१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

निःशुल्क खाना महोत्सव

कान्तिपुर संवाददाता

कपिलवस्तु — लुम्बिनीमा पाँचदिने निःशुल्क शाकाहारी खाना महोत्सव आयोजना गरिएको छ । नेपाली र थाई उपासक–उपासिकाद्वारा सञ्चालित विश्व प्रकाश प्रतिष्ठानले लुम्बिनीस्थित रोयल थाई विहारमा गत बिहीबारदेखि सबैका लागि थाई र नेपाली खाना निःशुल्क खुवाएको हो । महोत्सव सोमबार सकिँदैछ । 

निःशुल्क खाना महोत्सव

सोच र विचारमा शुद्धता ल्याई खुसीसँग बाँच्न सिकाउने उद्देश्यले पूर्ण शाकाहारी अर्थात् भेगान खाना महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएका छन् । दैनिक ६ नेपाली र ६ थाई परिकार ख्वाइएको थियो । दाल–भातबाहेक फरक–फरक परिकार पकाइएकामा दैनिक २ सय ५० देखि ३ सय ५० जनाको हाराहारीमा मानिसहरू खाना खान आएको आयोजकको दाबी छ ।

‘नेपालीमा शाकाहारी खाना भनेको आलुमात्र हो भन्ने बुझिन्छ,’ प्रतिष्ठानकी कोषाध्यक्ष मिनथिरा लामाले भनिन्, ‘यहाँ पकाइएका पोषिला र उपयोगी खानाले धेरैलाई आकर्षित गरेको पायौं ।’ भिगन फिस माछाजस्तो देखिन्छ तर सोयाबिनबाट बन्छ । भिगन अण्डा अण्डाजस्तो देखिन्छ तर दालबाट बन्छ । भिगन चिकेन कुखुराको मासुजस्तो देखिन्छ तर मसरुमबाट बन्छ । यस्ता धेरै शाकाहारी परिकारबारे सचेतना फैलाउन पनि अभियान सञ्चालन गरेको लामाले सुनाइन् ।

नेपालगन्जबाट लुम्बिनी घुम्न आएका बीबीए चौथो सेमेस्टर अध्ययनरत किशोर देवकोटाले थाई शाकाहारी परिकारको स्वाद लिन पाउँदा खुसी लागेको बताए । ‘थाई मन्दिर घुम्न गएका बेला खान निमन्त्रणा पायौं,’ उनले भने, ‘६ जना साथीले आनन्दले खायौं । थाई शाकाहारी परिकारले गज्जबले लठ्यायो ।’ शाकाहारी खानामा प्याज र लसुनसमेत प्रयोग नगरे पनि खानाका परिकार उस्तै स्वादिष्ट र मिठासपूर्ण रहेको लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणी शर्माले सुनाए । निःशुल्क खाना महोत्सवले लुम्बिनी आउने थाई पर्यटकलाई कसरी खानामा आकर्षित गर्न सकिन्छ भनेर सिक्ने अवसर मिलेको होटल व्यवसायी किरणचन्द्र पौडेलले बताए ।

लुम्बिनी क्षेत्रमा शाकाहारी खानालाई प्रवर्द्धन गर्न सकिए बुद्ध जीवनीले सार्थकता पाउने संस्थाका सचिव विनोदकाजी तुलाधरले बताए । ‘बुद्धले शान्ति र अहिंसामा जोड दिनुभएको थियो,’ उनले भने, ‘यस्तो ठाउँमा शाकाहारी खाना खाने बानी बसाल्नुपर्छ ।’ सात्विक भोजन शान्ति, एकाग्रता, करुणा, प्रेम र दयाजस्ता गुणका लागि प्रभावकारी मानिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । ‘शाकाहारी भोजनमा मानिसको रोग प्रतिरोधात्मक क्षमता मांसहारीको भन्दा बढी हुन्छ,’ उनले भने ।

प्रकाशित : आश्विन ११, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?