१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गाउँमै इलम गर्नेले पाएनन् ऋण

गगनशिला खड्का

गुल्मी — बारीभरि लटरम्मै फलेका अकबरे खुर्सानी । घरवरिपरि हरियो तरकारी । घरभन्दा तल्तिर आधुनिक खोरभरि बाख्रा । यहाँको मदाने गाउँपालिका–२ बाँझकटेरीका २८ वर्षीय युवा झविन्द्र भुसालले सञ्चालन गरेको मिसन कृषि तथा पशु फर्ममा पुग्ने जोकोही पनि आश्चर्यमा पर्छन् । पैसा कमाउन विदेश जाने युवाका लागि गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले पेस गरेका छन् । 

गाउँमै इलम गर्नेले पाएनन् ऋण

२०६८ सालमा सानो भए पनि नोकरी गर्नका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका भुसाल आठ वर्षपछि गाउँ फर्किए । दिल्लीमा रहँदा पनि उत्पादन र बजारीकरणमा काम गरेका उनी गाउँ फर्किएपछि कृषि र पशुपालनमा व्यस्त भए । ‘पहिला घर फर्किएपछि कुखुरा पालेँ तर कुखुरालाई धेरै समय दिनुर्थ्यो,’ उनले भने, ‘बिहान–साँझ कुखुरा काट्न पर्ने भएका कारण त्यो छोडेर पाख्रा पालन गरिरहेको छु ।’

भुसालले एकीकृत कृषि तथा पशुपालन व्यवसाय गरेका छन् । उनले काँक्रो खेती गरेरै महिनामा १ लाख रुपैयाँ नगद आम्दानी गरेको बताए । तर, गत वर्ष चार रोपनी जग्गामा लगाएको काँक्रो असिनाले खाइदिएपछि लगाउने जाँगर मरेको गुनासो पोखे । १६ लाख रुपैयाँ लगानी गरेर बाख्रा पालन व्यवसाय गरेका भुसालको बाख्रा फर्ममा ५० वटा बाख्रा रहेका छन् । जसमा २९ वटा माउँ बाख्रा, तीनवटा बोका, दुईवटा खसी र १५ वटा पाठापाठी छन् । उनी बाख्रापानल व्यवसाय गर्नका लागि ऋण लिएको बताउँछन् ।

‘पहिला तरकारीबाट कमाएको पैसा बाख्रामा लगानी गरेँ,’ भुसालले भने, ‘अलि अलि ऋण लिएँ, लगभग १५/१६ लाख रुपैयाँ लगानी गरेको छु ।’ आफूले स्वदेशमै बसेर मिहिनेत गर्ने सोच बनाए पनि राज्यले केही सहयोग नगर्दा उनी निराश छन् । १४ वर्षको उमेरमा नै आमा गुमाएका उनले गाउँलेले पनि विदेश जान ऋण दिने भए पनि गाउँमै बसेर मिहिनेत गर्छु भन्नेलाई आर्थिक सहयोग नगरेको अनुभव सुनाए । अहिले उत्पादन भए पनि बजार व्यवस्थापन गरिदिने निकायको अभाव रहेको उनको भनाइ छ । ‘यहाँ उत्पादन नहुने चिज केही छैन, हामीले उत्पादन गर्न पनि सक्छौं तर बजार व्यवस्थापन गर्ने कुनै संयन्त्र छैन,’ भुसालले भने, ‘म आफैँले मार्केटमा लैजानुपर्छ ।’ भुसाललाई उनकी श्रीमती सृष्टिले काममा सघाइरहेकी छन् ।

यसरी बाख्रापालन व्यवसायमा लागेका भुसाल दम्पतीमात्रै होइनन् । मालिका गाउँपालिका–५ पात्लेखेत निवासी ३८ वर्षीय युवराज महताराले पनि व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । मालिका गाउँपालिका– ५ को हिलेभूसपोलेमा करिब १० लाख रुपैयाँ लगानीमा ईश्वर पशुपन्छी फर्म सञ्चालन गरेका महताराको फर्ममा अहिले ४० वटा बाख्रा रहेको बताए ।

दुईपटक वैदेशिक रोजगारीमा गएर फर्केका महताराले स्वदेशमै केही गर्ने रहरले नेपाल फर्केको बताए । उनले विदेशमा जस्तो खट्ने हो भने नेपालमा त्यसको दोब्बर आम्दानी गर्न सकिने सुनाए । बाख्रा र बोकाहरू जति भए पनि गाउँमै खपत भइरहेको उनले जनाए । उनले आफूलाई राज्यले भने कुनै सहयोग नगरेको गुनासो गरे ।

‘हामीजस्ता युवालाई सरकारले सहयोग गर्छ रे, अनुदान पनि दिन्छ रे भन्ने सुन्छु तर मैले एक रुपैयाँ पनि पाएको छैन,’ उनले भने, ‘मैले चाहिँ मुक्तिनाथ विकास बैंकबाट ऋण निकालेर सुरु गरेको छु ।’ उनको फर्ममा चार जना व्यक्तिले रोजगारी पाइरहेका छन् ।

आफ्नै गाउँमा बसेर व्यावसायिक कृषि तथा पशुपालनका लागि कसैले ऋण नपत्याएपछि गुल्मीको इश्मा गाउँपालिका–५ का गुन्जबहादुर विष्ट वैदेशिक रोजगारीका लागि २ लाख रुपैयाँ ऋण खोजेर यूएई गए । २०६२ सालमा यूएई गएका उनी तीन वर्ष त्यहाँ बसेर केही रकमको जोहो गरेर घर फर्किए ।

पटक–पटक विदेश गएर घर फर्किएका ४० वर्षीय विष्ट २०७४ सालदेखि व्यावसायिक कृषिमा लागेका छन् । उनले ७३ बाख्रा र ६ हजार माछासहित तीन रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी खेती गरेका छन् । अहिले खसी, माछा र तरकारी गाउँमै मागअनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १४, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?