बर्दिया कांग्रेस सभापतिमा अरुणसिंह राठौर निर्वाचित - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिया कांग्रेस सभापतिमा अरुणसिंह राठौर निर्वाचित 

कमल पन्थी

बर्दिया — नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बर्दियामा जिल्ला कार्यसमितिको सभापतिमा संस्थापनतर्फका ५८ वर्षीय अरुणसिंह राठौर निर्वाचित भएका छन् । उनले ८ सय ७० मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी पौडेल पक्षका भुवनेश्वर चौधरी ६ सय ६८ मत प्राप्त गरेका छन् । निर्वाचित राठौर कांग्रेसको १० र ११ औं महाधिवेशनमा बर्दियाका सभापति भइसकेका थिए । एक महिला सदस्यबाहेक सबै प्यानलमा संस्थापन पक्ष निर्वाचित भएका छन् । महासमिति सदस्य २४ जना संस्थापन पक्षका निर्विरोध निर्वाचित भएका छन् ।

२ जना जिल्ला कार्यसमितिमा निर्वाचित भएको सहायक मतदान अधिकृत वीरबहादुर रोकायले बताए । उपसभापतिमा गोविन्दप्रसाद थारु ८ सय ६० र सोधे विष्ट ८ सय ५९मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा जग्गाप्रसाद पाण्डे ८ सय २९ र मीनराज चौधरीले ८ सय ४७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सहसचिवमा तिलक लम्साल ९ सय ५३ र मेघबहादुर गुरुङ ८ सय ९२ मत प्राप्त गरी विजयी भएको सहायक मतदान अधिकृत रोकायले जनाए ।


प्रकाशित : मंसिर १४, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिलाई 'मेवा' खाने बाटो बनाउँदा लोकतन्त्र धराशायी बन्यो : सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई 'मेवा' खाने बाटोको रुपमा बुझ्दा लोकतन्त्र धराशायी बनेको बताएका छन् ।

‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ । नेताहरुले नै राजनीततिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४ औँ महाधिवेशनलाई लक्षित गर्दै नेता सिंहले भने, ‘अहिले लोभ–लालचमा नफसीकन, प्रलोभनमा नपरीकन आउने दिनहरूलाई सुधारेर जान सक्ने, राम्रो बनाउने अवसर आएको छ ।’

कांग्रेस नेता लोकश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले कांग्रेस कमजोर भए लोकतान्त्रिक पद्धति नै कमजोर बन्ने बताए । ‘यति ठूलो संघर्षबाट प्राप्त भएको यो डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि हामीले अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनसक्नु पर्छ । जसले कांग्रेसलाई सबल र सक्षम बनाउन सकोस्, पार्टीलाई संस्थागत गर्न सकोस्,’ उनले भने ।

उनले ०४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गरे । ‘कांग्रेस ०४६ सालसम्म भ्यालुलेस पोलिटिक्समा थियो । ०४६ को जनआन्दोलनपछि कांग्रेसमा सत्ता र शक्तिको राजनीति सुरू भयो । त्यसयता पार्टीं र नेतृत्वमा विभिन्न कमीकमजोरीहरू देखा परेका छन्,’ सिंहले आफ्नो अनुभव सुनाउँदै भने, ‘राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्छ ।’

नेपालमा राजनीतिक दलहरू संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको उनको भनाइ छ । ‘राजनीतिक परिवर्तनका लागि ठूलो संघर्ष भयो, जनआन्दोलन भए । तर, त्यसबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरू पनि हामीले जनताका सामु पुर्‍याउन सकेनौँ । ती उपलब्धिहरूलाई दलहरूले जनतासामू पुर्‍याउनुपर्ने हो । दलहरू संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै जसो समस्याहरू आफैँ सुल्झिन्छन्,’ सिंहले भने ।

प्रकाशित : मंसिर १४, २०७८ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×