कक्षा १२ का विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षा १२ का विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल

अमृता अनमोल

बुटवल — बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविका सागर पोखरेलले विद्युतीय मोटरसाइकल बनाएका छन् । ब्याक गियरसहितको मोटरसाइकलको नाम इलेक्ट्रो एमएएसबी राखेका छन् । 

कक्षा १२ मा अध्ययनरत सागर सिभिल इन्जिनियरका विद्यार्थी हुन् । कक्षा ११ को परीक्षापछिको समय सदुपयोग गर्दै विद्युतीय मोटरसाइकल बनाएको र त्यसका लागि करिब दुई महिना समय लागेको

सागरले बताए । मोटरसाइकलमा ब्याट्री लिड एसिड प्रयोग भएको छ । जुन करिब ४८ भोल्ट डीसी पावरको छ । त्यसमा विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङलगायत प्रयोग गरी ७ सय ५० वाटको इलेक्ट्रिक मोटर प्रयोग भएको छ । हाल १ सय किलोमिटरसम्मको दूरी गुड्न सक्छ । प्रतिघण्टा ४० किलोमिटर गति छ ।

उनले हजुरबुबा मोतीलाल, बुबा अनन्तमणि, आफू सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट एमएएसबी मोटरसाइकल नामकरण गरेको बताए । मोटरसाइकल निर्माणमा करिब १ लाख १० हजार रुपैयाँ खर्च भएको छ । जुन, गत सोमबार विद्यालय परिसरमा प्रदर्शन गरिएको थियो । ‘रकम र सामग्री हुने हो भने यही प्रविधि प्रयोग गरेर धेरै मोटरसाइकल बनाउन सकिनेछ,’ सागरले भने, ‘लगाव र मिहिनेत हुने हो भने काम गर्न अप्ठेरो हुँदैन ।’

सागरले बनाएको मोटरसाइकलबारे नेपाल आविष्कार केन्द्रले चासो राखेको छ । केन्द्रले उक्त मोटरसाइकल परीक्षण गर्नेछ । सागर आउँदो साता काठमाडौं जाने र यही बाइक गुडाउने योजनामा छन् । ‘व्यावसायिक रूपमा मोटरसाइकल बनाउने योजना छ,’ उनले भने, ‘राज्यको साथ र सहयोग भए यो सम्भव छ ।’ सागरको घर अर्घाखाँचीको सन्धिखर्क हो ।

घरमा बसेकै बेला मोटरसाइकल बनाउने र परीक्षण गर्ने काम सकेका थिए । सन्धिखर्कमा परीक्षण सञ्चालन गरेपछि मात्रै मोटरसाइकल विद्यालयमा ल्याइएको हो । विद्यालय व्यवस्थापन समितिले ५१ हजार रुपैयाँबाट सागरलाई सम्मान गरेको छ । उनको मोटरसाइकलको वैज्ञानिक परीक्षणदेखिका काममा समेत विद्यालयले सघाउने विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।

प्रकाशित : मंसिर ८, २०७८ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनपुरमा १८ वर्षमाथिका सबैलाई खोप

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । शनिबारदेखि जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले भेरोसेल र अस्ट्राजेनेकाको खोप लगाइने छ । पहिलो चरणमा भेरोसेलका १ लाख डोज खोप आउनेछ ।

जिल्लामा मौज्दात रहेको ७ हजार अस्ट्राजेनेकाको खोपमध्ये दोस्रो डोजका लागि सुनिश्चित गरेर लगाइने स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा १८ देखि ४५ वर्षसम्म र यसअघि विभिन्न उमेर समूहमा खोप लगाउन छुटेका गरी २ लाख जनालाई खोप लगाउन बाँकी छ । कतिपय पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेका पनि छन् । ‘अब १८ वर्षमाथिका सबैलाई खोप लगाउने गरी आउँदै छ,’ कुँवरले भने, ‘यसअघि छुटेका र दोस्रो डोज नलगाएका सबैलाई खोप दिइनेछ ।’

हालसम्म जिल्लामा १ लाख १४ हजार ६६८ लाई पहिलो मात्रा र १ लाख ३४ हजार ६ सय ६३ लाई दोस्रो मात्रा खोप लगाइसकिएको छ । पहिलो मात्रा अन्यत्र लगाएर दोस्रो मात्रा यहाँ लगाएका कारण बढी देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार ४५ वर्षभन्दा माथिको उमेर समूह, सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलगायतलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×