२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लुम्बिनीमा १६ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदै

विमला वली राज्यमन्त्री बन्ने
घनश्याम गौतम

रूपन्देही — गठनबन्धनको मुख्य दल नेपाली कांग्रेसले मन्त्री बन्नेको टुंगो लगाएसँगै आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन थालेको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयका दिउँसो ३ बजे शपथका लागि तयारी भइरहेको छ ।

लुम्बिनीमा १६ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदै

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले कांग्रेसबाट रूपन्देहीका बसिउद्धिन खाँ, बाँकेका सुरेन्द्र हमाल र पाल्पाका वीरबहादुर राना मन्त्री बन्ने टुंगो लागेको बताए । राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठको नाम टुंगो लागेको छ ।

‘खाँले शिक्षा युवा तथा खेलकुद, रानाले वन वातावरण तथा भुसंरक्षण र बाँकेका हमालले उर्जा जलस्रोत तथा सिचाइँमन्त्रीको जिम्मेवारी पाउँदै हुनुहुन्छ,’ खानले भने, ‘राज्यमन्त्रीको पनि नाम टुंगो लागेको र जिम्मेवारीको विषयमा छलफल हुँदैछ । उनले आइतबार दिउँसो ३ बजे मन्त्रीहरुको शपथ हुने बताए । मन्त्री बन्न लागेका हमाल संघीय सरकारमा गत शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका गजेन्द्र हमालका भाइ हुन् । यसअघि कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी पर्यटन ग्रामिण तथा सहरी विकासमन्त्री भएका छन् ।

त्यस्तै, माओवादीबाट दाङका इन्द्रजित थारु स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण र बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चारमन्त्री बन्दैछन् । माओवादीबाट विमला खत्री वली राज्यमन्त्री बन्ने टुंगो लागेको छ । तर मन्त्रालयको टुंगो नलागेको इन्द्रजित थारुले बताए । यसअघि माओवादीबाट मुख्यमन्त्री रोल्पाका कुलप्रसाद केसी र प्यूठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारीमन्त्री बनेका छन् । नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी रमा घर्ती पनि मन्त्री बन्दैछन् । उनलाई कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय दिने गठबन्धन दलहरुबीच सहमति भएको छ ।

कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चाको समर्थनबाट साउन २८ गते केसी मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी र कांग्रेस भित्रको आन्तरिक विवादले मन्त्रिपरिषद् विस्तार लम्बिदै गएको थियो । दुवै दलले स्थानीय स्तरबाट मन्त्रीको टुंगो लगाउन नसकेपछि केन्द्रबाटै नाम टुंगिएको हो । माओवादीले बिहीबार नाम टुंगो लगाएपनि कांग्रेसले आइतबार बिहान मात्र नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको थियो ।

यसअघि लुम्बिनी प्रदेशमा जसपाबाट भौतिक पूर्वाधारमन्त्रीमा सहसराम यादव, कृषि खाध्य प्रविधि तथा भूमि व्यवस्थामा सुमन शर्मा रायमाझी र श्रम रोजगार तथा यातायातमा पुर्मती ढेंगामगर मन्त्री बनेका छन् । त्यस्तै, स्वतन्त्रबाट पश्चिम नवलपरासीका अजय शाही उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् । थप मन्त्रीहरुको दिउँसो ३ बजे शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा तयारी भइरहेको प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरेले बताए ।

प्रकाशित : आश्विन २४, २०७८ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?