कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

शीत भण्डारमै उम्रिए आलु

माधव अर्याल

पाल्पा — रामपुर–७ की अगुवा किसान यमकान्ती गौतमले ५० किलोका १ सय २० बोरा आलुको बीउ शीत भण्डारमा राखेकी थिइन् । जसमा अहिले एक बित्ता लामा टुसा पलाएका छन् । 

शीत भण्डारमै उम्रिए आलु

जनकदेव, टीभीएस र बैजनी जातको आलुको बीउ भण्डारण गरेकी गौतम अहिले तनावमा छिन् । ‘आलुको बीउ शीत भण्डारमा देख्दा आँसु आयो,’ उनले भनिन्, ‘झन्डै ९ देखि १० लाख रुपैयाँको क्षति भयो ।’ बीउ आलु जनकदेव १ सय ३०, टीभीएस १ सय ६० र बैजनी ३ सय ५० रुपैयाँ प्रतिकिलो छ ।

रामपुर–६ का सूर्य, गणेश र लेखनाथ रेग्मीको १ सय ३ बोरा आलुको अवस्था पनि उस्तै छ । आलु निकाल्न जाँदा पूरै टुसा उम्रिएको देखेको उनीहरूले बताए । आलु लगाउन दुई महिना बाँकी छँदै यसरी उम्रिएपछि बीउको अवस्था राम्रो नभएको किसान गणेश रेग्मीले बताए । ‘सुरुमा पनि दुई महिना ढिला गरी शीत भण्डारमा राखियो,’ उनले भने, ‘भैरहवा लैजाने तयारी गर्दागर्दै रामपुरमै राख्न पाइन्छ भनेर खुसी भइयो तर अहिले यस्तो अवस्था आयो ।’

रामपुर नगरपालिकामा लुम्बिनी प्रदेश सरकारले गत वर्ष शीत भण्डार निर्माण गरेको हो । ३ करोड २६ लाख रुपैयाँको लागतमा ३ सय टन क्षमताको शीत भण्डार सञ्चालन भएपछि यस भेगका किसान खुसी भएका थिए । आलु भण्डारणका लागि भैरहवा र स्याङ्जाको गल्याङस्थित जिमुवा धाउन पर्ने बाध्यता हटेकाले किसान खुसी भएका हुन् । ‘रामपुरमै शीत भण्डार भएपछि खुसी नहुने कुरै भएन,’ अगुवा किसान सूर्य रेग्मीले भने ।

स्थानीय सरकारले शीत भण्डारको परीक्षण नगरीकन भण्डारण सुरु गरेकाले समस्या आएको किसान दिनेश खनालले बताए । रम्भा–१, हुँगीकी भगवती अधिकारी न्यौपानेले वार्षिक २ लाख ५ हजार रुपैयाँमा ठेक्का लिएकी हुन् । अहिले बिजुलीको बिल नै ८० हजार रुपैयाँ आएपछि उनी पनि हैरान छन् । किसानले प्रतिबोरा ३ सय रुपैयाँ तिर्ने गरी शीत भण्डारमा आलु राखेका थिए । शीत भण्डारमा २ हजार ९ सय बोरा आलु रहेको सञ्चालक न्यौपानेले बताइन् ।

दुई वर्ष यता रामपुर नगरपालिकाले आलु पकेट क्षेत्रका रूपमा वडा ६ लाई अघि बढाएको हो । रामपुर नगरपालिकामा मात्रै गत आर्थिक वर्षमा आलु ब्लक कार्यक्रम सञ्चालन भएको थियो । कृषि ज्ञान केन्द्र, वडा कार्यालयबाट आलु उत्पादन बढाइएको हो ।

रामपुर नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार शीत भण्डारमा राखेको आलुमा टुसा लागेपछि किसान मर्कामा परेका छन् । ‘प्राविधिकलाई खबर गरिसकेका छौं,’ वडाध्यक्ष न्यौपानेले भने, ‘तापक्रम नमिलेर हो वा अन्य कारणले हो भन्ने पत्ता लगाउन अझै सकिएको छैन ।’ रामपुरका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले पनि कारण पत्ता नलागेको बताए । पाल्पाका कृषि प्रसार अधिकृत शिव बन्जाडे र बागवानी विकास अधिकृत समीर बरै मगर अध्ययनका लागि रामपुर पुगेका छन् ।

तस्बिर सौजन्य : इमानसिंह राना

प्रकाशित : आश्विन १७, २०७८ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?