कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सीता भण्डारी मृत्यु प्रकरण : ४६ दिनपछि मृतकको अन्त्येष्टि

विवाह खर्चसहित माइतीपक्षले ११ लाख बुझाएपछि सहमति
अमृता अनमोल

बुटवल — घरभित्रै रहस्यमय तरिकाबाट मृत अवस्थामा भेटिएकी रुपन्देहीकी सीता भण्डारी पौडेलको ४६ दिनपछि अन्त्येष्टि भएको छ । तिलोत्तमा नगरपालिका ५ मणिग्रामकी २७ वर्षीय सीता गत भदौ २० गते बिहान झुण्डिएको तर पासो काटेको अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरी अनुसन्धान र चिकित्सकीय रिपोर्टमा आत्महत्या देखाए पनि माइतीपक्षले उनको हत्या भएको भन्दै शव बुझ्न इन्कार गरेका थिए ।

सीता भण्डारी मृत्यु प्रकरण : ४६ दिनपछि मृतकको अन्त्येष्टि


आन्दोलनमै उत्रिएका माइतीपक्षले सीताका पतिको परिवारबाट ११ लाख रुपैयाँ क्षतिपुर्ति लिएपछि बुधबार अन्त्येष्टि गर्न सहमत भएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुंवरले माइतीपक्ष समेतको सहभागितामा बुधबार शव बुझेको बताए ।

उनको शवलाई दिउँसो मगरघाटमा अन्त्येष्टि गरिएको थियो । माइतीपक्षले हत्याको दावी गर्दै आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए । मृतकका बुवा हरिप्रसाद भण्डारीले दिएको उक्त मुद्दामा सीताका पति टीका पौडेल, जेठाजू हरि र आमाजु विष्णुलाई १५ दिनअघि पुर्पक्षका लागि थुनामा पठाइएको छ । अभियुक्त थुनामा गएपछि पनि माइतीपक्षले उनको नाममा कोष बन्नुपर्ने क्षतिपूर्ति पाउनुपर्ने लगायत माग गर्दै शव बुझ्न मानेका थिएनन् ।

२४ लाख रुपैयाँ सीताका नाममा दिनुपर्ने माग गर्दैआएका उनीहरु मंगलबार मध्यस्तकर्ताको सहभागितामा सीताका ससूरा देवी पौडेलबाट विवाह खर्च वापत १० लाख र सापटीको रकम १ लाख गरी ११ लाख रुपैयाँको चेक पाएपछि शव बुझ्न राजी भएका थिए ।

लिखित सहमतिमा भण्डारी परिवारले विवाह गर्दा लागेको खर्च १० लाख र सापटी दिएको एक लाख गरी ११ लाख रुपैयाँ बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति गरिएको सीताको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सीताको रहस्यमय मृत्यु भएपछि माइतीसहितका केही अभियन्ताहरुले ‘जस्टिस फर सीता भण्डारी’ भन्ने अभियान सञ्चालन गरेर प्रदर्शन गरेका थिए । आन्दोलन चर्किएपछि इलाका प्रहरी कार्यालय बुटवल र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धानको क्रममा सीताको मोबाइलबाट सुसाइड नोट फेला पारेको थियो । त्यसमा ‘...मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो। म सकिनँ बाँच्न' भनी लेखिएको थियो ।

प्रकाशित : कार्तिक ३, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?