१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोल्पा कांग्रेस सभापतिमा आचार्य निर्वाचित

पौडेल–कोइराला पक्षको वर्चश्व
काशीराम डाँगी

रोल्पा — नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित भएका हुन् । 

रोल्पा कांग्रेस सभापतिमा आचार्य निर्वाचित

मंगलबार भएको मतदानपछि आचार्यले ५ सय २ मत पाए भने खत्रीले ४ सय ४० मत पाए । कुल १ हजार ४२ मत खसेकोमा ३८ मत बदर भएको थियो । मंगलबार रातिदेखि थालिएको मत गणनाअनुसार बुधबार दिउँसोसम्म पदाधिकारीको मात्रै नतिजा सार्वजनिक भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पदाधिकारीको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी छ । महाधिवेशन प्रतिनिधिको म गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत सूर्य वलीले बताए ।

सभापतिमा निर्वाचित आचार्य पौडेल–कोइराला पक्षका हुन् । पराजित खत्री देउवानिकट हुन् । पूर्वमन्त्रीसमेत रहेका यसअघिका जिल्ला सभापति अमरसिंह पुन मगर प्रदेश समितिको सभापतिमा उम्मेदवार हुने निश्चित भएपछि तत्कालीन उपसभापति आचार्यलाई सभापति पदमा उम्मेदवार हुने ढोका खुलेको थियो । खत्री र आचार्य दुवै सदरमुकामबासी हुन् । खत्री रोल्पा नगरपालिका–१० का वडा अध्यक्ष हुन् भने आचार्य निजी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । खत्री साविकको धबाङका पूर्वअध्यक्ष समेत हुन् ।

सभापतिसँगै अन्य पदाधिकारी पनि पौडेल–कोइराला पक्षकाले नै जितेका छन् । उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर महरा क्षत्री र सुनीलकुमार वली विजयी भएका हुन् ।

यसअघिको क्षेत्रीय पदाधिकारी चयन गर्दा निर्वाचन रोचक बनेको थियो । प्रदेश क्षेत्र नम्बर क मा पूरै प्यानलमध्ये देउवा पक्षका सभापति दुर्गाबहादुर खड्काले मात्रै विजयी हासिल गरे । अन्य पदाधिकारीमा पौडेल–कोइराला पक्षकाले जिते । प्यानलमध्ये एक्लै जितेका सभापति खड्काले आफूलाई मन पराएर कार्यकर्ताले विजय बनाएको प्रतिक्रिया दिए । उनी जिल्लाका १० वटा स्थानीय तहमध्ये पार्टीबाट स्थानीय तहमा विजयी हुने एक्ला हुन् । उनी पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा भने पौडेल–कोइराला पक्षको सिंगै प्यानल विजयी बन्यो । सभापतिमा घर्तीगाउँका गोपाल घर्तीमगर विजय बनेका हुन् । उनी साविकको घर्तीगाउँ गाविसका अध्यक्ष समेत थिए । दुवै क्षेत्रमा गरी महाधिवेशनका लागि जिल्लाभर करिब १ हजार ४२ प्रतिनिधि चयन भएका थिए । महाधिवेशन प्रतिनिधि चयनमा पौडेल–कोइराला पक्षको वर्चश्व रहेको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?