछि तिनका सिर्जनाहरूको व्यवस्थापन छ न अध्ययन, न त अनुसन्धान नै छ । केही सर्जक र तिनका योगदानलाई नयाँ पुस्तासम्म जीवन्त राख्न परिवार लागिपरेका छन् ।

प्रभुराजले बाबु नरराज ढकालको योगदान चिरस्थायी राख्न स्मृति प्रतिष्ठान चलाएका छन् । ढकालले सात दशकभन्दा लामो समय संगीत साधनामा बिताए । कैयौं कलाकार जन्माएर नेपाली शास्त्रीय संगीतलाई बलियो बनाए । प्रभुराजका अनुसार अहिलेसम्म राज्यका तर्फबाट ढकालको साधना र सिर्जनामा कुनै खोजीनिति नै छैन । ‘बुबाको योगदानलाई जोगाइराख्न राज्यले पनि केही गरिदेला भन्ने आशा छ, अहिलेसम्म केही गरेको छैन,’ उनले भने, ‘हामी परिवारकै पहल तथा बुबाको शुभचिन्तक, आफन्तको भरमा प्रतिष्ठानले वर्षको एकचोटि भए पनि उहाँको योगदानलाई बाहिर ल्याउने कोसिस गरिरहेका छौं ।’ प्रतिष्ठानले बर्सेनि पुरस्कार वितरण गर्छ । यसको व्यवस्थापनको परिवारबाट नै भइरहेको छ । ‘सर्जकहरू देशका गहना हुन् । उनीहरूको योगदानको कदरका लागि पनि राज्यले संरक्षणको नीति लिनुपर्छ । नलिनु कला क्षेत्रकै दुर्भाग्य मान्नुपर्छ,’ प्रभुराज दुःखेसो गर्छन् ।

प्रभुराजजस्ता धेरै जना छन्, जसले दिवंगत स्रष्टाका योगदान जीवन्त राख्न विभिन्न गतिविधि गर्दै आएका छन् । संगीत, साहित्य, रंगमञ्च र ललितकलाका क्षेत्रमा दिवंगत सर्जकहरूलाई स्मरणको जिम्मेवारी उनीहरूका परिवार र शुभचिन्तकको मात्रै होइन । नेपाली संगीत जगत्मा श्रद्धापूर्वक लिइने नाम हो गोपाल योञ्जन । दार्जिलिङमा जन्मे, नेपाललाई कर्मभूमि बनाएर गए । उनले नेपाली संगीत जगत्मा अमूल्य योगदान दिए । उनका सिर्जनालाई दस्ताबेजीकरण गर्न राज्यका तर्फबाट कसैले पहल गरेको छैन । पिताका सिर्जनाहरूलाई जोगाउन परिवार नै लाग्नुपरेको छोरी सिर्जना सिंह योञ्जन बताउँछिन् । ‘राज्यले त बुबाका लागि केही गरिदेला भन्ने केही आशा नै छैन,’ उनले भनिन्, ‘गोपाल योञ्जन भनेको एकजना व्यक्ति मात्र होइन, राज्य र नयाँ पुस्ताका लागि इतिहास हो भन्ने कुरा कसैले सम्झेनन् ।’

आफ्नो पिताको नामसँगै जोडिदिएको ‘संगीत सम्राट्’ भन्ने पदवीप्रति नै उनले तिक्तता व्यक्त गरिन् । हाल अमेरिकाको कोर्नेल विश्वविद्यालयको सहकार्यमा योञ्जनका सिर्जनाहरूलाई डिजिटल फर्ममा लैजाने काम भइरहेको उनले सुनाइन् । नयाँ पुस्ताले योञ्जनलाई सुन्न र पढ्न सजिलो होस् भनेर काम गरिरहेको उनले बताइन । ‘आफ्नै परिवारले सर्जकहरूलाई संरक्षण गर्नुपर्छ भने कुनै संस्था, प्रतिष्ठान र मन्त्रालय जरुरी नै छैन । सिर्जनामाथि राजनीति हाबी भएको छ । उनीहरूले जिम्मेवारी नै वहन गर्न सकेको छैन,’ उनले भनिन् ।

अर्का संगीतकर्मी अरुण थापाका योगदानलाई चिरस्थायी राख्न उनका छिमेकी भाइहरू सन्दन थापा र पुरुषोत्तम थापा लागिपरेका छन् । उनीहरूकै पहलमा अरुण थापा स्मृति प्रतिष्ठान र थापाकै घर भएको झम्सिखेलस्थित चोकमा सालिक प्रतिस्थापन गरिएको छ ।

