पराल बाल्दै, आक्रोश निभाउँदै- लुम्बिनी - कान्तिपुर समाचार

पराल बाल्दै, आक्रोश निभाउँदै

बेमौसमी वर्षा र बाढीले धानमा पुर्‍याएको क्षतिमा सरकारले सम्बोधन नगर्दा किसान रुष्ट 
जे पाण्डे

नेपालगन्ज — राज अली बिहानको खाना खाइवरी तयार भए । लाइटर गोजीमा राखेर घरदेखि पश्चिम ‘खलिहान’ तिर हिँडे । जहाँ परालका थुप्रै टौवा थिए । एक जना सहयोगी बोलाए । टौवाबाट धमाधम पराल तान्न थाले । ‘पैरामे जल्दी आग लगा दे’ भन्दै सहयोगीलाई काम अह्राएको केही बेरमा पराल दन्किन थाल्यो । हेर्दाहेर्दै सबै पराल खरानी भयो ।

‘पाकेको धान पानीले डुबेर पुरै कुहियो । खानै नहुने भयो,’ टौवाको सबै परालमा आगो लगाइसकेपछि बाँके लग्दहवाका राजले भने, ‘कुहिएको पराल गाईभैंसीले पनि खाँदैनन् । बरु जलाइदियो भने खेतमा मल त होला ।’ खानै नमिल्ने भएपछि पशु आहाराको प्रमुख स्रोत परालसमेत जलाउनु परेको उनले सुनाए । पराल कुहिएर गुन्द्रुकजस्तो भएको थियो । कतिपयले कुहिएको पराल गहुँ छर्न जोतेको खेतमा मलका रूपमा पनि प्रयोग गरेका छन् ।

कात्तिकको पहिलो साता हुरीसँगै आएको वर्षा र बाढीले पाकेको धानबाली डुबेर खेतमै कुहिँदाको पीडाबाट तंग्री नसकेका किसान अहिले घरपालुवा पशुचौपाया कसरी पाल्ने भन्ने चिन्तामा छन् । धान त खेतमै कुहियो, पराल पनि गाईभैंसीले खान नमिल्ने भयो । अब आफूले के खाने र पशुलाई के खुवाएर पाल्ने भन्ने चिन्तामा किसान परेका छन् ।

तिनैमध्येका अर्का किसान हुन्– बाँके मन्नीपुरका जगदीशप्रसाद कुम्हार । उनले १ लाख १३ हजार रुपैयाँमा भैंसी किनेर ल्याएका छन् । ‘अब परालको जोहो कसरी गर्ने ? कोसँग माग्ने ? यो कुहिएको पराल त भैंसीले पनि खाँदैन,’ कुम्हारले भने, ‘धान कुहिएको रिसको झोंकमा पराल अरूलाई दिनुभन्दा खेतमै जलाइरहेका छौं ।’ अघिल्ला वर्षहरूमा किसानले टौवा बनाएर पराल राख्दै आएका थिए । अहिले बनाएका टौवाबाट पराल निकालेर धमाधम आगो लगाइरहेको देखिन्छ । बिहानदेखि साँझसम्म जताततै परालको धूवाँले बस्ती र आकाश पुरै कुइरीमण्डल हुने गरेको छ ।

किसान चिन्तित र आक्रोशित छन् । सरकारले धानको क्षतिपूर्ति दिन गरेको ढिलाइका कारण आक्रोशित भएका हुन् । उनीहरू पराल जलाएर रिस पोखिरहेका छन् । परालका ठूलठूला टौवा जलाउनेमध्ये केही किसानसँग घरपालुवा कुनै चौपाया नहुनेहरू छन् । जबकि अघिल्ला वर्षहरूमा घरमा पशु चौपाया नहुनेले पराल बिक्री गर्दै आएका थिए । सीमित किसानले भने धानबाली नष्ट भए पनि पशु चौपायाका लागि पराल जोगाएका छन् ।

