नाकामै छैन हेल्थ डेक्स- लुम्बिनी - कान्तिपुर समाचार

नाकामै छैन हेल्थ डेक्स

स्वास्थ्य परीक्षणमा कडाइ गर्न चिकित्सकको सुझाव
कान्तिपुर संवाददाता

बर्दिया — ओमिक्रोन भेरिएन्ट छिमेकी मुलुक भारतमा देखिए पनि त्यससँग सीमा जोडिएको बर्दियाका नाकामा स्वास्थ्य मापदण्ड अपनाइएको छैन । भारतसँग जोडिएको नाकाबाट यात्रुको आवतजावत निरन्तर छ ।

पहिलो र दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि गुलरियाको नेपाल–भारत सीमास्थित सुरजपुरमा हेल्थ डेक्स राखिएको थियो । तर, अहिले सीमा नाकामा कतै पनि हेल्थ डेक्स छैनन् । सीमामा खुलेआम नेपाली र भारतीय नागरिकको आउजाउ छ । तीव्र गतिमा फैलिइरहेको ओमिक्रोन बिहीबार मात्रै भारतको कर्नाटकमा दुई जनामा पुष्टि भएको थियो ।

गुलरिया–१० का दीपु चौधरीले प्रशासनिक लापरबाहीले यहाँ पनि ओमिक्रोन फैलिने त्रास बढेको बताए । ‘प्रशासनले सबै तयारी गरेको बताए पनि स्वास्थ्य मापदण्ड नै अपनाउन सकेको छैन,’ उनले भने, ‘भारतका विभिन्न प्रान्तमा काम गरेर फर्केका शंकास्पद मानिसको स्वास्थ्य परीक्षण नै गरिंँदैन ।’ केही गैरसरकारी संस्थाले सीमामा हेल्थ डेक्स राख्न लगानी गर्ने बताए पनि प्रशासनिक निकायले खासै चासो नदिएको स्थानीयको गुनासो छ । जिल्लाका गुलरिया, गणेशपुर, रजनवा, जमुनी, कटी, ताराताल, विछिया, भिम्मापुरलगायत खुला सीमाबाट मानिसहरूको आवतजावत बाक्लो छ ।

जिल्ला अस्पताल गुलरियाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले सीमामा स्वास्थ्य परीक्षण कडाइका साथ गर्नुपर्ने बताए । ‘लक्षण देखिएका यात्रुको एन्टिजेन परीक्षण गर्नु पर्छ,’ उनले भने, ‘खोप नलगाएकालाई अनिवार्य लगाउन सबैले पहल गर्नु पर्छ ।’

दोस्रो चरणको कोरोना संक्रमणबाट जिल्लामा २ सय १९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस अवधिमा ७ हजार ५ सय ४० जना कोरोना संक्रमित भएका थिए । हाल कोरोनाका २२ जना सक्रिय संक्रमित छन् । तीमध्ये १७ जना होम आइसोलेसन र ५ जना अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए । सीमामा कडाइ नभए ओमिक्रोन भेरिएन्ट फैलिने जोखिम हुने उनले जनाए । सीमामा जोखिम बढ्नासाथ खुला नाका बन्द गर्ने तयारी गरिने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । ‘सीमापारि ओमिक्रोन देख्नासाथ सीमा बन्द गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विभिन्न संघसंस्थामार्फत क्वारेन्टाइनका लागि अस्थायी क्याम्प राख्नेबारे छलफल भइरहेको छ ।’

प्रकाशित : मंसिर १९, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्

निजी खर्चमा विद्यालय भवन

वसन्तप्रताप सिंह

बझाङ — साजेनकुमार मल्ल गत फागुनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा केदारस्युँ गाउँपालिकास्थित शिक्षोदय माध्यमिक विद्यालयको हालत अस्तव्यस्त थियो । भवन अभावमा आधारभूत तहमा पढ्ने बालबालिकाको पढाइ चौरमा हुन्थ्यो । पानी र हावाहुरी चल्दा चार कक्षासम्मका विद्यार्थीको पढाइ बन्द हुन्थ्यो ।

