कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

श्रीमती र छोराछोरीको कुटपिटबाट मृत्यु

गगनशिला खड्का

गुल्मी — श्रीमती र छोराछोरीको कुटपिटबाट गुल्मीको रुरु गाउँपालिकामा ४७ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । रुरु गाउँपालिका-१ डाँडीपोखरीका ४७ वर्षीय रमेश ज्ञवालीको आफ्नै श्रीमती र छोराछोरीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

सामान्य विवादमा गत असोज ९ गते परिवारका सदस्यले कुटेर घाइते बनाएका ज्ञवालीको उपचारको क्रममा बुधबार मिसन अस्पताल पाल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटका कारण ज्ञवाली घाइते भएपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । तर अवस्था गम्भीर बन्दै गएका कारण मंगलबार पाल्पा रिफर गरिएको र अस्पतालमै उनको मृत्यु भएको थियो । घटनाको बारेमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षक नविन मरासिनीको टोलीले अनुसन्धान गर्दा कुटपिटबाट मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।

परिवारले उपचारकै क्रममा मृत्यु भएको भनेपनि आफन्तले हत्याको आरोप लगाएपछि विवाद भएको थियो । त्यसपछि आफन्तको दबाबमा फरेन्सिक जाँचको लागि ज्ञवालीको शव बुटवल लगिएको थियो।

प्रहरीले कुटपिटमा संलग्न उनकी श्रीमती पुष्पालाई नियन्त्रणमा लिइसकेको छ । बुधबार पाल्पाबाट नियन्त्रणमा लिएर गुल्मी ल्याइएकी उनलाई बिहीबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धानका लागि थुनामा राखिएको डीएसपी पाण्डेले बताए ।

यसैबीच, हराएको १६ दिनपछि गुल्मीको मालिका गाउँपालिकाका एक व्यक्तिको शव फेला परेको छ । भदौ २८ गतेदेखि हराएका मालिका गाउँपालिका– ७ घमिरका ३१ वर्षीय लेखनाथ पन्थीको बिहीबार घर नजिकैको गरेङखोलाको जंगलमा शव भेटिएको डीएसपी पाण्डेले जानकारी दिए ।

प्रकाशित : आश्विन १४, २०७८ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?