२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गुल्मीमा खोलाले जिप बगायो

रासस

गुल्मी — आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले जिप बगाएर बेपत्ता बनाएको छ ।

सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दिउँसो साढे २ बजे डहरे खोलाले जिप बगाएको बताइएको छ । खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जिप रोकिएपछि यात्रुहरु तत्कालै जिपबाट ओर्लिएका थिए । जिपमा सवार ९ जना यात्रु जिपबाट ओर्लिएलगत्तै ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जिपलाई बगाएर बढीघाट खोलामा पुर्‍याइ बेपत्ता बनाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

दुई दिनदेखिको लगातार वर्षाका कारण डहरे खोलाले बगाएको उक्त जिप बाढीले नजिकै रहेको बढीघाट खोलामा पुर्‍याएपछि यात्रुहरुले हेर्दाहेर्दै जिप खोलाको भेलसँगै बेपत्ता बनेको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली घटनास्थलमा पुगे पनि खोलाले बगाएको उक्त सवारी साधन अझै फेला पर्न सकेको छैन ।

अविरल वर्षाका कारण सोमबार बिहानदेखि अवरुद्ध बनेको रिडी–रुद्रवेणी सडक भने स्थानीय पालिकाको पहलमा केहीबेर अघि सञ्चालनमा आएको अध्यक्ष ढकालले बताए ।

प्रकाशित : कार्तिक १, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?