जसले गुमनाम जीवन गुमाए

सशस्त्र द्वन्द्वपीडितको घरदैलोमा फर्केन खुसी र शान्ति
काशीराम डाँगी

रोल्पा — माओवादीको लामो सशस्त्र द्वन्द्व सकिएपछि अधिकांश कार्यकर्ता साधारण जीवन व्यवहारमा फर्किए । सामाजिक पुनःमिलन गरेर साधारण जीवन शैलीसमेत अपनाए । केही भने राजनीतिमै सक्रिय छन् । चाहे लडाकु सेना होऊन् या नेता–कार्यकर्ता, सबैलाई सशस्त्र द्वन्द्वको रापिलो तापबाट साधारण जीवनशैली अँगाल्न कम्ती चुनौती देखिएन । 

जसले गुमनाम जीवन गुमाए

वर्षौंअघि त्यागेर हिंडेको घरमा पुनः फर्कनु, परिवार र छरछिमेकसँग पुरानै सम्बन्ध स्थापित गर्नु र पुरानै कामकाजको मेसोमा अभ्यस्त हुनु लडाकुका लागि झन् सामान्य अवस्था थिएन । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएकाहरूका सम्झनामा सरकारी पक्षबाट गेट, पार्क, मूर्ति निर्माण गरिएको छ । उनीहरूका परिवारलाई राहत प्रदान गरिएको छ । अझ नेता छवि बनाएकाको मृत्युपछि तिनको नाममा सडक, पार्क र अन्य विकास योजनाको नामकरण गरिएको छ । तर, निकै कष्ट सहेर बाँचेका र बाँच्न नसकी ज्यान गुमाएकाहरूका लागि कसले सोच्ने ? विगतमा द्वन्द्व भोगेर शान्ति प्रक्रिया आएपछि समाजमा पुनःजागरणमा आफूलाई उभ्याउन नसकेका केही नेता र लडाकुहरूले जीवनबाट हार खाए । त्यस्ताले शान्ति अवधिमा बाँच्न नसकेरै प्राण त्याग गरे, जसका बारेमा न राज्यले न त सरकारले नै अभिलेख राखेको छ । शान्ति सम्झौतामार्फत तत्कालीन सशस्त्र द्वन्द्वको समाधान त खोजियो तर पीडितका घरदैलोमा अझै खुसी र शान्ति अनुभव हुन सकेको छैन ।

२०६२/६३ को शान्ति सम्झौतालगत्तै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आइसकेपछि पश्चिम रोल्पाको नुवागाउँस्थित ह्याङ गाउँका तुलसीराम बुढामगर जीवनले घरमै आत्महत्या गरे । सशस्त्र द्वन्द्वको अवधिभर भूमिगत भएर ‘वर्गीय संघर्ष’मा भाग लिएका उनी अन्ततः शान्ति प्रक्रियापछि आफ्नै पुरानै घरमा फिर्ता भए । पार्टीका नेताहरू सत्ताका लागि ‘जोडघटाउ’ गरिरहेका देखेपछि जीवनले घर फिर्ता भएर सामान्य जीवन बाँच्ने निधो गरे । त्यस क्रममा छोराछोरी पढाउन नसक्ने अवस्था आएपछि उनले घरमै झुण्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो । सत्तामा पुगेपछि टुटफुट भएको माओवादीको अर्को धार बैद्य पक्षमा लागेका जीवनको आत्महत्या प्रकरणबारे पार्टीले समेत बेग्लै अनुसन्धान र छानबिन गर्ने निर्णय गर्‍यो । उक्त धारका तत्कालीन नेता केशबहादुर बाँठा मगर ‘सुवास’ का अनुसार युद्धबाट फर्केर घर गएपछि आइपरेका समस्याका कारण जीवनबाट उनले हार खाए र ‘आत्महत्या’ रोजे । ‘बाँच्दासम्म वर्ग संघर्षका पक्षमा आन्दोलन गरे,’ उनले भने, ‘तर, मूल नेतृत्व नै विचलित भएपछि कार्यकर्तामाथि आपत् आइलाग्यो ।’ सुवास हाल नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज छन् ।

