अर्घाखाँचीमा देउवाका एक र पौडेल पक्षका चार उम्मेदवार विजयी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँचीमा देउवाका एक र पौडेल पक्षका चार उम्मेदवार विजयी

वीरेन्द्र केसी

‍अर्घाखाँची — कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्माको गृहजिल्ला अर्घाखाँचीका ६ स्थानीय तहमध्ये चार पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विजयी भएका छन् ।


वीरेन्द्र केसी

अर्घाखाँची– सितगंगा नगरपालिकाको नगरसभापतिमा मोहन पन्थी विजयी भएपछि शेरबहादुर देउवा निकटका कांग्रेस केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र मानबहादुर विश्वकर्माको गृह जिल्लामा ६ स्थानीय तहमध्ये एक देउवा, चार रामचन्द्र पौडेल र एक तटस्थ रहेका छन् ।

पन्थीका निकटम प्रतिस्पर्धी मोती बेल्वासेलाई ३७ मत अन्तरले पछाडी पार्दै पन्थी सभापतिमा आइतबार भएको निर्वाचनमा विजयी भए । पन्थीले १ सय ४३ मत ल्याए । बेल्वासेले १ सय ६ मत ल्याए । पन्थीलाई देउवा प्यानलकी पुष्पा भुसालले सहयोग गरेकी थिइन । पन्थी प्यानलका पदाधिकारीमा एक सचिवले मात्रै जिते भने अरु सबै बेल्वासे प्यानलबाट विजयी भए ।

शनिबार सम्पन्न अधिवेशनमा विजयी भएका भूमिकास्थान नगरसभापतिमा खडानन्द बेल्वासे, सन्धिखर्क नगरपालिकाका सभापति बाबुराम भुसाल, मालारानी गाउँपालिकामा शोभाखर खनाल, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका जिल्ला सभापति विष्णुप्रसाद खनाल पक्षका हुन् । पाणिनि गाउँपालिकाका सभापति तुल्सी पौडेलले कुनै समूहमा नखुल्ने र आफू तटस्थ बस्ने बताए । उनलाई दुवै समूहले आ-आफ्नो दाबी गरेका छन् ।

जिल्ला सभापतिमा पौडेल समूहबाट वर्तमान सभापति विष्णुप्रसाद खनाल र देउवा पक्षबाट महासमिति सदस्य यादवप्रसाद घिमिरे सभापतिका उम्मेदवार घोषणा गरेका छन् । सभापतिमा अर्का दुई उम्मेदवार केशव श्रेष्ठ र इन्द्रमणि पौडेल पनि छन् ।

प्रकाशित : आश्विन १०, २०७८ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

पोखरी भर्न चौकीदारी

वीरेन्द्र केसी

अर्घाखाँची — गाउँमा सिँचाइ व्यवस्थाका लागि धेरै सरकारी निकाय गुहारे । सबैतिरबाट छिट्टै उपलब्ध गराउने आश्वासन पाए । तर, योजना कसैले पारिदिएनन् । सन्धिखर्क नगरपालिका–९ का पुष्करनाथ बन्जाडे यस्ता आश्वासनले गलेका थिए । पाखोबारीभरि तरकारी खेती लगाएका छन् । वर्षामा आवश्यक नपरे पनि हिउँदमा तरकारीलाई पानी चाहिन्छ । 

त्यसैले उपाय लगाए प्लास्टिकका पोखरी बनाएर आकाशे पानी संकलन गर्ने । त्यसैले वर्षाभरि उनी दिनरात आकाशे पानीको पर्खाइमा रहे । दुई लाख लिटर अट्ने प्लास्टिक पोखरीमा उनले आकाशको पानी जम्मा गरेका छन् । घर, गोठको छानोमा डुँड बनाएर पोखरीमा पानी खसाल्छन् । ‘सिँचाइका लागि मात्र होइन, हिउँदमा खानेपानीका लागि कुवा चहार्नुपर्छ,’ उनले भने, ‘१२ रोपनी पाखोबारीमा तरकारी खेती गर्छु । अहिले पोखरीमा पानी जम्मा गर्छु र हिउँदमा थोपा सिँचाइबाट तरकारी फलाउँछु ।’

