ज्वरोले परिवारै थला

रूघाखोकी र ज्वरोको कोरोनासँगै मिल्दोजुल्दो लक्षण
बालबालिका बढी प्रभावित

लुम्बिनी/बाँके/कपिलवस्तु/परासी/अर्घाखाँची/बर्दिया — गत सोमबार रुघाखोकी सुरु भयो । दुई दिनसम्म बेवास्ता गरिन् । तेस्रो दिन ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्न थाल्यो । रूपन्देहीको बुटवल–१७ की सुमित्रा सुनारलले नजिकै मेडिकलमा जँचाएर ज्वरोको औषधि खान थालिन् । उनलाई बिसेक भएजस्तो हुँदैछ । अब त्यस्तै लक्षण श्रीमान् शालिकराम र छोरा अजयमा पनि देखिएको छ । ‘परिवारका सबैलाई सर्‍यो,’ उनले भनिन्, ‘जोगिए पनि रुघा सर्ने रहेछ ।’ 

ज्वरोले परिवारै थला

तिलोत्तमा–६ का नारायण बस्ताकोटी र परिवारका सदस्य आठ दिनदेखि थला परेका छन् । ज्वरो आउने, टाउको दुख्ने र खाना नरुच्ने समस्या छ । सुरुमा नारायणलाई ज्वरो आयो र त्यसपछि परिवारका पाँच जना बिरामी छन् । ‘एक/एक दिन बिराएर घरभरिकालाई ज्वरो आयो,’ उनले भने, ‘कोरोनाको डरले घरबाहिर निस्किएनौं, एक्कासि बिरामी परियो ।’ ज्वरो आएपछि कोरोनाको आशंकामा जाँच गराउँदा संक्रमण नदेखिएपछि भाइरल पुष्टि भएको उनले बताए ।

पश्चिम नवलपरासीको रामग्राम–४ का सन्दीप चौधरीको घरमा बाबुआमादेखि छोराछोरीसम्म सबैलाई ज्वरो र खोकीले सताएको छ । दुई दिनसम्म ज्वरो आएपछि कोरोना संक्रमणको आशंकामा जिल्ला अस्पताल परासीमा जचाउन पुगे । चिकित्सकले सिजनल फ्लु भन्दै सामान्य औषधि दिएर फर्काए । ‘जताततै कोरोनाको डर छ, ज्वरो आउँदा नि संक्रमणको डर मान्नुपर्ने,’ उनले भने, ‘जिल्ला अस्पताल पुगेर पीसीआर परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन, सामान्य औषधि लिएर फर्कियौं ।’

अर्घाखाँचीको छत्रदेव–६ ठूलापोखराका चेतबहादुर कुँवरका १० जनाको परिवार ज्वरोले थलिएका छन् । एक सातादेखि दुई छोरा, तीन बुहारी, नाति–नातिना सबै सातादेखि ज्वरोले ग्रस्त छन् । ठूलापोखरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाट उपचार गराइरहेका छन् । ‘परिवारको एक जनाबाट सुरु भएको ज्वरो सबैलाई सर्‍यो,’ उनले भने, ‘ज्वरो आउने, छाती दुख्ने समस्या छ ।’

सुर्खेतको छिन्चुकी रानी परियार तीज मनाउन छोरी लिएर बाँकेको कोहलपुरस्थित माइत आएकी थिइन् । केही दिन रमाइलो मानिरहेकी छोरी अचानक बिरामी परिन् । हनहनी ज्वरो आउने, खोकी लाग्ने र खान मन नपर्नेजस्ता लक्षण देखिन थाले । उपचार गर्न मेडिकलदेखि धामी–झाँक्रीसमेत गरिन् । अरु बेलाजस्तो औषधि खुवाएपछि तुरुन्तै प्रभाव पनि देखिएन । कोहलपुर मेडिकल अस्पतालमा उपचार गराएको एक सातापछि मात्रै छोरीको रुघाखोकीले विश्राम लियो । पाँच दिनको बिदा मागेर माइत आएकी रानी छोरी उपचार गर्दा एक सातापछि घर गइन् । ‘यस्तो डरलाग्दो ज्वरो अहिलेसम्म आएको थिएन,’ उनले भनिन्, ‘खेल्दा खेल्दै अचानक बिरामी भइहाली ।’

केही सातायता भाइरल ज्वरो र रुघाखोकीले बालबालिकालाई सताइरहेको छ । एक जना बिरामी भएको बच्चा छ भने अर्को नजिकको बच्चालाई तुरुन्तै सरिहाल्ने देखिएको छ । चाडपर्वको भीडभाडमा भाइरल छिट्टै सर्ने गरेकाले दुई सातायता अधिकांश बालबालिकामा ज्वरो, रुघाखोकी र टाइफाइडको समस्या देखिएको चिकित्सकले बताए । कोहलपुर–१२ की विमला गौतमका दुई वर्षका छोरालाई ज्वरोले च्यापेपछि अस्पताल नै भर्ना गर्नु पर्‍यो । सुरुमा दुई दिन रुघा लाग्यो । ठिक भइहाल्छ भन्दै उनले त्यति वास्ता गरिनन् । लगातार तीन दिन खोकी लाग्यो । सँगै ज्वरोले पनि सतायो । चार दिनपछि अस्पताल जाँदा टाइफाइड भइसकेको चिकित्कसले बताए । सास फेर्न समेत समस्या देखिएपछि विमलाले अहिले अस्पतालमा भर्ना गरी छोराको उपचार गरिरहेकी छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका एसोसिएटेड बाल विशेषज्ञ डा. निरज आचार्यका अनुसार पछिल्लो दुई सातायता यहाँका बालबालिकामा भाइरल प्रकोप बढेको छ ।

