क्षतिपूर्ति पाउनै कठिन- लुम्बिनी - कान्तिपुर समाचार

क्षतिपूर्ति पाउनै कठिन

कान्तिपुर संवाददाता

अर्घाखाँची — बिजुलीको लाइन तान्ने क्रममा झिमरुक नदीले बगाएर सन्धिखर्क–७ का २४ वर्षीय सन्दीप नेपालीको गत शुक्रबार निधन भयो । प्यूठानसँग जोडिएको जलुके लामातालमा विद्युत्को तार तान्ने क्रममा मृत्यु भएका उनको शव बिहीबार मात्रै परिवारले बुझे । उनी मुख्य मिस्त्री थिए । थ्रीफेस तार तान्ने क्रममा उनलाई नदीले बगाएको थियो । 

निर्माण व्यवसायीले मजदुरको मृत्यु विमाङ्कनबापतको रकम दिन नमान्दा परिवारले शव उठाएको थिएन । ‘क्षतिपूर्ति र मृत्यु विमाङ्कनको रकम दिन सुरुमा ठेकेदारले मानेनन्,’ मृतक सन्दीपका बुबा पूर्णबहादुरले भने, ‘प्रहरीकहाँ पाँच/छ दिनसम्म छलफल गर्दा बल्ल ठेकेदार हच्किए । धेरै दुःख भयो, बेलैमा शव उठाएर दाहसंस्कार गर्न पाइएन ।’ नियमपूर्वक पाइने क्षतिपूिर्त रकम दिन पनि आलटाल भएको उनले बताए ।

ठेकेदारबाट धम्क्याउने जस्ता काम भएको उनको गुनासो छ । निर्माण व्यवसायीले मेसिन, कामदारको बिमा गरेका हुन्छन् । काम गर्दा मेसिन, औजार टुटफुट भए, चोरी भए, जले, आक्रमणमा परेमा बिमा कम्पनीबाट रकम पाउँछन् । मजदुर घाइते र मृत्यु भएमा क्षतिपूर्ति पाउने व्यवस्था छ । छ दिनसम्म प्रहरी कार्यालयमा छलफल गर्दा ठेकेदारले ३ लाख २५ हजार रुपैयाँ रकम दिने आश्वास दिएको पूर्णबहादुरले बताए । किरिया खर्च ६० हजार दिएको र अरू बाँकी रकम पुस २ गते दिने गरी कागज गरिएको उनले बताए । बिमाबापत ५ लाख ३० हजार रुपैयाँ पाउनुपर्ने भए पनि ठेकेदारले दिन नमिल्ने बताएको उनले बताए ।

क्षतिपूर्ति रकम उपलब्ध गराउने कागज भएपछि बिहीबार शव दाहसंस्कार गरिएको उनले बताए ।

प्रकाशित : मंसिर १९, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

यूएईले नयाँ कानुनमा पनि तोकेन न्यूनतम तलब

होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीसहित विदेशी श्रमिकका लागि अझै न्यूनतम तलब निर्धारण गरेको छैन । आउँदो फेब्रुअरीदेखि लागू हुने गरी यूएईले नयाँ श्रम कानुन जारी गरेको छ । विदेशी श्रमिकका लागिसमेत आकर्षित हुने गरी जारी गरिएको कानुनमा न्यूनतम तलब समेटिएको छैन । खाडी क्षेत्रमा कतारले मात्रै न्यूनतम तलब तोकेर कार्यान्वयनमा ल्याएको छ ।

यूएईले विदेशी श्रमिकलाई न्यूनतम तलब नतोक्दा श्रमिकको दोहोरो करारपत्र बन्ने क्रम रोकिएको छैन । नेपालले यूएई जाने श्रमिकको न्यूनतम तलब ८ सय दिराम तय गरेको छ । यूएईस्थित नेपाली दूतावासले ८ सय दिराम तलब दिन तयार कम्पनीलाई मात्रै नेपाली श्रमिक लिन अनुमति दिने गरेको छ । तर, रोजगारदाता कम्पनीले यूएई लगेपछि करारपत्र परिवर्तन गरी ६ सय दिराममा काम लगाइरहेका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) ले यूएईले जारी गरेको श्रम कानुनले आधुनिक दासत्वलाई अन्त्य नगरेको दाबी गरेको छ । आईटीयूसीमा नेपालका ट्रेड युनियनसमेत आबद्ध छन् ।

