तलब नपाएको भन्दै ९ दिनदेखि स्वास्थ्यकर्मी धर्नामा

बुधबारदेखि नेपालगन्ज मेडिकल कलेजको आकस्मिकबाहेकका सबै सेवा ठप्प
रूपा गहतराज

नेपालगन्ज — तीन महिनादेखिको तलब नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी ९ दिनदेखि धर्नामा छन् । उनीहरू गत कात्तिक १ देखि कालोपट्टी बाँधेर अस्पताल परिसरमै धर्नामा बसेका हुन् । जसका कारण अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द छ । लेखा र प्रशासन शाखामा ताल्चा लगाइएको छ ।

कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रूपमा धर्ना दिइरहेको आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले बताए । ‘प्रशासन हाम्रो समस्या सुन्नै तयार छैन,’ उनले भने, ‘अहिलेसम्म दुवै पक्षबीच छलफलसमेत भएको छैन ।’ अस्पतालका १ हजार २ सय स्वास्थ्यकर्मी र कर्मचारीले ३ महिनादेखिको तलब नपाएको उनको दाबी छ ।

आन्दोलनरत पक्षले तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा, अवकाश, उपदान, बिमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनुपर्ने लगायत ७ बुँदे माग राखेको छ । तर व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । अस्पताल उपनिर्देशक डा. दिनेश श्रेष्ठ कर्मचारीका माग जायज भए पनि संस्था घाटामा रहेकाले तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताए ।

प्रशासकीय कार्यकक्षमा तालाबन्दी गरेका स्वास्थ्यकर्मी र कर्मचारीले गत बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । सरकारले उपलब्ध गराएको सेवासुविधासमेत अस्पताल प्रशासनले आफैंले राखेर कर्मचारीहरूलाई नदिएको उनीहरूको आरोप छ । अस्पताल निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोनाका कारण संस्थाको अवस्थालाई मध्यनजर गर्दै माग सम्बोधन गर्न नसकिने बताए । ‘कोरोनाले सबै क्षेत्रको अवस्था डामाडोल बनाएको छ,’ उनले भने, ‘यस्तो बेला कर्मचारीको सेवासुविधा बढाउने कुरै आउँदैन ।’

प्रकाशित : कार्तिक ९, २०७८ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?