कांग्रेस लुम्बिनीमा देउवा–पौडेल पक्ष प्यानल बनाएरै चुनावी मैदानमा

माधव ढुंगाना

भैरहवा — नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा संस्थापन र संस्थापन इतर पक्ष छुट्टाछुट्टै प्यानल बनाएरै चुनावी मैदानमा होमिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा समूहले रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य तथा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहको नेतृत्वमा प्यानल बनाएको छ । 

कांग्रेस लुम्बिनीमा देउवा–पौडेल पक्ष प्यानल बनाएरै चुनावी मैदानमा

बिहीबार साँझ पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको शाहको प्यानलमा दुई जना उपसभापति पदका उम्मेदवारमा कपिलवस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनाल छन् । दुई महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी उम्मेदवार छन् ।

सहमहामन्त्रीमा रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह उम्मेदवार बनेका छन् । संस्थापन समूहको प्यानल घोषणा कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले रोल्पाका पूर्व सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल घोषणा गरेर निर्वाचनमा केन्द्रित भएको छ ।

पुनको नेतृत्वमा घोषणा गरिएको प्यानलको उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्ठभुजा पाठक, महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य, तथा सहमहान्त्रीमा प्युठानकी नीमा गीरी, अर्घाखाँचीका विष्णु खनाल र दाङका खगराज पाण्डेय छन् ।

शुक्रबार बिहान पत्रकार सम्मेलन मार्फत उक्त समूहले प्यानल घोषणा गरेका हो । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य दीपक गिरी र प्रतिनिधिसभा सांसद संजय गौतम लगायतले प्यानल घोषणा गरेका थिए ।

सांसद गौतमका अनुसार पुनको नेतृत्वमा प्रदेशका पाका र अनुभवी नेता सहभागी गराएर प्यालन टुंगो लगाइएको छ । शाह रुपन्देही क्षेत्र नम्बर पाँचबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन् । संस्थापनइतरबाट सभापति पदका उम्मेदवार पुन रोल्पाका पूर्व जिल्ला सभापति र पूर्वमन्त्रीसमेत हुन् ।

बिहीबारबाट सुरु अधिवेशनले प्रतिनिधि मार्फत् प्रदेशस्तरीय पहिलो संगठन संरचना बनाउने छ । प्रदेशको नेतृत्व र समिति छनोटका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ५ सय ८५ प्रतिनिधि भैरहवामा जुटेका छन् । आज प्यानलगतरुपमा उम्मेदवारी दर्ता भइरहेको छ । भोलि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?