कृष्णनगरमा फेरि झाडाका बिरामी थपिँदै

सरकारी अधिकारीले रोग नियन्त्रणमा भएको भने पनि बिरामी तीन गुणा बढे
मनोज पौडेल

कपिलवस्तु — कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । प्रकोप फैलिएयता सबैभन्दा कम गत सोमबार १२ जनाको उपचार गरिएको थियो । बिहीबार बहादुरगन्जस्थित शिवराज अस्पतालमा बिरामी ह्वात्तै बढेर ४० पुगेका हुन् । 

कृष्णनगरमा फेरि झाडाका बिरामी थपिँदै

मंगलबार २० र बुधबार २७ जना अस्पताल पुगेका थिए । ‘सरकारी अधिकारीले झाडापखाला नियन्त्रणमा आएको भन्छन्,’ एक स्वास्थ्यकर्मीले भने, ‘एकैपटक ३ गुणा बढ्नुले त्यस्तो संकेत गर्दैन । यसलाई हल्का रूपमा लिनुहुन्न, फेरि प्रकोप समस्याका रूपमा बाहिर आउने लक्षण देखिएको छ ।’

१८ दिनमा शिवराज अस्पतालमा मात्रै १ हजार ५ जना उपचारका लागि आएका छन् । त्यसमध्ये ४१ जनालाई रिफर गरिएको थियो । डिस्चार्ज भएर बाँकी रहेका ४० जनाको अस्पतालमै उपचार भइरहेको छ । प्रकोपले दुई बालक, एक बालिका र एक ४५ वर्षीय पुरुषको मृत्यु भएको सरकारी तथ्यांक छ ।

स्थानीयले भने ६ जनाको मृत्यु भएको दाबी गरेका छन् । त्यस्तै निजी क्लिनिकमा पनि ७ सयभन्दा बढीको उपचार भएको स्थानीयले बताए । ‘झाडापखाला नियन्त्रणमा आइसक्यो भनेर बसेका थियौं,’ अस्पतालमा मेसु मुकेश चौधरीले भने, ‘तर, अवस्था सामान्य छैन ।’ फेरि योजना बनाएर समुदायमै सचेतना गर्न आवश्यक देखिएको उनले बताए ।

बिरामी बढ्न थालेपछि बरन्डा, गल्ली र खुला आकाशमुनि राखेर उपचार गर्न थालिएको छ । १५ बेडको अस्पतालमा बेड अभाव भएपछि वैकल्पिक उपाय अपनाएर उपचार गर्न थालिएको हो । अघिल्लो पटक ल्याएर उपयोग गरी फर्काइएको टेन्टको १० बेड फेरि ल्याइएको छ ।

बिरामी बढेपछि औषधिको पनि अभाव हुन थालेको छ । ‘असोज तेस्रो साता प्रदेश र जिल्लाबाट औषधि आउँदा सहज भएको थियो । बिरामीले राम्रो उपचार पाएका थिए । फेरि औषधि अभाव हुन थाल्यो,’ मेसु चौधरीले भने, ‘दुई–चार दिनसम्म पुग्ने

मात्र छ ।’ गत असोज १८ देखि फैलिएको झाडापखालाको प्रकोप दुई सातापछि संक्रामक रोग हैजा भएको पुष्टि भएको थियो । २१ जनाको दिसाको नमुनामध्ये ५५ वर्षीय दुई पुरुष, ७२ वर्षीय एक पुरुष र पाँच वर्षीया बालिकामा हैजाको जीवाणु भेटिएको हो ।

अस्पतालमा एक जनामात्रै डाक्टर हुँदा उनी २४ सै घण्टा खटिनुपरेको छ । अहिले अस्पतालमा नर्सिङ स्टाफ अभाव नभए पनि चिकित्सकको अभाव छ ।

‘रातमा सुत्न पनि पाइँदैन,’ अस्पतालका मेसु चौधरीले भने, ‘इमर्जेन्सी र राउन्डमै रात बित्ने गर्छ ।’ तीन सातायता आरामै गर्न नपाएको उनले बताए । समुदायमा सचेतना छर्दै पानी शुद्ध पार्ने क्लोरिन झोल र ट्याब्लेट वितरण गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए ।

प्रकाशित : कार्तिक ५, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?