लुम्बिनी कांग्रेस : प्रदेशमा प्यानल प्रतिस्पर्धाको तयारी

पौडेल पक्षले उम्मेदवार टुंग्यायो, देउपा पक्ष छलफलमै
घनश्याम गौतम

रूपन्देही — नेपाली कांग्रेसको बिहीबारदेखि रूपन्देहीको भैरहवामा सुरु हुने लुम्बिनी प्रदेशको अधिवेशनमा पदका लागि आकांक्षी धेरै भएपछि दुवै समूहलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।

लुम्बिनी कांग्रेस : प्रदेशमा प्यानल प्रतिस्पर्धाको तयारी

जिल्लाको तहको निर्वाचन सम्पन्न हुँदा लुम्बिनी प्रदेशमा रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ । तर दुवै पक्षले आफु बलियो भएको दाबी गर्दैआएका छन् । दुवै समूहबाट समूहगत प्रतिस्पर्धा हुने निश्चित जस्तै देखिएको छ ।

उम्मेदवार छनोटको जिम्मा प्रदेशकै नेतालाई दिए पनि टुंगो लगाउन सकेका छैनन् । संस्थापन पक्षले बालकृष्ण खाँण र पौडेल पक्षले चन्द्र भण्डारीलाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएका छन् ।

लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट रूपन्देहीका भरत शाहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनी रूपन्देहीको क्षेत्र नं. ५ का नेता हुन् । संघीय संसदको लेखा समितिको सभापतिसमेत रहेका शाहलाई बलियो उम्मेदवारको रुपमा देउवा पक्षले अघि सारेको दाबी छ । पौडेल पक्षबाट रोल्पाका अमर पुनलाई सभापतिमा अघि सारिएको छ । उनी रोल्पाका पूर्व जिल्ला सभापति हुन् ।

साथै प्रदेश सभापतिमा दुवै पक्षका उम्मेदवार दुवैजना पूर्व राज्यमन्त्री पनि हुन् । उपाध्यक्षमा आकांक्षी धेरै भएपछि संस्थापन पक्षले अहिलेसम्म टुंगो लगाउन सकेको छैन । उपाध्यक्षमा संस्थापनबाट रूपन्देहीका फणिन्द्र शर्मा, दाङका चुर्णबहादुर चौधरी र गुल्मीका छन्दबहादुर पहराइको नाम छलफलमा छ । पौडेल पक्षबाट गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीकै अष्ठभुजा पाठकको नाम टुंगो लागेको छ । गुल्मीका श्रेष्ठ प्रदेश विभाजनका बेला अखण्ड लुम्बिनीको नेतृत्व गर्दै आन्दोलनमा लागेका थिए ।

यस्तै महामन्त्रीमा संस्थापनबाट बाँकेका सुरेन्द्रबहादुर हमाल, दाङका राजु खराल, रूपन्देहीका बिमल ढकालको नाम चर्चामा छ । खाँणले हमाललाई बनाउने प्रयासमा छन् । तर हमाल राजी नभएकाले अन्यको नाम पनि छलफलमा रहेको स्रोतले बतायो । पौडेल पक्षले पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्र आचार्यको नाम टुंगो लगाइसकेको छ । सहमहामन्त्रीमा पौडेल पक्षले अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानकी निमा गिरीको नाम टुंगो लगाएको छ ।

संस्थापन पक्षले भने टुंगो लगाउन सकेको छैन । संस्थापन पक्षका नेता एवं प्रदेशका मन्त्री डिल्लीबहादुर चौधरीले सबै जिल्लाबाट कलष्टर मिलाएर ल्याउने प्रयास भइरहेकाले नाम टुंगो लाग्न बाँकी रहेको बताए । संस्थापनबाट उम्मेदवारको नाम सर्वसम्मत गराउने प्रयासमा केन्द्रीय नेता एवं गृहमन्त्री बालकृष्ण खाँण एक सातादेखि नै खटिएका छन् ।

उनी लुम्बिनी प्रदेश निर्वाचन समिति संयोजकसमेत हुन् । रूपन्देहीका कांग्रेस नेता एवं प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खानले संस्थापन पक्षले प्रदेशका ठूला जिल्लाहरु रूपन्देही, कपिलबस्तु, बाँके र दाङबाट पदाधिकारीमा नेतृत्व छनोट गर्ने गरी तयारी र छलफल गरिरहेकाले टुंगो लगाउन समय लागेको बताए । ‘आकांक्षी धेरै हुनुहुन्छ,’ उनले भने, ‘हामीले ठूला जिल्लाबाट पदाधिकारीमा प्रतिनिधित्व हुने गरी व्यवस्थापन गर्दै छौं ।’

लुम्बिनी प्रदेशमा पौडेल पक्ष बलियो देखिएको छ । १२ जिल्लामध्ये १० जिल्ला सभापतिमा पौडेल पक्षकै निर्वाचित भएका छन् । महाधिवेशन र प्रदेश प्रतिनिधिमा पनि पौडेल पक्षले आफ्नो ६५ प्रतिशत रहेको दावी गरिरहेको छ । संस्थापन पक्षले पनि त्यतिकै दावी गर्दैआएको छ । संस्थापन पक्षका प्रदेश स्तरकै नेताका अनुसार संस्थापन पक्ष ४५ र पौडेल पक्ष ५५ प्रतिशत रहेको बताए ।

लुम्बिनी प्रदेशबाट महाधिवेशन र प्रदेश प्रतिनिधि गरी १ हजार ५ सय ८५ जना मतदाता छन् । पौडेल पक्षबाट खटिएका केन्द्रीय सदस्य चन्द्र भण्डारीले धेरै आकांक्षी मध्येबाट सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा सहमतिमै नाम टुंगो लगाइएको बताए । सदस्यको विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर १६, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?