बुटवलमा भन्सार छलीको जुत्तासहितको गाडी नियन्त्रणमा            - लुम्बिनी - कान्तिपुर समाचार

बुटवलमा भन्सार छलीको जुत्तासहितको गाडी नियन्त्रणमा            

माधव ढुंगाना

भैरहवा — भन्सार छलेर नेपाल भित्र्याइएको करिब ९ लाख रुपैयाँका भारतीय विभिन्न ब्राण्डका जुत्तासहित गाडी रुपन्देही प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउ पुलबाट लु १ च ८२१३ नम्बरको पीकअप गाडीसहित ७ सय ५० जोर जुत्ता पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रवक्ता नवरत्न पौडेलले जनाए । उनका अनुसार, भारतीय कम्पनी ऐर, बाटा, स्पोर्टस लगायतका ब्राण्डका ती जुत्ता भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याइएको हो । गाडीसहित रुपन्देही सैनामैना नगरपालिका–४ मुर्गिया निवासी ३२ वर्षीय चालक विष्णु थापा पक्राउ परेका छन् ।

बरामद भएका जुत्ता, ढुवानीमा प्रयोग गरिएको गाडी र चालकलाई कारबाही लागि आइतबार नै भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

चालक थापाले उक्त परिमाणको जुत्ता कपिलवस्तुबाट बुटवलका लागि ल्याएको प्रारम्भिक बयान दिए पनि कुन पसलबाट ल्याएको र कसलाई दिने हो ? भन्ने बारेमा केही खुलेको छैन ।


प्रकाशित : मंसिर १९, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिको मूलधारमा आउन गृहमन्त्री खाँणको आह्वान

माधव ढुंगाना

भैरहवा — गृहमन्त्री बालकृष्ण खाँणले सबै राजनीतिक शक्ति तथा दललाई राष्ट्रिय राजनीतिको मूलधारमा आउन आह्वान गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीद्वारा बुधवार भैरहवामा आयोजित पार्टी कार्यकर्ता सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले दिवंगत नेता गिरिजाप्रसाद कोइरालाकै पहलमा तत्कालीन नेकपा (माओवादी) सँग बृहत् शान्ति सम्झौता भएको प्रसंग उल्लेख गरे ।

राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन चन्द समूहसँग सरकारको पहल भइरहेको जनाउँदै खाँणले मुलुकको आर्थिक समुन्नतीका लागि शान्तिको मार्ग प्रशस्त कसरी गर्ने ? भन्ने बारेमा सरकारले सोचेको बताए ।‘म बुद्ध जन्मस्थलबाट आह्वान गर्छु कि राष्ट्रिय राजनीतिको मूलधारमा सबै राजनीतिक शक्तिहरु आउनुस्’, खाँणले भने, ‘हतियार बुझाउन बाँकी रहेका शक्ति हुनुहुन्छ भने पनि हतियार बुझाएर शान्ति प्रक्रियामा आइ राष्ट्रिय राजनीतिको मूलधारमा आउनुस् ।'

कांग्रेसको अब हुने महाधिवेशनले कांग्रेसलाई आफ्नो दायित्वप्रति जिममेवारी बोध गराउने उनले बताए । सबैले नेपाली कांग्रेससँग आपसमा हातेमालो गरेर कसरी अगाडि बढ्ने ? भन्नेबारे सबै गम्भीर बन्न उनले आग्रह गरे । एउटा कांग्रेसले अर्को कांग्रेसलाई सम्मान गरेर निर्वाचनको बेला जीत र हारको अनुभूति नहुने गरी सबै कार्यकर्तालाई पार्टीमा समेटेर जाने वातावरण बनाउन सक्नु पर्ने चुनौती कांग्रेससामु आएको उनले बताए ।

पार्टी महाधिवेशनको बेलामा देखा पर्ने मतभेदका कारण कांग्रेसभित्रै एक पक्षले अर्को पक्षलाई हराउनमै बहादुरी मान्ने प्रवृत्तिले कांग्रेस जहिलेसुकै बहुमतका साथ सरकारमा रहँदा पनि बीचमै ढल्ने गरेको उनले बताए । ‘नेपाली कांग्रेस सरकारमा रहँदा सरकार र पार्टी दुवैलाई गतिशीलता बनाउन सकिएको छैन,’ उनले भने, ‘सरकार प्रमुख र पार्टी सभापति बीचको द्वन्द्वले हरेक निर्वाचनमा पार्टी एकताबद्ध भएर जान सकेको छैन ।’

पार्टी सभापति र सरकार प्रमुखमा एउटै व्यक्ति नहुँदा पटक-पटक नेपाली कांग्रेसको सरकार पूरा अवधि नटिकेर सरकार ढलेको प्रसंग उनले निकाले ।

प्रकाशित : मंसिर १, २०७८ १७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×