१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ठाउँठाउँमा खसेको पहिरोले रानीमहल घुम्न गएका यात्रु अलपत्र

माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले पर्यटकीयस्थल रानीमहल पुगेका २ सय बढी आन्तरिक पर्यटक अलपत्र  परेका छन् । तानसेनदेखि रानीमहल पुग्ने सडकको ठाउँठाउँमा पहिरो खसेको स्थानीय रिसोर्ट सञ्चालक सुशील कुँवरले जानकारी दिए । उनीहरु दुवैतर्फ पहिरो गएपछि सडकमै फसेका छन् । 

ठाउँठाउँमा खसेको पहिरोले रानीमहल घुम्न गएका यात्रु अलपत्र

दसैंपछि आइतबार रानीमहल पुगेका पर्यटक स्थानीय होटल र रिसोर्टमा बसेको र सोमबार बिहान फर्किन लाग्दा जतासुकै पहिरो खसेपछि अलपत्र परेको उनले जानकारी दिए । उनका अनुसार हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीरलगायतका स्थानमा ठूला पहिरा खसेका छन् ।

सोमबार बिहानदेखि अवरुद्ध भएको रानीमहल जाने सडक मंगलबार बिहानसम्म पनि सञ्चालन नहुँदा समस्या भएको कपिलवस्तुबाट आएका रवीन लुइँटेलले बताए । स्थानीयका अनुसार तीन दिनदेखि अलपत्र पर्यटक गन्तव्यतर्फ जान पाएका छैनन् । रानीमहल र तानसेतर्फ सडक अवरुद्ध भएको छ । कतिपय पयर्टक गाडीमै सुतेका छन् । होटल व्यवसायी कुँवरका अनुसार कतिपयले चालकलाई गाडीमै छाडेर पैदलै गन्तव्यतर्फ लागेका छन् । कतिपयले मोटरसाइकल नै सडकमा छाडेर हिँडेको उनले बताए ।

मंगलबार बिहानसम्म पहिरो पन्छाउन डोजर गएको छैन । दसैंको टीका लगाएपछि रानीमहल घुम्न आउने पर्यटक ह्वात्तै बढेका थिए । काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तु, नारायणगढ, नवलपरासीलगायतका स्थानबाट आन्तरिक पर्यटक रानीमहल घुम्न आएका छन् ।

तानसेन नगरपालिका, सडक पूर्वाधार विकास कार्यालय, प्रमुख जिल्ला अधिकारीलगायतलाई सडक अवरुद्ध भएको जानकारी गराइए पनि सुनवाइ नभएको कपिलवस्तुबाट आएको दिनेश भट्टराईले बताए । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख प्रेमनारायण बस्यालले डोजर, एक्स्काभेटरको चालक नपाएकाले पहिरो पन्छाउन ढिलाइ भएको जानकारी दिए । सडकमा पहिरो खस्ने क्रम नरोकिएको र वर्षा पनि भइरहेकाले समस्या आएको उनले बताए ।

तस्बिरहरू : सुशील कुँवर

प्रकाशित : कार्तिक २, २०७८ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?