३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

लुम्बिनी प्रदेश सरकार शुक्रबार विस्तार हुने

माओवादीबाट मन्त्री बन्‍नेको नाम टुंगो लाग्यो 
घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारले शुक्रबार विस्तार हुने हुने भएको छ । बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलले मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी भएका हुन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार शुक्रबार दिउँसो ३ बजे शपथ गराउने तयारी छ । 

लुम्बिनी प्रदेश सरकार शुक्रबार विस्तार हुने

स्रोतका अनुसार माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्माको मन्त्री बन्ने टुंगो लागेको छ । पाल्पाका तुलाराम घर्तीको पनि नाम चर्चामा थियो । उनी माओवादीका प्रमुख सचेतक हुन् । तर, माओवादी कोटामा परेको एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई परेपछि घर्तीको नाम अन्तिममा सूचीबाट हटेको माओवादीका एक नेताले बताए । ‘अझै पनि उहाँको प्रयास जारी नै छ,’ उनले भने, ‘आज हटे पनि भोलिसम्म थपिन सक्छ ।’

माओवादीले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको थियो । माओवादीका ४ मन्त्रालयमध्ये १ मन्त्रालय नेकपा (एस)ले पाउने छ । नेकपा (एस)बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन् । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ ।

त्यस्तै ४ मन्त्रालय पाएको कांग्रेसले पनि दुई मन्त्रीको नाम टुंगो लगाएको छ । एक मन्त्रीको नाम छान्न केन्द्रमा अनुरोध गरेको छ । कांग्रेसले पनि शुक्रबार बिहानसम्म सबैको नाम टुंगो लगाउने छ । कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ । शुक्रबार वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय गरेको छ ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानाबीच सहमति हुन नसकेपछि टुंगो लगाउन केन्द्रमा पठाएको छ । त्यस्तै कांग्रेसले पाएको दुई राज्यमन्त्रीमा पनि अर्घाखाँचीकी निर्मला क्षेत्री र कपिलबस्तुकी रिना नेपालसहित अन्य दुई पुरुषको दाबी भएपछि व्यक्ति छनोट गर्न केन्द्रसँग नै अनुरोध गरेको छ ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ । त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।

प्रकाशित : आश्विन २१, २०७८ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?