सैनिक संग्रहालयमा अंग्रेज–नेपाल युद्ध झल्कने सामग्री

माधव अर्याल

पाल्पा — यहाँ निर्माण गरिएको सैनिक संग्रहालयको नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले मंगलबार उद्घाटन गरेका छन् ।

सैनिक संग्रहालयमा अंग्रेज–नेपाल युद्ध झल्कने सामग्री

सैनिक संग्रहालय पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा नेपाली सेनाले निर्माण गरेको हो । गोरखदल गणको अगुवाईमा निर्माण भएको संग्रहालयको प्रधानसेनापति शर्माले उद्घाटन गर्दै संग्रहालयले यस भेगको सैनिक इतिहास मात्र होइन सेनाका विषयमा जानकारी लिन सकिने बताए । उनले पाल्पामा सैनिकबीच राम्रो सम्बन्ध भएकाले पनि नमना काम भएको बताए ।

दरबारमा संग्रहालयमा निर्माण भएको सैनिक संग्रहालयमा सेनाको इतिहासका साथै वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत् १८७१ मा भएको लडाइँलाई स्मरण गराउने सामग्री राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएको जितगढी, नुवाकोट गढी किल्लाका सम्झनामा समाग्रीहरु राखिएको गोरखदल गणका गणपति सेनानी जनककुमार बस्नेतले बताए ।

संग्रहालयमा राखिएका दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने इतिहासविद् निर्मल श्रेष्ठले बताए । संग्रहालय र यस परिसर अब खोजकर्ता र जिज्ञासुहरुलाई राम्रो अध्ययनको थलो बन्ने उनले बताए । ‘नेपालीका लागि मात्र हैन, विदेशी अध्ययन, खोजकर्ताहरुका लागि समेत नेपाली सेनाको विषयमा थप कौतुहलता जगाउनेछ,’ उनले भने ।

निर्माणकर्ता गोरखदल गणका गणपति बस्नेतले झन्डै १ करोड २५ लाख लागतमा पाल्पा दरबार संग्रहालयमा सैनिक संग्रहालय निर्माण भएको जानकारी दिए । आन्तरिक सजावट, योद्धाहरुको खोजी गरेर राखिएका तस्बिर, पदक, अन्य निर्माणमा प्रदेश सरकार र तानसेन नगरपालिकाले पनि लगानी गरेको छ ।

संग्रहालयभित्र वृतचित्रमार्फत नेपाल–अंग्रेज युद्धको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटरपनि निर्माण भएको छ । तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत संग्रहित गरी राखिएको गोरखदल गणका गणपति बस्नेतले बताए ।

नेपाल एकीकरणका समयमा कर्णेल उजिरसिंह थापाको फौजले अंग्रेज फौजलाई नुवाकोट जितगढी युद्धमा हराएको इतिहास छ । आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोटगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिंगालको गोलाको मद्दत लिएर युद्धमा पराजित गरी धपाएर विजयी प्राप्त गरेको इतिहास छ । गोर्खाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेको इतिहासमा उल्लेख छ ।

सेनालाई सरकारबाट प्राप्त विभिन्न जिम्मेवारी झल्किने गरी दुई वटा साना तथा ठूला सिसाको फ्रेमभित्र फोटो प्रिन्ट गरी बरन्डाको भित्तामा प्रदर्शनीका लागि राखेर वीर वैभव मार्ग निर्माण गरिएको छ । सेनाका ऐतिहासिक बहादुर वीर योद्ध पूर्वजहरु (पृथ्वीनारायण शाह) वीर योद्धहरु (कालु पाँडे, रामकृष्ण कुँवर, वंशराज पाण्डे, केहरसिंह बस्नेत, अभिमानसिंह बस्नेत र दामोदर पाण्डे) लगायतको तस्बिर राखिएको छ । सेनाका परमाधिपतिहरुको तस्बिर, कमान्डर ईन चिफ र प्रधानसेनापतिहरुको पनि तस्बिर सजाइएको छ । राष्ट्रपतिहरु (परमाधिपति) र फिल्डमार्सलहरुको तस्बिर पनि छ ।

नेपाल एकीकरणको सिलसिलामा तथा एङ्लो नेपाल वारमा प्रयोग भएका किल्ला तथा गढीहरु समावेश गरी निर्माण गरिएको छ । वि.सं.१८७१ मा उजिरसिंह थापाको नेतृत्वमा फौज तैनाथ रहेका विषयलाई उजागार गरिएको छ । नेपाल र कम्पनी सरकारबीच वि.सं.१८७१–७२ मा युद्ध भएको थियो । नेपालको जित पश्चात जितगढीको नाममा नामाकरण भएको जीतगढीको संग्रहालयमा जानकारी राखिएको छ । पूर्वखोला–६, मा रहेको बाकुमगढी सेनराजा भन्दा पहिले थुम्केराजाको पालामा निर्माण भएको थियो । नेपाल एकिकरणमा (१८४०) गोर्खाली फौज सेनापति काजी अभिमानसिंह बस्नेत, अम्मरसिंह थापा, सरदार तिलोचन खवासको नेतृत्वमा आएको फौज र पाल्पाली सेन राजा महादत्तको फौजबीच घमासान युद्ध भएको थियो ।

गोर्खाली फौजको जितपछि नेपाल दरबारबाट गोर्खाली फौज फिर्ताको आदेशपछि पाल्पाली राजाकै कब्जामा गएको इतिहास छ । यस्तो विषयलाई पनि संग्रहालयमा राखिएको छ । पश्चिम नेपाल एकीकरणको दौरान तथा अंग्रेज नेपाल युद्धको समयमा प्रयोग भएका युद्ध सामाग्रीहरु तथा प्रतिक बनाई संग्रहालयमा प्रदर्शनमा राखिएको छ । सेनाको ऐतिहासिक तथा हाल प्रयोग भएका पोशाकहरु तथा सरकारबाट सेनालाई प्राप्त आभूषण तथा विभूषण संकलन गरी प्रदर्शनीमा राखिएको छ ।

प्रकाशित : मंसिर १४, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?