‘प्रावि तहका विद्यार्थी बस्ने भवन थिएन । उनीहरूलाई बाह्रै महिना चौरमै राखेर पढाइरहेका थियौं,’ शिक्षिका जानकी भण्डारीले भनिन्,

‘पानी पर्‍यो, हावाहुरी चल्यो भने साना कक्षाका विद्यार्थीलाई बिदा दिनु पर्थ्यो । चौरको चिसो भुइँमा बसेर पढ्नुपर्दा बालबालिका बिरामी पनि हुन्थे । बिरामी भएर धेरैजसोको स्कुल छुटिरहन्थ्यो’ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएलगत्तै मल्लले समस्या समाधान गरिदिन गाउँपालिकादेखि प्रदेश र केन्द्रसम्म धाए । आफूले चिनेजानेका ‘शक्तिवाला’ लाई समस्याको जानकारी गराए । कतिपय कार्यालयका अधिकारी र जनप्रतिनिधिसँग उनले झन्डै एक दशकदेखि साना बालबच्चाहरू चिसो चौरमा पढिरहँदा पनि किन मतलब नगरेको भनेर वादविवाद पनि गरे । तर कुनै निकायले उनको आवाज सुनेनन् । ‘पालिका, प्रदेशदेखि केन्द्रसम्म १० वटाभन्दा बढी निवेदन नै दिएँ हुँला । कुनै कुनै अफिसमा दर्जनौं पटक आफैं धाएँ तर स्कुलको समस्याको कसैले वास्ता गरेनन्,’ मल्लले भने, ‘बरु पर्याप्त पूर्वाधार भएका छिमेकी विद्यालयमा थप भवनका योजना भटाभट आउँथे । किनभने त्यहाँका अध्यक्ष र प्रअहरू उनीहरूका कार्यकर्ता हुन्थे । आएको योजनाको अलिकति काम गरेर कमिसन माथिसम्मै पुर्‍याउँछन् भन्ने सुनिन्थ्यो ।’

सरकारी सहयोग माग्दामाग्दै थाकिसकेका उनले सरकारको मुख ताक्नुभन्दा आफ्नै लगानीमा विद्यालय भवन निर्माण सुरु गरे । ‘स्वर्गीय बुबाको स्मृतिमा भवन बनाउँछु भनेर भाइबहिनीहरूलाई पनि कन्भिन्स गरे,’ मल्लले भने, ‘उनीहरूले पनि आफ्नो गच्छेअनुसारको सहयोग गरेपछि झन् सजिलो भयो ।’ मल्लले स्वर्गीय पिता मोहनबहादुरको स्मृतिमा भवन बनाउन छोराहरू अरुण, रविन, निरञ्जन र छोरी मेनका चन्दले पनि केही आर्थिक सहयोग गरेपछि २५ लाखको लागतमा विद्यालयको चारकोठे पक्की भवन तयार भयो ।

जेठ अन्तिमतिरबाट निर्माण सुरु भएको भवन मंसिर पहिलो साता विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालय हस्तान्तरण कार्यक्रममा स्थानीयले अध्यक्ष मल्ललाई अभिनन्दनसमेत गरेका थिए । अध्यक्ष मल्लले व्यक्तिगत लगानीमा भवन बनाएपछि उनी अहिले जिल्लाभरि प्रशंसाका पात्र भएका छन् । विद्यालयमा आएका योजनामा आँखा लगाउँदै अध्यक्ष निर्वाचित हुन लाखौं खर्च गरेर चुनाव लड्ने प्रवृत्ति रहेका ठाउँमा मल्लले अनुकरणीय काम गरेको स्थानीय बताउँछन् । शिक्षोदय माविका प्रध्यानाध्यापक ध्रुवबहादुर कुँवरले भवन बनेपछि विद्यार्थीको पठनपाठनमा मात्रै सहज नभएर अब आउने व्यवस्थापन समितिका पदाधिकारीलाई पनि मल्लले पाठ सिकाएको बताए ।

प्रकाशित : मंसिर १९, २०७८ १०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×