हिउँदमा हरियो घाँसको अभाव हुन्छ । यस्तो बेलामा पशुलाई खुवाउने पौष्टिक आहार पराल नै हो । तर, पराल खरानी बनाइरहेको देखिन्छ । यसले गर्दा पशु आहारको प्रमुख स्रोतको समेत अभाव हुने निश्चित छ । धानबालीको क्षतिपूर्तिसमेत नदिएको सरकारले पशुआहार उपलब्ध गराइदेला भन्ने किसानलाई झिनो आशा पनि छैन । ‘यो महिनाभरिमा सबै जलाई सक्छन्,’ इन्द्रपुरका रहु खानले खेततिर परालका थुप्रा देखाउँदै भने ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बाँकेमा २ लाख २० हजारभन्दा बढी गाईगोरु छन् । २ लाख ४३ हजार ५ सय ३९ राँगाभैंसी छन् । यो सरकारी तथ्यांकभन्दा धेरै पशुचौपाया भएको अनुमान छ । सरकारले धानको क्षतिपूर्ति नदिएको रिसमा पराल जलाएका कारण ठूलो संख्यामा पशुसमेत पौष्टिक खुराकको संकटमा पर्ने निश्चित छ । ‘पराल पौष्टिक आहार पनि हो । तर, पानीले भिजेर कुहिएको र ढुसी उम्रेको पराल पशुलाई खुवाउनु हुँदैन,’ पशु सेवाविज्ञ केन्द्रका सूचना अधिकृत वसिर अहमद खानले भने, ‘ढुसी उम्रेको पराल पशुचौपायाले पनि खाँदैनन् । खाए भने दुब्लाउने, दूध नदिने, छेर्ने र बिरामी भएर थला पर्छन् । तसर्थ, कुहिएको पराल खुवाउनुभन्दा जलाउनै उचित हुन्छ ।’

बसिरले बुझेका किसानले ढुसी पलाएको पराल जलाइरहेको बताए । घरमा पशु चौपाया नपालेका र थ्रेसर मेसिनले धान झार्दा पराल टुक्रैटुक्रा हुने भएकाले जलाइदिने गरेका छन् । यस्तो बेलामा गाईभैंसी पालेका किसानलाई पराल अभाव हुँदा दुग्ध व्यवसायमा समेत असर पर्न सक्ने देखिएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्

उस्तै छन् गाउँका पीडा

दुई घण्टा हिँडेर स्कुल
खोलाको धमिलो पानी पिउन बाध्य
राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–८ रुमकी रूपकन्या रावल दैनिक दुई घण्टा हिँडेर स्कुल जान्छिन् । रारा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनलाई बिहान ८ बजे नै घरबाट हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ ।

गाउँमा विद्युत् सुविधा त छैन नै स्थानीयलाई फोन गर्न डाँडाकाँडा चहानुपर्ने बाध्यता छ । तारापानीका करिब २ सय परिवारमा खानेपानी अभाव भएपछि आधा घण्टा हिँडेर रुमखोलाको दूषित पानी पिउनुपर्ने बाध्यता छ । ‘खोलाको पानी सधैं धमिलो हुन्छ,’ स्थानीय धनरूप कार्कीले भने, ‘तर त्यही पानी पिउनुको विकल्प छैन ।’ उनले संघीयता लागू भएको झन्डै ४ वर्ष बित्न लागे पनि आफूहरूले अझै विकासको अनुभूति गर्न नसकेको गुनासो गरे ।

गाउँको स्वास्थ्यचौकीमा सिटामोलसमेत नहुँदा घरेलु उपचार र मेडिकलको भर पर्नुपरेको स्थानीय जयबहादुर शाहीले बताए । ‘अभावै अभावमा बाँचिरहेका छौं,’ उनले भने, ‘हाम्रा लागि विकास गरिदिने कोही भएनन् ।’ उनले गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाले आफूखुसी रकम खर्च गर्दा बर्सेनि विकास बजेट खेर गइरहेको बताए । टाठाबाठाले मात्र संघीयताको नाममा फाइदा लुटेको उनको आरोप छ । यस वर्ष गाउँपालिकाले ४४ करोड रुपैयाँ बजेट पारित गरेको छ ।

गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा १५ वर्षीय रूपसिं रावल पनि दैनिक दुई घण्टा हिँडेरै स्कुल पुग्छिन् । ‘गृहकार्य गर्ने समय नै पाइँदैन,’ उनले भनिन्, ‘बाटोमा वन्यजन्तुको डर पनि उस्तै छ ।’ उनका अनुसार रुम, गिलाहा, तारापानी, सिप, नुवाकोटलगायत बस्तीमा प्राथमिक तहको मात्रै विद्यालय भएपछि कच्चेस्थित रारा माध्यमिक विद्यालयमा पुग्नुपर्ने बाध्यता छ । उनले स्कुल टाढा भएकोले अधिकांश विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताइन् । सोरु गाउँपालिकास्थित नेर, फोतु, लिब्रु, रुम, तारापानी, कालै, कच्चेलगायत एक दर्जन बस्तीमा अझै सञ्चार सेवा पुग्न सकेको छैन । स्थानीयहरू बाहिर रहेका आफन्तलाई एक कल फोन गर्न घन्टौं हिँडेर डाँडाकाँडा चहार्न बाध्य छन् ।

