१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

खर्चिलो चुनाव गर्दै कांग्रेस

होटलमा रणनीति बनाउँदै नेता, पर्चा, तुल र ब्यानरले रंगियो महेन्द्र सभागृह

रुपन्देही — भैरहवामा जारी नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको महाधिवेशन खर्चिलो बनेको छ । केन्द्रीय नेताकै संलग्नतामा संस्थापन र संस्थापनइतर पक्षले छुट्टाछुट्टै प्यानल बनाएर शुक्रबार उम्मेदवारी दर्ता गरेका छन् ।

खर्चिलो चुनाव गर्दै कांग्रेस

संस्थापन (प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा) पक्षबाट सार्वजनिक लेखा समितिका सभापति रूपन्देहीका भरतकुमार शाहको नेतृत्वमा र संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समूहबाट रोल्पाका पूर्वराज्यमन्त्री अमरसिंह पुनको नेतृत्वमा प्यानलसहितको उम्मेदवारी दर्ता भएको छ ।

आठ जना पदाधिकारीका लागि १७ जनाको उम्मेदवारी परेको छ । सभापतिमा दुई, उपसभापतिमा दुई जनाका लागि चार, महामन्त्रीमा दुई जनाका लागि पाँच र सहमहामन्त्रीमा तीन जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ६१ सदस्यका लागि १ सय ३० भन्दा बढीको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका अधिकृत डा. बुद्धबहादुर थापाले बताए । दुई जना महासचिवका लागि पनि प्यानलभन्दा बाहिरबाट एक जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन शनिबार हुनेछ ।

कांग्रेसको प्रदेश संरचनाको पहिलो अधिवेशनमा प्यानलसहितको उम्मेदवारी दर्ता भएपछि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले भड्किलो प्रचारप्रसार सुरु गरेका छन् । प्रचारप्रसारमा कांग्रेसका केन्द्रीय नेताकै टकराव देखिएको छ । दुवै समूहका नेता नै समूहगत प्रचारप्रसारमा छन् । सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँडले गरिरहेका थिए । त्यो सम्भव नभएपछि दुवै समूहका नेता नै प्रचारमा जुटेका हुन् ।

भैरहवाको देवकोटा चोकदेखि बसपार्कसम्मको क्षेत्र कांग्रेस कार्यकर्ताले भरिएको छ । समर्थकले आफ्नो पक्षका सभापतिका उम्मेदवारलाई बीचमा राखेर सभागृह आसपास र्‍याली निकाल्ने र मत माग्ने गरिरहेका छन् । पर्खालका भित्ता, भवनका छत ब्यानर र पोस्टरले रंगिएका छन् ।

देउवा पक्षबाट सभापतिका उम्मेदवार शाह र पौडेल पक्षबाट सभापतिका उम्मेदवार पुनले आ–आफ्ना प्रचारस्थल तयार गरेका छन् । दुवै पक्षले प्यानलसहित सम्पूर्ण पदमा उम्मेदवारी दर्ता गराएपछि प्रचारप्रसारका लागि कार्यकर्ता जुट्ने क्रम बढ्दो छ । मतदानस्थल भैरहवाको महेन्द्र सभागृह र त्यसनजिकको पटवा ब्यानक्विटको चहलपहल हेर्न लायक छ । मतदानस्थल उम्मेदवारका पोस्टर र पार्टी झण्डाले रंचीचंगी बनेको छ । प्रचार र मतदान स्थलनमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आफ्नो पक्षलाई विजयी गराउन कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री खाँड, निवर्तमान रूपन्देही सभापति अब्दुल रज्जाक, प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीसहितको टोलीले भैरहवाको होटल मौर्याबाट प्रचारप्रसार गरिरहेको छ । त्यहाँ सय बढी नेता–कार्यकर्ताको निरन्तर भीड छ । त्यस्तै भैरहवाकै होटल रेडसनमा पौडेल पक्षको टोली छ । रेडसनबाट नेता चन्द्र भण्डारी, दीपक गिरी, संघीय सांसद सञ्जय गौतमसहितको टोलीले पौडेल पक्षको प्रचारप्रसार गरिरहेको छ । होटल रेडसन पनि कांग्रेस कार्यकर्ताले भरीभराउ छ । भैरहवाका यी दुवै होटल चारतारे हुन् ।

भैरहवामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट निर्वाचित भएर आएका १ हजार ५ सय ८५ र मनोनीत प्रतिनिधि गरी १ हजार ६ सय ४८ प्रतिनिधि छन् । नेता, कार्यकर्ता र प्रचार स्वयंसेवक गरी ३ हजार बढी कार्यकर्ताको भीड छ । निर्वाचित प्रतिनिधिले शनिबार ६९ सदस्यीय प्रदेशको पहिलो संरचना निर्वाचित गर्नेछन् । प्रदेशमा कांग्रेसको एक जना सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री गरी ८ जना पदाधिकारी चयन हुनेछन् ।

त्यस्तै सदस्यमा जिल्लागत रूपमा १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुलामा पाँच महिलासहित १७ जना चयन हुनेछन् । समावेशी सदस्यमा खस/आर्यतर्फ चार महिलासहित आठ जना, आदिवासी जनजातिमा दुई महिलासहित पाँच जना, मधेसीमा दुई महिलासहित चार जना, दलितमा दुई महिलासहित चार जना, थारु दुई महिलासहित चार जना, मुस्लिम एक महिलासहित दुई जना र अल्पसंख्यक वा अपांगमध्ये एक जना गरी ६९ जनाको कार्यसमिति चयन हुने निर्वाचन अधिकृत डा. थापाले बताए ।

कांग्रेस संस्थापन पक्षका नेता एवं प्रदेशका मन्त्री डिल्लीबहादुर चौधरीले दुवै समूहका उम्मेदवारले मनोनयन दर्ता गरेपछि सर्वसम्मतका लागि छलफल चलिरहेको बताए । भोलि बिहानसम्मको समय अझै पनि रहेकाले पदाधिकारीमा सर्वसम्मतको सम्भावना रहेको उनको दाबी छ । ‘हामीले छलफल गरिरहेका छौं,’ उनले भने, ‘सहमति नभए निर्वाचनको प्रक्रिया त अघि बढी नै सकेको छ ।’ नेता कार्यकर्ताले स्वविवेकमा प्रचारप्रसार गरिरहेकाले त्यसलाई खर्चिलो भन्ने नमिल्ने उनले बताए ।

निर्वाचनमा संस्थापन पक्षबाट शाहको नेतृत्वमा उपसभापतिमा कपिलवस्तुका सुधाकर पाण्डेय, दाङका राजु खनाल छन् । दुई महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्यूठानका खिमानसिंह रायमाझी, तीन सहमहामन्त्रीमा रूपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह उम्मेदवार बनेका छन् ।

त्यस्तै संस्थापनइतर पौडेल समूहबाट सभापतिमा पुनसहित उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ, रूपन्देहीका अष्ठभूजा पाठक, महामन्त्रीमा कपिलवस्तुका सुरेन्द्रराज आचार्य र पश्चिम नवलपरासीका बिक्रम खनाल, सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल ‘मुस्कान’, दाङका खगराज पाण्डे र प्यूठानकी निमा गिरीले प्रतिस्पर्धा गर्दैछन् । सदस्यका लागि पनि प्यानलगत नै उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?