१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दलका अधिवेशनमा असन्तुष्टि धेरै

कांग्रेसको क्षेत्रीय समिति निर्वाचनमा झडप, एमालेमा सर्वसम्मतको नाममा योग्यलाई पाखा लगाइएको गुनासो

भैरहवा — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत रूपन्देहीको भैरहवामा क्षेत्रीय समितिको निर्वाचनपछि मतगणनाका क्रममा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबीच कुटाकुट हुँदा पाँच जना घाइते भए । रूपन्देही–३ प्रदेशसभा (क) को मतगणना जारी रहेकै बेला देउवा पक्षका कार्यकर्ताले आक्रमण गरेको पौडेल पक्षधरको आरोप छ । यहाँ दुवै पक्षले प्यानल बनाएका थिए । 

दलका अधिवेशनमा असन्तुष्टि धेरै

पौडेल पक्षधर सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले अग्रता लिएपछि देउवानिकट कार्यकर्ताले आक्रमण गरेको आरोप छ । उक्त कुटपिटबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेशकुमार पन्त घाइते भए । ‘गुण्डागर्दी शैलीमा कुटपिट भएपछि पन्तजी गम्भीर घाइते हुनु भएको छ,’ श्रेष्ठले भने, ‘नाकमा ठूलो चोट लागेको छ । शरीर रगताम्य भएको छ ।’ श्रेष्ठका अनुसार तरुण दल रूपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वको समूहले कुटपिट गरेको हो ।

एमाले प्रदेश कमिटी सदस्य तथा रूपन्देही–४ का सह–इन्चार्ज ओमप्रकाश यादवले पार्टीको १० औं महाधिवेशनमा आफूलाई विभेदपूर्ण तरिकाबाट वञ्चित गरिएको आरोप लगाएका छन् । उनले शनिबार पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरे । महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा आफूलाई षड्यन्त्रपूर्वक पराजित गरिएको उनले आरोप लगाए ।

‘एमाले जिल्ला अध्यक्ष शिव सुवेदीले पार्टीमा नयाँ बताउँदै प्रतिनिधि हुन दिएनन्,’ उनले भने, ‘जाली तरिकाबाट मलाई हराइयो ।’ आफू ‘एसम्यान’ नबन्दा महाधिवेशनमा सहभागी हुन नपाएको उनले गुनासो गरे । ‘मधेसका क्षमतावान् कार्यकर्तालाई महाधिवेशनमा रोक लगाइएको छ,’ उनले भने ।

बाँकेमा एमालेले वडा, गाउँपालिका कमिटी र केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन गर्‍यो । स्थानीय कमिटी पदाधिकारी र केन्द्रीय महाधिवेशनका आकांक्षी धेरै थिए । यस्ता आकांक्षीबीच प्रतिस्पर्धा भएन । इच्छुक उम्मेदवारलाई थामथुम गर्दै नेतृत्व चयन गरेपछि जिल्लाका धेरै नेता तथा कार्यकर्ता असन्तुष्ट छन् । उनीहरू विद्रोह गर्न नसके पनि नेताहरूप्रति असन्तुष्टि व्यक्त गर्छन् । नेपालगन्जको नगर कमिटीको अध्यक्षमा तीन जनाले दाबी गरे पनि सर्वसम्मत नेतृत्व चयन गरियो ।

खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विकले सामाजिक सञ्जालमा महाधिवेशन प्रतिनिधि छनोटमा दलित समुदायलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएकी छन् । उनलाई मनोनीत गरेर भए पनि प्रतिनिधि बनाउने भन्दै नेताहरूले आश्वासन दिइरहेका छन् । जिल्लाबाट १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो । ‘पालिकामा समावेशी नेतृत्व चयन गर्न नेतृत्व चुकेको छ । छनोटमा मनोमानी गरिएको छ,’ एमाले पूर्व जिल्ला सचिव गोपाल गिरीले भने, ‘बाँकेमा बाक्लो उपस्थिति रहेको थारु र मधेसी समुदायबाट एक जना पनि केन्द्रीय प्रतिनिधि छनोट नहुनु राम्रो होइन ।’

कांग्रेसले पनि बाँकेका वडा र पालिकामा नेतृत्व चयन गरेको छ । कांग्रेस नेतृत्वका लागि देउवा, कोइराला र पौडेल पक्षले गुट बनाएरै निर्वाचन लडे । ‘ठूलो पार्टीमा निर्वाचन त हुन्छ । तर, समूहगत चुनाव लड्नुले राम्रो सन्देश दिंदैन,’ कांग्रेस नेता किरण कोइरालाले भने, ‘निर्वाचनमा कोही नेता–कार्यकर्ता असन्तुष्ट हुनु स्वाभाविक हो । तर, नेतृत्व चयन भइसकेपछि सबै एक भएर जानु पर्छ ।’

