बजारलाई छोएन चाडबाडले

ग्राहक अभावमा सुस्तायो व्यवसाय
पसलभाडा नै नउठ्ने चिन्तामा व्यवसायी
मधु शाही

बाँके — नेपालगन्जको घरबारी टोलका फेन्सी व्यवसायी नारायण पौडेलको अधिकांश समय अहिले पसलमा मोबाइल चलाएर बितेको छ । पर्व नजिकिएसँगै उनले नयाँ सामान थपेका छन् । तर, किनमेल गर्ने मान्छेको कमीले उनी फुर्सदिला बनेका हुन् । बजारमा ग्राहक नआएपछि मोबाइल चलाउने र टिकटक बनाउँदै टाइम पास गरिरहेको उनले सुनाए ।

बजारलाई छोएन चाडबाडले

यसअघि चाडपर्व सुरु भएसँगै नेपालगन्जका बजार रंगीचंगी हुन्थे । किनमेलका लागि बजारमा मानिसहरूको भीड लाग्थ्यो । विशेष छुट र सेल बजारले ग्राहक उत्साहित हुन्थे । सुदूरपश्चिम र मध्यपश्चिमको व्यापारिक केन्द्र मानिने नेपालगन्ज अहिले त्यस्तो छैन । दसैं सुरु हुन ३ दिन मात्रै बाँकी छ तर यहाँका व्यवसायी ग्राहकको पर्खाइमा सुस्ताउन वाध्य छन् ।

नेपालगन्जको फेन्सी बजार भनेर चिनिने घरबारी टोल सुनसान छ । व्यापारीले चाडपर्व सुरु भएको उत्साहमा पसलमा सामान भरिभराउ गरे पनि मान्छेको चहलपहल नहुँदा बजार सुनसान बनेको हो । लामो समयदेखि पुर्ख्यौली व्यापार गर्दै आएका नारायणले विगतमा व्यापारको रौनक बेग्लै हुने गरेको सुनाए । उनका पुर्खा नेपालगन्जमा व्यापारको भविष्य देखेर बाग्लुङदेखि बसाइँ सरी यहाँ आएका हुन् । ‘तीज सुरु भएसँगै व्यापार पनि बढ्ने र कपडा बेच्न भ्याइनभ्याइ हुन्थ्यो । त्यो क्रम मंसिरसम्मै चल्थ्यो,’ उनले भने, ‘अब विगत सम्झेर भएन । पछिल्लो दुई वर्षयता महामारीको प्रभावले हो वा के कारणले हो, व्यापार ठप्पजस्तै छ ।’ खास गरी विभिन्न दुर्गम क्षेत्रबाट नेपालगन्जमा अध्ययन गर्न आउने विद्यार्थीले यहाँको व्यापारमा ठूलो प्रभाव पारेका थिए । कोभिड लागेपछि शैक्षिक संस्था बन्द भए । विद्यार्थी घर फर्किएका छन् । दसैं बिदामा घर जाने बेला विद्यार्थीले नै धेरै किनमेल गर्ने गरेको नारायणलाई सम्झना छ । ‘तर, अहिले विद्यार्थीको मुखै देख्न पाइएको छैन,’ उनले भने, ‘अहिले त दिनभरिमा यसो दुई–चार जना ग्राहक पसलमा आए भने पनि खुसी हुनु पर्ने स्थिति छ ।’

घरबारी टोलकै फेन्सी व्यापारी राजन महतले पर्व लक्षित गरेर पुराना कपडा छुटसहित सेलमा राख्थे । अहिले उनी छुट दिने अवस्थामा छैनन् । गत वर्षकै माल नकटेकाले घाटै लागेर व्यापार गर्न नसकिएको उनले सुनाए । घरबारी टोल, न्युरोड, बागेश्वरी, बसपार्क, त्रिभुवन चोकलगायत स्थानमा दसैं र तिहार विशेष छुटको कुनै रौनक देखिँदैन । बागेश्वरी छेउमा १० वर्षको व्यापार अनुभव बटुलेका जयकिसन बस्नेतले दसैंमा कामको लोड पर्ला भनेर दुई जना कर्मचारी थपे । यद्यपि उनले सोचेजस्तो व्यापार हुन सकेन । उनको अनुभवमा दसैंमा सबैभन्दा बढी सामान किनमेल हुन्छ । गत वर्षजस्तै यस वर्ष पनि व्यापार खल्लो भइरहेको हुँदा उनी निराश छन् ।

पुष्पलाल चोककी फेन्सी व्यापारी शर्मिला बहराले दिनभरि पसलमा बसेर खाजा खर्च जुटाउन पनि मुस्किल परेको बताइन् । कोभिड महामारीका कारण मान्छेहरू हिंडडुल गर्नमा कमी आएको उनले सुनाइन् । सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण उनको पसलका स्थायी ग्राहक हुन् । अहिले उनले त्यस्ता रैथाने ग्राहक नै देख्न नपाएको बताइन् ।

यता न्युरोडमा खोलिएका बुटिक शैलीका पसल समेत उस्तै सुनसान छन् । महँगो सजावट गरेर पसल चिरिच्याट्ट पारिए पनि ग्राहक अभाव भने उस्तै छ । न्युरोडकी बुटिक डिजाइनर रोशनी बस्नेतले यस वर्ष ७० प्रतिशत व्यापार घाटा भएको सुनाइन् । बुटिकमा रोजेर डिजाइन गरेर सिलाउने परम्परा बस्न थालेको थियो । कोभिडपछि मान्छेले लुगामा खासै खर्च गर्न नचाहेको उनले बताइन् । ‘बुटिक चलाउनै गाह्रो भयो, दसैंमा पसलको भाडा उठाउन समेत सास्ती छ,’ उनले भनिन्, ‘यस्तै हो भने व्यवसाय नै परिवर्तन गर्ने सोचमा छु ।’

प्रकाशित : आश्विन १८, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?