संगीत सर्जकहरू नारायण गोपाल, तारादेवी, नातिकाजीका योगदान जोगाउन राज्यका तर्फबाट केही भरथेग छ । नारायण गोपाल निवास महाराजगन्जमा काठमाडौं महानगरपालिकाको सहायतामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माणका क्रममा छ । तारादेवी स्मृति फाउन्डेसनलाई राज्यका तर्फबाट कोष खडा छ भने नातिकाजीका लागि यसै वर्ष महानगरले २० लाख अक्षयकोष स्थापना गरिदिएको नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले बताए ।

परिवार तथा संगीत सर्जकहरूकै पहलमा २०६२ सालमा नातिकाजी समाजको स्थापना गरिएको थियो । समाज स्थापना भएको झन्डै डेढ दशकपछि मात्र बल्ल अक्षयकोष स्थापना भएको हो । यसका लागि निकै लामो समय पहल गर्नुपरेको बाँस्कोटा सुनाउँछन् । सर्जकहरूका लागि जोगाउन स्वयं जीवित सर्जक तथा परिवार नै पहुँचमा पुग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बाँस्कोटाको मत छ । ‘सर्जकहरूलाई स–साना अक्षयकोष मात्र होइन देशमा अध्ययन, अनुसन्धान गर्ने परिपाटी तथा तिनका ठूलठूला संग्रहालय नै हुनुपर्छ,’ उनी भन्छन् ।

सिर्जना र सर्जकको विकास, संरक्षणका लागि देशमा संस्कृति मन्त्रालय नै छ । संगीत, साहित्य तथा कलाको छुट्टाछुट्टै तीन प्रतिष्ठानहरूसमेत स्थापित छ । ती प्रतिष्ठानहरूको कर्मचारी नियुक्ति र कार्यकालभरि कार्यालय सञ्चालनमा नै समय जाने कवि तथा गीतकार दिनेश अधिकारी सुनाउँछन् । ‘तीन प्रतिष्ठान कार्यकर्ता भर्ती केन्द्र जस्तो मात्र भयो । प्रतिष्ठान त छन् तर बजेट सीमित छ । आएको बजेटले प्रतिष्ठानका कर्मचारीहरूलाई जागिर खाने बाटो मिलेको छ,’ उनी भन्छन् । मौका पर्दा हेर्ने, सुन्ने र पढ्ने कलाका सर्जकलाई राज्यबाट उपेक्षा भएको उनको ठहर छ ।

कलाकारहरूप्रति राज्यले गर्दै आएको बेवास्ताबीच सर्जकहरू बेलाबखत प्रश्न पनि तेर्स्याउने गर्छन्– कलाकार परिवार या कला क्षेत्रका लागि मात्र हुन् वा राष्ट्रका ? सर्जकहरू छिमेकी देश भारतले कला सर्जकहरूप्रति गरेको सम्मान संस्कारलाई नेपालले सिको गर्न नसकेकोमा गुनासोसमेत गर्छन् । कला र कलाकारप्रति राज्यको कुनै संवेदनशीलता नै नरहेको संगीतकर्मी आभास बताउँछन् । ‘कलाका सर्जकप्रति राज्यको जिम्मेवार निकाय नै उदासीन छ । जो सच्चा सर्जक थिए र छन्, उनीहरूले सत्ताको चाकडी गर्न गर्दैनन् । तिनै सर्जकहरू राज्यको नजरमा परेनन्,’ उनले भने । राज्यले केही गरेन भनेर गुनासो मात्रै गरेर बस्नुभन्दा परिवार तथा शुभचिन्तकको पहललाई पनि सकारात्मक मान्नुपर्ने उनले बताए ।

नाट्यकर्मी अशेष मल्ल भने दिवंगत मात्र नभएर कला क्षेत्रका जीवित साधकहरूलाई समेत राज्यले बेवास्ता गरेको टिप्पणी गर्छन् । ‘यहाँ कलामा लागेकाहरूलाई आफ्नो जीवन धान्न गाह्रो छ,’ उनी भन्छन्, ‘कला क्षेत्र व्यक्तिगत प्रयासबाट नै यहाँसम्म आइपुगेको हो । अन्य क्षेत्रबाट आशा राख्ने कुनै बाटो नै छैन ।’

प्रकाशित : मंसिर २०, २०७८ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×