कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कांग्रेस लुम्बिनीमा ८ पदाधिकारीका लागि १७ जनाको उम्मेदवारी

प्यानलगत उम्मेदवारी र प्रचारप्रसारले रगिंयो भैरहवाको महेन्द्र सभागृह
घनश्याम गौतम

रूपन्देही — नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्वका लागि केन्द्रीय नेताहरूबीच नै प्रतिस्पर्धा चलेको छ । शुक्रबार दिउँसो भएको मनोनयनमा सभापतिमा २, उपसभापतिमा ४, महामन्त्रीमा ५ र सहमहामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेस लुम्बिनीमा ८ पदाधिकारीका लागि १७ जनाको उम्मेदवारी

पदाधिकारीमा ८ जनाको लागि १७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाका अनुसार लुम्बिनी प्रदेशमा १ सभापति, २ उपसभापति, २ महामन्त्री र ३ सहमहामन्त्री निर्वाचित हुनेछन् ।

कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर (रामचन्द्र पौडेल) समूह दुवैले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् । सदस्यमा पनि निर्वाचित हुने संख्या भन्दा झण्डै तिनगुणा बढी उम्मेदवारी परेकाले उम्मेदवारको सूची तयार गर्न ढिलाइ भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेशमा पदाधिकारीसहित ६९ जनाको प्रदेश समिति निर्वाचित हुनेछ । लुम्बिनी प्रदेशमा निर्वाचित भएर आएका १ हजार ५ सय ८५ र प्रदेशबाट मनोनित ६३ गरी १ हजार ६ सय ४८ प्रतिनिधिले मतदान गर्नेछन् । मतदान शनिबार हुने अधिकृत डा. थापाले बताए ।

प्रदेश सभापति पदमा देउवा समूहबाट सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका रुपन्देहीका भरतकुमार शाहलाई अगाडि सारिएको छ भने देउवाइतर समूहबाट पूर्वराज्यमन्त्री रोल्पाका अमरसिंह पुनलाई अगाडि सारिएको छ । देउवा समूहको टिममा उपसभापतिमा दाङका राजु खनाल र कपिलवस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, रूपन्देहीकी शरिता चौधरी र बाँकेकी माया पुन छन् ।

यस्तै संस्थापनइतरको पौडेल समूहबाट उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासी पश्चिमका बिक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानकी निमा गिरी छन् । देउवा समूहले बिहीबार राति र पौडेल समूहले शुक्रबार बिहान प्यानल घोषणा गरेका थिए ।

आ–आफ्ना समूह विजयी गराउन संस्थापन समूहबाट शाहसहित गृहमन्त्री बालकृष्ण खाँण खटिएका छन् । त्यस्तै पौडेल समूहबाट केन्द्रीय नेता चन्द्र भण्डारी, दिपक गिरी खटिएका छन् ।

समूहको प्यानलगत निर्वाचन हुने भएपछि प्रचारप्रसारका लागि उम्मेदवारले जिल्ला/जिल्लाबाटै कार्यकर्तालाई बोलाएका छन् । प्रतिनिधि, नेता र कार्यकर्तासहित झण्डै ५ हजार कांग्रेस कार्यकर्ता भैरहवाको महेन्द्र सभागृह परिसरमा छन् । प्यानलगत प्रचारप्रसारले महेन्द्र सभागृह परिसर र भैरहवा नेताका ब्यानर, पर्चा र पम्पलेटले रंगिएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?