कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कांग्रेस महाधिवेशन : लुम्बिनीमा मिश्रित नतिजा

कुल १२ जिल्ला रहेको प्रदेशमा बुधबार साँझसम्म ५ जिल्लाको परिणाम सार्वजनिक

भैरहवा — संघीय महाधिवेशन प्रतिनिधि चयनका लागि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएका निर्वाचनको मिश्रित परिणाम आएको छ । कुल १२ जिल्ला रहेको प्रदेशमा बुधबार साँझसम्म ५ जिल्लाको परिणाम आएको छ । केही जिल्लामा अबेरसम्म मतदान भइरहेको थियो । बाँके र बर्दियामा बिहीबार निर्वाचन हुँदै छ ।

कांग्रेस महाधिवेशन : लुम्बिनीमा मिश्रित नतिजा

संघीय महाधिवेशन प्रतिनिधि चयनमा पाल्पाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिकांश कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर प्रतिनिधि छनोट भएका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय प्रतिनिधि भने दुई जनाले मात्र जित हात पारेका छन् । कुल ५२ जना प्रतिनिधिमध्ये दुई क्षेत्रीय सभापतिसहित पौडेल पक्षधर ५० जना विजयी भएका छन् ।

गुल्मीमा महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता पौडेल पक्षधरको वर्चस्व देखिएको छ । दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको गुल्मीमा मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट ५० जना महाधिवेशन प्रतिनिधि र दुई जना क्षेत्रीय सभापति निर्वाचित भएका छन् । जसमध्ये पौडेल पक्षका ३९ जना निर्वाचित भए भने देउवा पक्षका ११ जना निर्वाचित भएका छन् । गगन थापा समूहबाट २ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा पौडेल पक्ष बलियो देखिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एक/एक क्षेत्रीय सभापति देउवा र पौडेल निकट विजयी भए पनि महाधिवेशन प्रतिनिधिमा भने पौडेल समूह बलियो देखिएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने ५० जना महाधिवेशन प्रतिनिधिमध्ये पौडेल समूहका २८ र देउवा समूहका २२ जना निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ मा पौडेल समूहका २५ जना नै महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् भने निर्वाचन क्षेत्र २ मा देउवा समूहका २२ जना निर्वाचित भएका छन् भने पौडेल समूहबाट तीन जना मात्र महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्यूठानमा मिश्रित नतिजा आएको छ । यहाँ शेखर कोइराला–गगन थापा समूहका प्रत्याशी विष्णुकुमार गिरी जिल्ला सभापतिमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा देउवा पक्षधर १२, पौडेल पक्षधर ९, शेखर कोइराला पक्षधर ४ र गगन पक्षधर एकजना विजयी भएका छन् । रुकुम पूर्वमा देउवा पक्ष बलियो देखिएको छ । त्यहाँबाट २३ जना महाधिवेशन प्रतिनिधि देउवा र २ जना पौडेल पक्षका चुनिएका छन् ।

दाङमा अधिकांश देउवा पक्षधर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । तीनमध्ये दुई क्षेत्रमा देउवा पक्षको प्यानलै विजयी भएको छ । निर्वाचन क्षेत्र १ मा देउवा पक्षधर प्यानल निर्वार्चित भएको छ । सभापतिमा भेषराज पाण्डेसहित सबै महाधिवेशन प्रतिनिधि देउवा पक्षका विजयी भएका छन् । क्षेत्र नं. २ मा पनि देउवानिकट सभापति भीमप्रकाश खड्का निर्वाचित भएका छन् । कार्यसमितिमा सचिवबाहेक सबै देउवा पक्षका निर्वाचित भएका छन् । क्षेत्र नं. ३ मा भने रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएको छ । पार्टीका पूर्व जिल्ला सभापति वीरकेशरी गौतमलगायतका केही अग्रज नेताहरू भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

रूपन्देहीमा बुधबार साँझसम्म चारवटा संघीय निर्वाचन क्षेत्रको परिणाम प्राप्त भएको छ । क्षेत्र नम्बर ३ को अबेरसम्म गणना जारी थियो । चारवटा निर्वाचन क्षेत्रमा पौडेल पक्ष अगाडि देखिएको छ । जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये ४ र ५ मा सर्वसम्मत प्रतिनिधि चयन भएका थिए । रूपन्देही क्षेत्र नं. १ मा हीरा केसी क्षेत्रीय सभापति निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट केसी पुनः सभापतिमा निर्वाचित भएका हुन् । उनी देउवा निकट हुन् । महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ । रूपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् ।

मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट पौडेल समूहका लम्साल निर्वाचित भएका हुन् । निर्वाचन क्षेत्र नं. २ मा देउवा समूहबाट ७ जना र पौडेल समर्थक १८ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । क्षेत्र नं. ४ को सभापतिमा मुकेश यादव निर्विरोध भएका छन् । महाधिवेशन प्रतिनिधि २५ जना नै पौडेल पक्षधर रहेका सभापति यादवले बताए । क्षेत्र नं. ५ को सभापतिमा वसिउल्लाह मुसलमान सर्वसम्मत भएका छन् । निर्वाचन क्षेत्र नं. ५ मा पदाधिकारीसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । निर्वाचन क्षेत्र नं. ५ का क्षेत्रीय सभापतिसहित सबै महाधिवेशन प्रतिनिधि भरत शाह पक्षधर रहेको बुझिएको छ । शाह जिल्लामा पौडेल पक्षमा खुलेका छन् ।

त्यसैगरी, अर्घाखाँची जिल्ला अधिवेशनबाट भारी मतान्तरले युवा नेता केशव श्रेष्ठ सभापतिमा विजयी भएका छन् । श्रेष्ठले ७ सय ३१ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी इन्द्रमणि पौडेलले ३ सय ५२ मत ल्याए भने यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए । सभापतिमा उम्मेदवारी घोषणा गरेका विष्णुप्रसाद खनालले मनोनयन दर्तापछि आफ्नो उम्मेदवारी फिर्ता लिएर श्रेष्ठलाई समर्थन गरेका थिए । श्रेष्ठ रामचन्द्र पौडेल पक्षका हुन् । श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरे तेस्रो स्थानमा झरे । घिमिरेलाई देउवानिकट केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले समर्थन गरेका थिए । श्रेष्ठलाई पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, नेता रामबहादुर बीसी, पूर्वसभापति विष्णुप्रसाद खनाललगायतले समर्थन गरेका थिए भने पौडेल पक्षीय इन्द्रमणिलाई शीर्ष नेता कसैले समर्थन गरेका थिएन ।

त्यस्तै, रोल्पा सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । रोल्पामा प्रत्याशी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै किशोर आचार्य सभापतिमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानपछि आचार्यले ५ सय २ र खत्रीले ४ सय ४० मत पाए । कुल १ हजार ४२ मत खसेकामा ३८ मत बदर भएको थियो ।

प्रकाशित : मंसिर ९, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?