कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फोटोफिचर

पाल्पामा फस्टायो व्यावसायिक फूल खेती

माधव अर्याल

पाल्पा — पहाडी जिल्ला पाल्पामा व्यावसायिक फूलखेती फस्टाएको छ । पहिलो पटक व्यावसायिक फूल खेती गरेका रामपुर नगरपालिका–४, देवीस्थानका दिलबहादुर थापा र माथागढी गाउँपालिका–२, रुप्सेका दामोदर घर्तीले पहिलोपटक व्यावसायिक फूल खेती गरेका हुन् । त्यसपछि बल्ल पाल्पाका विभिन्न स्थानमा फूलखेती सुरु भएको हो । यतिबेला पाल्पाका दर्जन बढी फूल व्यवसायीको बारीमा ढकमक्क फूल फूलेको छ ।

पाल्पामा फस्टायो व्यावसायिक फूल खेती

बारीमा लगाएका फूलले यसवर्ष बजार पनि पाएको छ । अघिल्लो वर्ष दसैं र तिहारमा भन्दा यसवर्ष व्यापार पनि तेब्बर नै हुने अपेक्षा फूल व्यवसायीको छ । रामपुरका व्यवसायी दिलबहादुरले यतिबेला बिक्रीका लागि भ्याईनभ्याई भएको बताए । फूल टिप्ने, माला गास्ने र बजारमा लैजान हतार हुने गरेको छ । अघिल्लो वर्षभन्दा यसवर्ष मालाको भाउ पनि बढेको छ ।

कम्तीमा सय रुपैयाँमा मालाको बिक्री गर्दै आएका छन् । भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न भने व्यवसायीलाई मुस्किल परेको छ । बुटवलको बजारमा भारतबाट सहजै माला आउँछ । दसैंपछि तिहार सुरु भएसँगै फूलले बजार पाउन थालेको छ । ‘पाल्पाको माग बुटवल, कैलाली, नेपालगञ्जबाट आएको छ,’ रामपुर नगरपालिका–४ देवीस्थानका दिल बहादुर थापाले भने, ‘ढुवानीका हिसाब गर्दा नाफा भन्दा घाटा हुन्छ कि भन्ने समस्या छ ।’

स्थानीय बजारमा पनि फूलको राम्रो बिक्री हुने माथागढी गाउँपालिका–३, रुप्सेका घर्तिले बताए । उनका अनुसार बुटवलमा भारतको मालाका कारण सस्तोमा बिक्री गर्नुपर्ने अवस्था छ । ‘सोचे जस्तो बजार सहज रहेनछ,’ उनले भने । तर धेरै पानी पर्दा फूललाई असर गरेको छ । केही समय पानी नपर्ने समस्या थियो । बेमौसमी वर्षाले फूललाई भने राम्रो गरेको उनले बताए । पाल्पामा मौसमी मात्र होइन, बेमौसममासमेत फूल खेती गरेका छन् ।‘गुणस्तरीय फूल उत्पादन गरेर के गर्नु,’ उनले भने, ‘भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न समस्या रहेछ ।’

रामपुर, तानसेन, माथागढी, माथागढी, बगनासकालीमा व्यवसायिक फूल खेतीले सफलता पाएको छ । सयपत्री र मखमली फूलको व्यवसायिक खेती भएपनि बजारको सुनिश्चितता भने नभएको तानसेन, काजीपौवामा फूल खेती गर्ने प्रतिक्षा सिंजालीले बताइन् । बजारमा सस्तोमा फूल र माला दिनुपर्दा लागत समेत नउठ्ने उनले बताइन् ।

फूल राम्ररी फक्रन नपाउँदै फूल र मालाको माग आउने गर्छ । कृषि ज्ञान केन्द्र, स्थानीय तहले ध्यान दिनुपर्ने फूल खेती गर्ने व्यवसायीको माग छ । उनीहरु आफ्नै ज्ञानले नै खेती गर्दै आएका छन् । तिनाउको दोभानमा पनि फूल खेती गरेका छन् । प्राविधिक ज्ञानको अभावले पनि सही ढंगले खेती गर्न नसकिएको हो । तानसेनमा संयुक्त राष्ट्र्रसंघीय विकास कार्यक्रम, तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघले महिलालाई फूल खेतीका लागि तालिम दिएको थियो । केही महिला प्रदेशले सञ्चालन गरेको तालिममा पनि गएका हुन् ।

पहाडी जिल्लामा पनि व्यवसायिक फूल खेती गरेर स्वरोजगार बनाउन सके फूलमा आत्मनिर्भर हुन सहयोग पुग्ने विश्वास तालिम प्रदान गर्ने संस्था ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

प्रकाशित : कार्तिक १९, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?