पाल्पा प्रशासनमा नागरिकता बनाउनेको भीड [तस्बिरहरु]
पाल्पा — पाल्पा जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढ्दो छ । दसैंको घटस्थापनादेखि नै नागरिकता र राहदानी बनाउने लगायत अन्य प्रशासनिक कामकाजले प्रशासनमा धाउनेहरुको भीड बढेको हो ।
दसैंको विदा सकिएपछि प्रशासनमा भीड झन् बढेको छ । सामान्यत: प्रशासनिक काम लिएर दैनिक ३०/३५ जना आउने गरेकोमा घटस्थापनापछि दैनिक ८० देखि ९० सेवाग्राही आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।
हरेक वर्ष दसैं-तिहारको समयमा जिल्ला प्रशासन कार्यालयमा यसैगरी नागरिकता, राहदानी बनाउने, नाता प्रमाणित गर्ने जस्ता कामका लागि सेवाग्राहीको चाप बढ्ने गरेको बताइन्छ ।
जिल्ला बाहिरका सहर तथा विदेशमा रहेका अधिकांश जिल्लावासीहरु दसैं-तिहारका बेला घर फर्किने गरेकाले यही मौकामा प्रशासनिक कामकाज सकेर फर्किने गरेको कर्मचारीहरु बताउँछन् ।
इलाका प्रशासन कार्यालय रामपुरले रामपुर नगरपालिका र निस्दीका साथै पूर्वखोलाको सिलुवावासीको नागरिकता बनाउने गर्छ । त्यसवाहेक पश्चिमको सत्यवतीदेखि नागरिकता, राहदानी बनाउन आउने गरेको प्रशासनले जनाएको छ । बिहान साढे ९ बजेदेखि अपरान्ह साढे ५ बजेसम्म बसेरै सेवाग्राहीको काम गर्ने गरेको कर्मचारीहरुले बताएका छन् ।
प्रकाशित : कार्तिक ७, २०७८ १५:३६