३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दसैंमा बढेन व्यापार, सीमा खुलेपछि भारतीय बजारतिरै गए उपभोक्ता 

अमृता अनमोल

बुटवल — दसैमा पनि पश्चिम क्षेत्रको मुख्य बजार बुटवलमा खासै चहलपहल भएन । व्यापारीहरू ग्राहक कुरेर बसेका भेटिए । साविकमा भन्दा केही ग्राहक बढे तर, किनमेल बढेन । यसैले व्यापारको अनुपातमा खासै भएन । ‘सिमा खुल्यो धेरै सामान किन्ने मान्छे सुनौलितिरै गएका छन् । यहाँ त अत्यावश्यक सामाग्री किन्ने मात्रै ग्राहक आएका छन्,’ अमरपथको सपना साडी सेन्टरकी संचालक समिरा ध्वजुले भनिन्, ‘पोहोर साल सिमा बन्द थियो । उता जाने ग्राहक रोकिएका थिए । कोरोनाको त्रास भएपनि दसैंमा अलि व्यापार बढेको थियो ।’ यसपालि गतवर्षजत्तिको पनि व्यापार नभएको उनले गुनासो गरिन् । 

दसैंमा बढेन व्यापार, सीमा खुलेपछि भारतीय बजारतिरै गए उपभोक्ता 

कोरोनाका कारण बन्द नेपाल भारत सिमानाका असोज पहिलो सातादेखि खुलेको छ । दसैंको मुखमा सीमा खुलेपछि सीमावर्ती क्षेत्रका धेरै उपभोक्ता सामान किन्न भारतीय बजार गएका छन् । यसले व्यापार हुने आशमा नयाँ सामाग्री थपेर झकीझकाउ बनाएपनि बुटवलका मुख्य बजार अमरपथ, ट्राफिकचोक, विपीपथ, राममन्दिर लाइनका ठूला ठूला बस्त्रालय, फैन्सी र खाद्यान्न पसलमा ग्राहकको भीड छैन । अघिल्लो दसैंमा धेरै व्यापार गरेका व्यापारी पनि यसपालि निराश छन् । ‘दसैको मुखमा सिमा खोल्दा हाम्रा ग्राहक खोसिए,’ अमरपथको ह्याप्पी गर्ल फैंन्सीकी संचालक मनिषा गौतमले भनिन्,‘कोरोनाले खस्कीएको व्यापार चाडबाडले पनि बढ्न सकेन ।’

धेरै उपभोक्तालाई नेपालमा भन्दा भारतीय बजारमा सामान सस्तो पाइने भ्रम छ । यही भ्रमले बुटवलसहित सीमा क्षेत्रका धेरै उपभोक्ता घरअगाडिको बजार छोडेर भारतीय बजारमा जान्छन् । आउजाउमा महंगो गाडीभाडा तिर्छन् । चाहिने भन्दा धेरै सामान किन्छन् र फजुलमा रकम खर्च गर्छन् । ‘यता छिरेका ग्राहक पनि कोरोनाको संकट, अव्यवस्थित भन्सार, बढ्दो उत्पादन लागत लगायतले स्वदेशी उत्पादन र बजार खस्किइरहेका बेला सीमावर्ती भारतीय बजारमा किनमेल बढेको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले बताए । उपभोक्ताको भारतीय बजारप्रतिको बढ्दो लगावले स्वदेशी बजार र उत्पादन संकटमा परेको उनले बताए । ‘सीमाक्षेत्र व्यवस्थित नगर्ने हो भने सीमावर्ती बजार खस्कने मात्रै होइन नामो निशान नहुनेगरी मेटिनेछन् ।’ उनले भने ।

उपभोक्तालाई स्वदेशी बजारभाउबारे जानाकारी नहुँदा पनि धेरै भारतीय बजारमा गएको पाइन्छ । तर, चाडबाडमा किनिने धेरै सामान स्वदेशमै सस्तो छ । बुटवल उद्योग वाणिज्य संघकाअनुसार ऊनी, जिन्स, सुती साडी लगायतका कपडा पनि भारतभन्दा नेपालमा करिब १० देखि २५ प्रतिशत सस्तो छ । अन्तराष्ट्रिय बहुचर्चित कम्पनीका उपभोग्य सामानमा नेपाल लिभर र भारत लिभर भएर निस्कने हर्लिक्स, बुुष्ट, चिया, दुध, ल्याक्टोजिन, तेल, जीरा लगायत प्रतिकिलो ३० देखि ५० रुपैयाँ सस्तो छ । ‘उपभोक्तालाई स्वदेशी बजारभाउबारे जानाकारी नहुँदा पनि धेरै उता गएको पाइन्छ,’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले भने, ‘व्यापार बढाउन आफ्ना उपभोक्तालाई आफ्ना सामानबारे सही सुचना दिन र सचेत बनाउन जरुरी छ ।’

व्यवसायीहरूले उपभोक्ताप्रति हार्दिकता नदेखाउनु, पसलहरूमा मूल्यसूचि नहुनु र स्वदेशी उत्पादनको प्रचार नहुनुले पनि उपभोक्ताहरू स्वदेशी बजारको सट्टा भारतीय बजारमा गएका भेटिन्छन् । यस्तोमा स्वदेशी व्यापारी र त्यससंग सम्बन्धित संघसस्थाले आफ्ना पसलमा मूल्यसूची राख्ने र भारतभन्दा स्वदेशमा सस्तो पाइने सामाग्रीको प्रचार गर्नुपर्ने उपभोक्ताहित संरक्षण मन्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद पाठकले बताए ।

प्रकाशित : आश्विन २७, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?