बालबालिका र किशोरकिशोरी ज्वरोले थलिएपछि कपिलवस्तुका अस्पतालमा बिरामीको चाप छ । जिल्ला अस्पतालमा आउने नयाँ बिरामीमा ५० प्रतिशत बढी भाइरलका बिरामी आउने गरेका छन् । सयदेखि १ सय ३ डिग्रीसम्म ज्वरो आएका बिरामी यहाँ आत्तिदै आइरहेको अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षत्रीले बताए । ‘ज्वरोका लक्षण अनेक छन्,’ उनले भने, ‘निमोनिया, टाइफाइड, घाँटी, आन्द्रा र पिसाबमा समस्या देखिएका छन् ।’ चिकित्सक क्षत्रीका अनुसार यस्ता बिरामीको एन्टिजेन परीक्षण गर्दा एकाधमा कोरोना संक्रमण देखिने गरेको छ । ‘त्यसैले कारण बताउन गाह्रो छ,’ उनले भने, ‘त्यसका लागि अनुसन्धान जरुरी छ ।’ उनका अनुसार जिल्ला अस्पताल दैनिक दुई सय हाराहारी नयाँ बिरामी आउँछन् । त्यसमध्ये आधी बढी ज्वरोले थलिएका आउने गरेका छन् ।

पश्चिम नवलपरासीमा ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । जिल्ला अस्पताल, सरकारी स्वास्थ्य संस्था र निजी क्लिनिकमा चाप छ । ज्वरो आउने, रुघा लाग्ने र खोकी लाग्ने लक्षण देखिएपछि सर्वसाधारण कोरोना संक्रमणको आशंकामा जचाउन आउने गरेका छन् । मौसम परिवर्तनसँगै ज्वरो तथा झाडापखाला, टाइफाइडका बिरामी बढेको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाका अनुसार दैनिक डेढ सयदेखि २ सय बिरामी आउने गरेका छन् । जसमा झाडापखाला, ज्वरो, रुघा र खोकी लाग्ने समस्या बढी छ ।

अर्घाखाँचीमा पछिल्लो दुई सातामा गाउँमा पाँच वर्षमुनिका बालबालिकामा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या, छाती दुख्नेलगायतका बिरामी २० देखि २५ जना दैनिक स्वास्थ्य चौकी आउने गरेको ठूलापोखरा स्वास्थ्य चौकी इन्चार्ज विश्वदेव न्यौपानेले बताए । ज्वरो निको हुन १० दिनभन्दा बढी समय लाग्ने गरेको उनले बताए । घरमा एक जना ज्वरो भाइरलका बिरामी परे दुई/तीन दिनको अवधिमा पूरै परिवार र सम्पर्कमा रहेका अन्यलाई पनि देखा परेकाले गाउँभर बालबालिकामा ज्वरो भाइरल फैलिएको उनले बताए । जिल्लाका धेरैजसो गाउँमा ज्वरो भाइरलका बिरामी छन् । ओपीटीमा दैनिक १ सय ५० जनाजति बिरामी आउने गरेको अर्घाखाँची अस्पताल प्रमुख डा. राजेन्द्र जीसीले बताए । ‘अहिले ज्वरोको सिजन नै हो,’ उनले भने, ‘त्यस्ता बिरामीमध्ये केहीको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिन्छ ।’

एक सातायता मौसम परिवर्तनसँगै जिल्लामा बालबालिकामा भाइरल ज्वरोबाट प्रभावित हुँदै गएका छन् । जिल्लाका अस्पताल र स्वाथ्य चौकी भाइरल ज्वरोका बिरामीले भरिंदै छन् । यहाँका अस्पतालमा उपचार गर्न आउनेमध्ये ४५ प्रतिशत बढी भाइरलका बिरामी रहेका छन् । जिल्लाभर भाइरल ज्वरो छ । मौसम परिवर्तनसँगै भाइरलको प्रकोप बढेको स्वास्थ्यकर्मीले बताए । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले बहिरंग सेवामा आउने करिब ४५ प्रतिशत भाइरल ज्वरोका बालबालिका रहेको बताए । दैनिक २ सय जनाभन्दा बढी बिरामी बहिरंग सेवामा आउने गरेका छन् ।

कोरोनासँगै मिल्दो लक्षण हुने भाइरललाई बेवास्ता गर्दा टाइफाइड र कोरोना संक्रमण हुने खतरा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ जनरल फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । अस्पतालमा आउने २ सय बिरामीमध्ये ७० जना भाइरलका हुने गरेका छन् । सरुवा रोग भएकाले परिवार, समुदाय र भीडभाडबाट सर्ने भाइरलका बिरामीले पनि एकपटक कोरोना जाँच अनिवार्य गराउनुपर्ने उनले बताए । ‘मेडिकलको औषधिका भरमा कोही बस्नु हुँदैन,’ उनले भने, ‘कोरोना र यसमा स्वाद र गन्ध थाहा नपाउनेबाहेक सबै लक्षण मिल्छन्, त्यसैले भाइरल भनिएको रोग कोरोना पनि हुन सक्छ ।’

प्रकाशित : आश्विन १०, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?