महासंघकी महासचिव शरण वरोले यूएईको श्रम कानुनले श्रमिक अधिकारको अन्तर्राष्ट्रिय मापदण्डलाई सम्बोधन गर्न नसकेको बताएकी छन् । सरकार, रोजगारदाता, श्रमिकबीच परामर्शको अभाव रहेको उनको भनाइ छ । ‘आधुनिक दासत्वको रूपमा रहेको कफला प्रणालीलाई परिवर्तन गरिएको छैन,’ उनले कान्तिपुरसँग भनिन्, ‘यूएईले आधुनिक औद्योगिक प्रणाली विकास गर्न यो प्रणाली हटाउनुपर्थ्यो । कानुनी न्यायका लागि श्रमिकलाई निष्पक्ष ढंगले अदालतसम्म पुग्ने पहुँच बनाउनुपर्थ्यो । यूएईले छिमेकी देश कतारको अनुभव सिक्नुपर्छ ।’ यूएईलगायत खाडी मुलुकमा विदेशी कामदारलाई कफला प्रणालीअन्तर्गत रोजगारीमा लगाइन्छ । जसअनुसार श्रमिकले रोजगारदाताको अनुमतिबिना कम्पनी फेर्न र स्वदेश आउजाउ गर्न पाउँदैनन् । आईटीयूसी र मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरूले कफलालाई आधुनिक दासप्रथाको संज्ञा दिँदै आएका छन् ।

आईटीयूसीले कफला प्रणालीलाई हटाउन, विभेदरहित न्यूनतम तलब तोक्न, रोजगारदाताको अनुमतिबिना नै मुलुक छोड्न पाउने व्यवस्था लागू गर्न यूएई सरकारसमक्ष माग राखेको छ । घरेलु श्रमिकलाई श्रम कानुनभित्र समेट्न र सहज रूपमा अदालत पुग्ने संयन्त्र बनाउनसमेत आईटीयूसीले अपिल गरेको छ ।

रोजगारदाताले नै श्रमिक भर्नाको सबै खर्च बेहोर्नुपर्ने, घण्टाका आधारमा काम गर्न पाइने, तीनवर्षे करारपत्रको समय तोकिनुका साथै संयुक्त रोजगारी (सेयर जब) का आधारमा काम गर्न पाइने बुँदा समेट्दै यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाहयानले नयाँ श्रम नीतिसहितको श्रम कानुन (सन् २०२१ को कानुन नम्बर ३३) गत साता जारी गरेका थिए । यसलाई यूएईका मानव संसाधन तथा इमिरेती मन्त्री अब्दुल्लाह रहमान अल अवारले रोजगारदाता र श्रमिकका लागि निकै लचिलो भएको दाबी गरेका थिए ।

आईटीयूसीले भने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मापदण्डअनुसार कानुन निर्माण र अभ्यास नगरेको जनाएको छ । ‘नयाँ श्रम कानुनले सरकारी र निजी क्षेत्रको व्यापारमा पर्ने आधुनिक दासको जोखिमलाई सम्बोधन गर्दैन,’ महासंघकी महासचिव वरोले भनिन्, ‘यूएईले आईएलओको अन्तर्राष्ट्रिय मापदण्डलाई सम्बोधन गर्नैपर्छ ।’ यूएईले सामाजिक संवादलाई स्वीकार नगरेसम्म सुधार गरेको स्वीकार गर्न नसकिने आईटीयूसीको भनाइ छ । ‘सामाजिक संवादबिना यूएई सुधारका लागि गम्भीर छैन भन्ने देखाउँछ । यो कानुनले भर्ना खर्चको अन्त्य गर्दैन । बाधा ऋणलाई हटाउँदैन र तलब पाउने सुनिश्चित गर्दैन,’ वरोले भनिन् । आईटीयूसीले सन् २०१४ देखि यूएईलाई श्रमिक अधिकारको सुनिश्चितता नभएको देशको सूचीमा राख्दै आएको छ । उसले यूएईमा निर्माण क्षेत्रमा कार्यरत झन्डै ५० प्रतिशत श्रमिकले समयमै तलब र ओभरटाइमको रकम नपाउने, श्रमिकको करारपत्र उल्लंघन हुनुको साथै देशका आधारमा तलब दिइरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यूएई जाने नेपाली श्रमिकले एक लाखदेखि सात लाख रुपैयाँसम्म खर्च गर्दै आएका छन् । न्यूनतम आम्दानी मासिक २५ हजार रुपैयाँ मात्र छ । यूएईमा झन्डै ३ लाख नेपाली कार्यरत छन् । यूएईमा सेवा क्षेत्रमा काम गर्ने नेपालीको संख्या धेरै भएकाले कोभिडको समयमा झन्डै ५० हजारले रोजगारी गुमाएका थिए ।

प्रकाशित : मंसिर १९, २०७८ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×