घरभित्र फोनको नेटवर्क नटिप्दा कच्चे गाउँका ५४ परिवारले घरको छत र ढोकामा मोबाइल झुन्ड्याएर राख्नुपर्ने बाध्यता भएको स्थानीय सुकधन रावलले बताए । ‘दैनिकजसो मोबाइलको टावर जान्छ,’ उनले भने, ‘कहिलेकाहीं त हप्ता दिनसम्म एक कल फोन गर्न पनि पाइँदैन ।’ सोरु गाउँपालिकाका ११ वटै वडाका बासिन्दाका लागि मुर्माटपमा न्यून क्षमताको एक मात्र टावर राखिएकाले फोनका लागि सास्ती भोग्नुपरेको उनले बताए ।

लिब्र, फोतु र रावलबाडा गाउँका बासिन्दा भने हुम्लाको मेल्छामस्थित मोबाइल टावरमा निर्भर छन् । तर टावरमा जडान गरिएको सौर्य ऊर्जाले काम नगर्दा दिनहुँजसो मोबाइल नेटवर्क अवरुद्ध हुने समस्या छ । नेपाल टेलिकमले कच्चेकोटमा फोरजी मोबाइल नेटवर्कको टावर स्थापना गरे पनि २ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

तारापानी बस्तीका करिब दुई सय परिवार रुमखोलाको दूषित पानी पिउन बाध्य छन् । उनीहरूलाई खोलाकै पानी खान पनि आधा घण्टा हिँड्नुपर्ने बाध्यता छ । वर्षाको बेला खोलामा बगेर आएको धमिलो पानी कपडाले छानेर पिउने गरेको स्थानीय धनरूप कार्कीले बताए । ‘पानीकै लागि वर्षौंदेखि सास्ती भोग्न बाध्य छौं,’ उनले भने, ‘हरेक चुनावमा पानीको समस्या समाधान गर्दै भोट माग्ने नेताहरू जितेपछि कहिल्यै फर्केर आउँदैनन् ।’

उनले पानी माग्दै पटकपटक सदरमुकामका विभिन्न निकायमा पुगे पनि बेवास्ता भएको गुनासो गरे । उनका अनुसार स्थानीय तहले पहुँच र राजनीतिक आधारमा योजना सञ्चालन गर्दा गाउँमा बर्सेनि खानेपानीको हाहाकार हुने गरेको बताए । पानीको समस्या भएपछि महिला र बालबालिकाको साँझ–बिहानको काम नै पानी ओसार्ने भएको कार्कीले बताए । ‘पानीकै समस्याले बालबालिकाको पढाइ बिग्रिएको छ,’ उनले भने, ‘जोखिम मोलेर पानी ल्याउँदा बाटोमा लड्ने समस्या पनि उस्तै छ ।’ पशुचौपायालाई पानी खुवाउन पनि खोलामै झार्नुपर्ने बाध्यता भएको उनले बताए ।

नाममात्रको खाद्य डिपो

विपन्न नागरिकको सुविधाका लागि सोरु गाउँपालिकाको केन्द्र सोरुकोटमा खाद्य डिपो स्थापना गरिए पनि कहिल्यै चामल हुँदैन । डिपोमा कर्मचारी नहुँदा ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ल्याउँछन् र १/२ दिनमै वितरण गरी फर्किन्छन् ।

खाद्य डिपो स्थापना भएदेखि अहिलेसम्म ढुक्कसाथ सरकारी अनुदानको चामल उपभोग गर्न नपाएको सोरुकोटका चित्रबहादुर कार्कीले बताए । ‘नाम मात्रको डिपो छ, चाहिएका बेला कहिल्यै चामल हुँदैन,’ उनले भने, ‘ठेकेदारले पहुँच र राजनीतिक आधारमा चामल बिक्री गर्छन्, हामी त बर्सेनि खाद्यान्न अभाव भोग्न बाध्य छौं ।’ चालु आर्थिक वर्षका लागि चामल ढुवानीको जिम्मा सिद्धार्थ ढुवानी सेवाले लिएको छ । कम्पनीले अहिलेसम्म चामल नपुर्‍याउँदा बजारको महँगो चामल किन्नुपरेको कार्कीले बताए । उनका अनुसार खाद्यमा ५८ देखि ६५ रुपैयाँमा पाइने चामल व्यापारीबाट प्रतिकिलो १ सयभन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता छ । ‘पैसा नहुनेहरू त भोकभोकै मर्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘ऋण र सरसापटी गरेरै भए पनि बजारको चामल किन्नुपर्ने बाध्यता छ ।’

ठेकेदारले चामल ढुवानी नगर्दा असारदेखि नै खाद्य डिपो खाली रहेको सोरु गाउँपालिका प्रमुख लोकबहादुर शाहीले बताए । कात्तिक पहिलो साताको भीषण वर्षाले स्थानीयको धान, कोदो, सिमीलगायत बाली झारेर नष्ट गरेपछि मंसिरमै गाउँहरूमा खाद्यान्न अभाव भएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १३:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×