राति निन्द्राबाट ब्यूझिँदा आकाशबाट पानी परेको थाहा पाउने बित्तिकै पोखरीतिर दौडिन्छन् । बर्खाभर पोखरीमा पानी जम्मा गर्न चौकीदारी गर्छन् । आकाशबाट ठूलो पानी पर्दा खुसी हुन्छन् । पोखरीमा पानी थपिन्छ । गत वर्ष पोखरी भर्न मुस्किल भयो । धेरै वर्षा भएन । यसपालि पानी धेरै परेकाले पोखरी आधाभन्दा धेरै भरिन थालेका छन् । छानोको सङ्लो पानी भर्छन् । त्यही पानीमा गाई र भैंसीको पिसाब मिसाउँछन् । ‘पानी र पिसाब मिसाएर सिँचाइ गरेपछि तरकारीका बोटमा मल धेरै राख्नुपर्दैन,’ उनले भने, ‘पिसाबले मलको भन्दा राम्रो काम गर्छ, उत्पादन दोब्बर हुन्छ ।’ पिसाब सिधै ड्रममा जाने बनाएका छन् । सुधारिएको भकारो छ । पिसाब मिसाएर सिँचाइ गरेपछि धेरै पानी पनि आवश्यक नपर्ने उनको तर्क छ ।

हिउँदमा तरकारी अवलोकन गर्न आउने कृषि अधिकृत, प्राविधिक, जनप्रतिनिधि, नेता, सरकारी कर्मचारी र कृषक खानेपानी नै अभाव भएको गाउँका पाखोबारीमा बेमौसमी तरकारी लटरम्मै फलेको देख्दा दंग पर्छन् । धेरैले जिज्ञासा राख्छन् । ‘गरेपछि सुख्खा बारीमा पनि असम्भव भन्ने हुँदैन,’ बन्जाडेले भने, ‘बर्खाभर पोखरीमा पानी जम्मा गर्ने, हिउँदमा तरकारी फलाएर आम्दानी गर्ने गर्छु ।’ गाउँमा बर्खामा धेरैले तरकारी खेती गरे पनि उनले हिउँदमा बढी फलाउँछन् । अहिले बारीमा मकै रोपेका छैनन् । अहिले घिरौंला, करेला, भिण्डी, लौका, काँक्रो, फर्सी, तीतेकरेला लगायत तरकारी फलेका छन् । विषादीमुक्त तरकारी उत्पादन गर्दा अर्गानिक भन्दै बजारबाट किन्न घरमै ग्राहक आउने उनले बताए ।

छत्रदेव गाउँपालिका–३ का विष्णुप्रसाद भुसालले पनि ४० हजार लिटर अट्ने प्लास्टिक पोखरी बनाएका छन् । बर्खाभर आकाशको पानी जम्मा हुन्छ । ‘हिउँदमा साग, काउली, बन्दा र आलुमा सिँचाइ पुग्छ,’ गोखुंगाका विनोद घमले भने, ‘सिँचाइ अभावमा अब जाँगर चले हिउँदमा पनि बारी खाली गर्नुपर्दैन । उत्पादन राम्रो हुन्छ ।’ अर्घाखाँचीका धेरै गाउँमा पानी अभाव भएपछि प्लास्टिक पोखरी बनाएर बर्खाको पानी जम्मा गरिन्छ । गर्मीको बेला धारामा पानी सुक्ने, एक गाग्री पानीका लागि कुवा चहार्नुपर्ने बाध्यता छ । ‘बर्खामा पानीका भेल बग्छन्,’ स्थानीय विमला थापाले भनिन्, ‘त्यही पानी जम्मा गरेपछि हिउँदलाई सिँचाइ पुग्छ । पिउनका लागि दुई/तीन घण्टा कुवा धाएर ल्याइन्छ, गाईबस्तु र सिँचाइलाई यही पानीले पुग्छ ।’

स्थानीय तह र कृषि ज्ञान केन्द्रले प्लास्टिक पोखरी निर्माण गर्न लगानी गरेका हुन् । ‘प्लास्टिक पोखरी बनाऐपछि हिउँदे तरकारी र बाली फस्टाएको छ,’ छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘यो प्रविधि अब घरैपिच्छे लागू गर्छौं ।’ माटोको पोखरीमा हिउँदमा पानी घट्ने भएकाले प्लास्टिक पोखरीलाई प्राथमिकता दिएको उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×