निर्मला कुर्मी बेपत्ता प्रकरण : प्रतिवेदन कार्यान्वयन माग गर्दै धर्ना र विरोध

काठमाडौँ — नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता पारिएको निष्कर्षसहित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गर्दै यहाँका अधिकारकर्मीले जिल्ला प्रशासनमा दैनिक रुपमा धर्ना दिँदैआएका छन् ।

निर्मला कुर्मी बेपत्ता प्रकरण : प्रतिवेदन कार्यान्वयन माग गर्दै धर्ना र विरोध

सरकारद्वारा गठित छानबिन समितिले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न सुझावसमेत दिएको थियो । केही आरोपित पक्राउ परे पनि कारबाहीका लागि सरकार गम्भीर नदेखिएको भन्दै शनिबारदेखि उनीहरूले दैनिक एक घण्टा धर्ना थालेका हुन् ।

‘घटनाका मुख्य अभियुक्त कांग्रेस नेता तथा पूर्वसांसद्‍ बदशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन । समितिले बुझाएको प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेको छैन,’ अधिकारकर्मी रुबी खानले भनिन्, ‘निर्मलाको अपहरण गरी जग्गा हडप्ने व्यक्तिलाई कारबाही नहुने हो कि भन्ने आशंका छ । त्यसैले दिउँसो १ बजेदेखि २ बजेसम्म दैनिक धर्ना सुरु गरेका छौं ।’

खानका अनुसार अभियुक्तहरूका परिवार र आफन्तहरूले आन्दोलनमा उत्रिएका अधिकारकर्मीहरूको घरमै गएर मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन् । ‘मुद्दा फिर्ता लिइदेऊ, होइन भने तिम्रो परिवारलाई पनि ठीक हुन्न । देशभरका अदालतमा मुद्दा हालेर तिमीहरूलाई ठीक पार्छौं भन्दै धम्काउँछन्,’ अधिकारकर्मी खानले भनिन्, ‘तर, प्रहरी प्रशासनले केही नगरेपछि न्यायका लागि धर्ना दिन सुरु गरेका हौं ।’

घटनाका आरोपितहरू पूर्वसांसद्‍ कुर्मी र जग्गा कारोबारी रमेश थापाका आफन्तहरूले अभियानकर्मीलाई घरमै पुगेर धम्क्याउने गरेको गुनासो उनको छ । धम्की घटनाबारे राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जमा पनि उजुरी गरिएको छ ।

स्थानीय प्रशासन र प्रहरीले निर्मलाको हडपिएको जग्गाको छानबिनसमेत गरेको छैन । अधिकारकर्मीहरूले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको माग गर्न धर्ना दिएका हुन् । घटनाको छानबिन गर्न बाँके प्रहरी उदासीन रहेको उनीहरूको आरोप छ ।

अधिकारकर्मीहरूले न्यायका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको फोटोको प्ले कार्ड बनाएर ‘कलम चलाउनुस् सरकार’ उल्लेख गरेका छन् । अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटनाको छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिले आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

नेपालगन्ज–१७ परस्पुरकी बेपत्ता निर्मलाको साढे चार बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि दोषी पक्राउ गरी अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वको छानबिन समितिले प्रतिवेदनमार्फत् सरकारलाई सुझाव दिएको थियो।

प्रतिवेदनमा निर्मलाको जग्गा भूमाफियाले चलखेल गरी हडपेको उल्लेख छ । गत भदौ ३ गते पक्राउ पूर्जी मागेको प्रहरीले दुई महिनापछि मात्र अभियुक्तलाई पक्राउ गरेको हो । निर्मलालाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा प्रहरीले रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई गएको सोमबार पक्राउ गरेको थियो । तीमध्ये आरोपित ८० वर्षीय कुवर बब्बन सिंहलाई अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छाडेको छ ।

प्रकाशित : कार्तिक २९, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?