कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बौद्ध दर्शन पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको जोड

लुम्बिनी — बौद्ध दर्शन र ज्ञान पाठ्यक्रममा समावेश गरी अध्यापन गराउन सके बुद्ध शिक्षाले सार्थकता पाउने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सव उद्घाटन गर्न लुम्बिनी आएकी उनले बिहीबार भनिन्, ‘विश्वलाई अहिंसा र शान्तिको शिक्षा चाहिएको छ, त्यो हामी विश्व शान्तिको मुहान लुम्बिनीबाट दिन सक्छौं ।’

बौद्ध दर्शन पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको जोड

यहाँका बौद्ध क्षेत्रबारेका नयाँ तथ्य अनुसन्धान गर्न विदेशी अनुसन्धातालाई पनि आकर्षण गर्नुपर्ने योजना बनाउनुपर्ने उनले बताइन् । लुम्बिनीमा त्रियान प्रज्ञा सम्मेलन र केन्द्रीय पुस्ताकालय भवनको पनि उनले उद्घाटन गरेकी छन् । त्यसपछि उनले गुरुयोजना क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय बौद्ध सभा हल तथा ध्यान केन्द्रको अवलोकन गरिन् । हलबारे लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

२०७५ वैशाखमा केन्द्रको शिलान्यास पनि उनैले गरेकी थिइन् । ८ हजार ३ सय वर्गमिटर क्षेत्रमा रहेको केन्द्रको दोस्रो चरणको काम ८० प्रतिशत पूरा भएको छ । छाता शैलीमा बनाइएको हल अत्याधुनिक र सुविधासम्पन्न छ । ५ हजार जना अटाउने हलमा २०७९ को बुद्धजयन्ती मनाइने गरी तयारी गरिएको छ । भवन ७० करोडको लागतमा बन्दै छ ।

राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगंगा–२ नन्दनगरस्थित कैलाशधाममा आयोजित धार्मिक कार्यक्रममा चुरे विनाशको चिन्ता गरिन् । ‘विकास गर्न चुरे चलाउनु हुँदैन,’ उनले भनिन्, ‘सबै मिलेर संरक्षण नगरे दुःख पाइन्छ । चुरे मानव जीवनको लाइफलाइन हो ।’ उनले प्रकृति र जीवन बचाउन धर्मसंस्कृति आवश्यक रहेको बताइन् ।

धाममा उनले पूजाआजासमेत गरिन् । नेपालकै सबैभन्दा अग्लो बनाउन लागिएको कैलाश विश्वनाथ ज्योर्तिलिंगको शिला पूजा गरिन् । १ सय २७ फिट अग्लो ज्योर्तिलिंग करिब १० करोड रुपैयाँको लागतमा बन्दै छ । उनले धाममा निर्मित अष्टचिरञ्जीवी महाकुण्ड अनावरण गरिन् । सन्त प्रतिष्ठान, विश्रामालय, हरिद्वार कैलाश धामको अनावरण र पूजाआजा पनि गरिन् । उक्त अवसरमा धाममा अध्ययनरत २७ वटुकले स्वस्तिवाचन गरेका थिए । कैलाशधामबारे ब्रह्मनिष्ट सन्तशिरोमणि लोकानन्द स्वामीले राष्ट्रपति भण्डारीलाई जानकारी दिएका थिए ।


प्रकाशित : मंसिर १७, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?