लामो समय पार्टी राजनीति र केही समय लडाकु बनेर ‘जनमुक्ति सेना’मा सहभागी भएर योगदान गरेका त्रिवेणी–५ जुगारका गणेश विकले गत साउनमा घरमै आत्महत्या गरे । सत्ता पक्षीय माओवादी केन्द्रका जिल्ला सदस्यसमेत रहेका विकले आत्महत्या रोज्नुअघि जिउने सहज अवस्था नदेखेपछि आफन्तसँग हारगुहार र गुनासो गरेका थिए । ‘जीवनभर पार्टी र नेताका लागि काम गरे, आफूलाई आपत् पर्दा कसैले हेरेन,’ उनको मृत्युबारे माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र घर्तीमगरले भने, ‘राजनीतिबाट विचलित भएपछि अनपेक्षित मृत्युलगायतका घटना हुने गरेका छन् ।’

पार्टीमा टुटफुट, विचलन, असमान व्यवहार तथा असमान अवसरका कारण कैयौं कार्यकर्ता अहिले निराश छन् । बढ्दो निराशा, विचलन, कुण्ठा, विभाजन र जीवनप्रतिको आशा हराएपछि अधिकांश कार्यकर्ता विचलनमा देखिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी दिनेशविक्रम चन्दले बताए । कम्युनिस्ट राजनीतिको सुरुआत गर्दा नेतृत्वद्वारा व्यक्त गरिएका आश्वासन पूरा गर्न नसक्दा कार्यकर्तामा विचलन आएको चन्दको निष्कर्ष छ । राजनीतिमा निरन्तर लागेर शान्ति प्रक्रियापछि घर फर्कंदा मध्यम र निम्न मध्यम वर्गका व्यक्तिमाथि थप मार पर्‍यो । पार्टीभित्रको अन्तरसंघर्ष, नेतृत्वबीच खटपट र कार्यकर्ताको मनोभावना बुझ्न नसक्नुले बेचैनी देखिएको उनले बताए । शान्ति प्रक्रियापछि समाजमा हैसियत स्थापना गर्न नसकेपछि ‘बेपत्ता’ भएका त्रिवेणी–३ बुढागाउँ लिङदुङ निवासी बेदबहादुर बुढामगर ‘प्रशान्त’लाई परिवारले खोजी गर्न थालेको चार वर्ष भयो । ‘उहाँ कहाँ हुनुहुन्छ भन्ने जानकारी छैन । घर–परिवारले निरन्तर खोजी गरे पनि फेला पर्नु भएको छैन,’ उनका ज्वाइँ टेकेन्द्र केसीले भने । तर, उनी आबद्ध चन्द नेतृत्वको नेकपाका रोल्पा इन्चार्ज सुवासले उनी पार्टीको सम्पर्कमा समेत नरहेको बताए । ‘उहाँ घरबाट निस्केर नेपालभित्र वा भारतमा पुगेर सम्पर्कविहीन बसेको हुन सक्ने अनुमान छ । सम्पर्कमा आए राम्रो हुन्थ्यो,’ उनले भने । पार्टी स्रोत र आफन्तका अनुसार घर व्यवहार चलाउन नसकी उनी लुकेर बसेको हुन सक्ने भएकाले परिवारले पार्टी र सामाजिक सञ्जालमार्फत खोजी गरिदिन आग्रह गरेको हो ।

इमानदार भएर सशस्त्र द्वन्द्वमा सहभागी भएका अधिकांश कार्यकर्ताको अवस्था अहिले दयनीय छ । सामान्य अवसरसमेत पाउन नसकेका धेरैजसो कार्यकर्ता कष्टपूर्ण जीवन जिउँदै आएका छन् । घाइते, अपांग, बेपत्ता व्यक्तिका परिवार र पार्टी र सरकारको दृश्यमा नपरेका ‘होनहार’ कार्यकर्ता जटिल समस्यासँग जुध्दै आएका छन् । स्थानीय प्रशासनका अनुसार संक्रमणकालीन न्याय पाउनका लागि टुहुराका १ सय ८, अपहरणका ३ सय ४, घाइतेका १ सय १८, अपांगका ४ सय ६६, विस्थापितका ३ हजार ५ सय १०, सम्पत्ति लुटिएका ३ हजार १०, व्यक्तिगत भौतिक संरचना ध्वंश ३ सय ५, बेपत्ताका ५२, मृतकका १ हजार २१ र कैद हिरासतका ८० वटा निवेदन दर्ता भएका छन् । ती सबै निवेदन आयोगमार्फत छानबिन गर्ने उद्देश्यले शान्ति मन्त्रालयमा सिफारिसहित पठाइएको हो । रोल्पामा द्वन्द्वका बेला पति गुमाएका करिब ३ सय विधवा महिला पनि छन् । त्यस अवधिमा रोल्पामा करिब १ हजारले ज्यान गुमाएका थिए ।

प्रकाशित : आश्विन १०, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?