कांग्रेसको क्षेत्रीय निर्वाचनको चहलपहल र त्यसमा भइरहेको मतदाताको तानातानले पार्टीभित्र तिक्तता पनि उत्तिकै बढिरहेको छ । शनिबार भएको क्षेत्रीय निर्वाचनमा सबै क्षेत्रमा देउवा र पौडेल गुटका उम्मेदवारबीच प्रतिस्पर्धा भयो । निर्वाचन आउँदा पद ओगट्न खोज्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने शान्तिनगर गाउँपालिकाका कांग्रेस नेता ज्ञानेन्द्रराज शर्माले बताए । ‘यसले पार्टीभित्र तिक्तता बढाइरहेको छ । अहिले आन्तरिक पदका लागि लडाइँ छ । भोलि यसले संसदीय र स्थानीय निर्वाचनमा असर गर्छ,’ उनले भने ।

पार्टीको निर्वाचन निकै खर्चिलो र तडकभडकपूर्ण भइरहेको दंगीशरण गाउँपालिकाका कांग्रेस नेता शंकरप्रसाद शर्माले बताए । ‘यो खर्चले भोलि अन्य निर्वाचन गर्न कठिन हुनेछ । सामान्य नेतालाई चुनाव लड्न कठिन भइसक्यो,’ उनले भने । कांग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्का भने आन्तरिक प्रतिस्पर्धाले प्रजातान्त्रिक पद्धतिलाई बलियो बनाउने दाबी गर्छन् । ‘नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हो । यसको असर पार्टीको आन्तरिक जीवनमा पर्दैन,’ उनले भने, ‘यसलाई गुटको लडाइँभन्दा आन्तरिक लोकतन्त्रका रूपमा बुझ्नुपर्छ ।’

एमाले र माओवादी केन्द्रले भने सहमतिमा नेतृत्व चयन गरिरहेका छन् । माओवादी केन्द्रले शनिबार दाङका १ सय वडाको अधिवेशन सम्पन्न गरेको छ । सबैमा सर्वसम्मत नेतृत्व चयन गरेको र कतै पनि मनमुटावको अवस्था नआएको माओवादी केन्द्रका जिल्ला संयोजक सुवास पुनले बताए । एमालेले पनि वडा र स्थानीय तहको अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गरेको थियो । महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन गरेको छ । यसले पार्टीमा एकताको सन्देश गएको जिल्ला अध्यक्ष टीकाराम खड्काले बताए । ‘यसअघि पार्टीमा विभिन्न गुटगत समस्या आए पनि यसपटक सर्वसम्मत चयन गरेका छौं,’ उनले भने ।

पाल्पामा पनि अधिकांश राजनीतिक दलमा तिक्ततापूर्ण प्रतिस्पर्धा छ । केहीमा एकले अर्को पक्षलाई क्लिन स्वीप गरेरै अघि बढ्ने प्रवृत्ति देखिएको छ । पार्टी विशेषमा यस्तो प्रवृत्ति फरक–फरक रहेको पुराना राजनीतिज्ञ नारायण कोइरालाको अनुभव छ । उनले कांग्रेसमा २०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबाट गुट बन्ने क्रम सुरु भएर अहिलेसम्म त्यही ढंगले अघि बढेको बताए ।

‘लोकतन्त्रमा गुट–उपगुट हुनुपर्छ, त्यसमा मेरो भन्नु केही छैन तर वैचारिक र विवेकपूर्ण ढंगको हुनुपर्ने हो,’ उनले भने, ‘तर कांग्रेस, एमालेलगायत ठूला राजनीतिक दलमै त्यस्तो देखिएको छैन । आफ्नो अनुकूल व्यक्ति रोज्ने तर विचार र विवेक नहेर्ने अवस्था छ ।’ सबै राजनीतिक दलभित्र व्यक्तिगत स्वार्थ हाबी हुँदै गएको वाम बुद्धिजीवी झपेन्द्रबहादुर जीसीले बताए । ‘मुलुकको समग्र हितको पक्षमा सोच बनाउनु पर्ने हो तर त्यस्तो देखिएको छैन,’ उनले भने ।

ठूला दल अहिले पार्टी महाधिवेशनमा केन्द्रित छन् । त्यसले केन्द्रदेखि वडा तहसम्म कार्यकर्ता चलायमान बनेका छन् भने निर्वाचनले स्थानीय तहको चुनावको झल्को दिएको छ । तर, पक्ष र विपक्षमा अस्वस्थ प्रतिस्पर्धाले संगठन मजबुत बनाउने भन्दा कार्यकर्ता गुट–उपगुटमा विभाजित भएका छन् । पार्टीमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भए पनि कार्यकर्ताबीच मनमुटाव र हानाहानको अवस्था आउनु दुःखद भएको विश्लेषक बताउँछन् ।

-सन्जु पौडेल (लुम्बिनी), माधव अर्याल (पाल्पा), ठाकुरसिंह थारु (नेपालगन्ज) र दुर्गालाल केसी (दाङ)

प्रकाशित : मंसिर ६, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?