रानीमहल जाने सडकमा पुन: पहिरो
पाल्पा — पर्यटकीयस्थल रानीमहल जाने सडकमा शुक्रबार पुन: पहिरो खसेको छ । पहिरो खसेपछि रानीमहल क्षेत्रमा पुगेका सय बढी पर्यटक अलपत्र परेका छन् । तानसेन–रानीमहल सडक खण्डको बैुकण्ठे भीरमा खसेको पहिरो ठूलो भएकाले पन्छाउन कठिनाई भएको छ ।
पहिरोका कारण रानीमहल घुम्न पुगेका पर्यटक बीच बाटोमै र रानीमहल क्षेत्रमा अलपत्र परेको स्थानीय हात्तीढुंगाका श्रीधर गैरेले जानकारी दिए । माथिल्लो भागबाट समय समयमा ढुंगा झर्ने क्रम नरोकिएकाले समस्या आएको छ ।
चार–पाँच घण्टादेखि पहिरो निरन्तर खसिरहेकाले सडक सञ्चालन गर्न समस्या भएको स्थानीय रिसोर्ट सञ्चालक बसन्त कुँवरले जानकारी दिए । सानो डोजरले काम गर्न नसकेर फर्किएको र ठूलो मेसिनको लागि पहल भइरहेको स्थानीयले जानकारी दिएका छन् । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख प्रेमनारायण बस्यालले सानो मेसिन पुगेपनि काम गर्न नसक्ने भएपछि पुन: ठूलो मेसिन पठाउन समन्वय भइरहेको जानकारी दिए । एक्सकाभेटर कालोपत्र सडकमा टायर राखेर गुडाउनुपर्ने भएकाले केही समय ढिला हुने उनले बताए ।
तस्बिर : बसन्त कुँवर
रानीमहल घुम्नका लागि देशका विभिन्न स्थानबाट पुगेका सय बढी पर्यटक बीच सडकबाट फर्किन बाध्य भएका छन् । ५० बढी आन्तरिक पर्यटक भने सडक खुल्ने आशमा रानीमहल क्षेत्रमै बसेका छन् ।
ढुंगा खस्न नरोकिएकाले पैदल यात्रा गर्न समेत कठिनाइ भएको सवारी चालक रविन सारुले जानकारी दिए । पहिरोले सवारी साधन रोकिएकाले खान र समयमा गन्तव्यमा पुग्न समस्या यात्रुको गुनासो छ । रानीमहलमा तीन दिनअघि पनि वर्षासँगै पहिरो खसेर सय बढी पर्यटक अलपत्र परेका थिए ।
सडक पूर्वाधार विकास कार्यालयका प्रमुख बस्यालले पाल्पा जिल्लाभरको आकस्मिक मर्मतका लागि आएको १० लाख बजेट रानीमहल क्षेत्रमा खसेको पहिरो पन्छाउँदा सकिने अवस्था आएको बताए ।
प्रकाशित : कार्तिक ५, २०७८ १४:४९