अनुदानले कृषिमा आकर्षण

पाल्पा — जिल्लाका स्थानीय तहले उत्पादनमा आधारित अनुदान वितरण गर्न थालेपछि तरकारी, दुध र बाख्रापालन फस्टाएको छ । यहाँका रैनादेवी छहरा, रिब्दीकोट, तिनाउ, रम्भा, माथागढी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिएका हुन् ।

अनुदानले कृषिमा आकर्षण

रैनादेवी छहराले कृषिमा अर्गानिक तरकारी, अकबरे खुर्सानी, फापर खेती, बाख्रापालनमा अनुदान दिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । गाउँपालिकाभित्रका किसानलाई दुधमा प्रतिलिटर र तरकारीमा प्रतिकिलो १ रुपैयाँ ५० पैसाका दरले अनुदान दिइएको छ । यस्तै, मासुमा भने समूहमा खसी बोका बिक्री गर्दा प्रतिकिलो २० रुपैयाँ अनुदानको व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए । गाउँपालिकामा अहिले दैनिक ७ सय लिटर दुध उत्पादन हुन्छ । रैनादेवी छहराका सल्लीधारा, कोकलधारा, पेलावास, फोक्केआप र धुँवापानीका किसानले पशुपालन व्यवसाय गर्दै आएको उनले बताए । मुझुङ र छहराका दुई सहकारीले जिउँदा खसीबोकाको खरिद बिक्री गर्दै आएका छन् ।

रम्भा गाउँपालिकाले बाख्रापालन, स्थानीय जातका कुखुरा र दुधमा अनुदान दिएको छ । बाख्रापालनमा प्रतिकिलो ५० रुपैयाँ, दुधमा प्रतिलिटर १०, कुखुराको मासुमा प्रतिकेजी ३० रुपैयाँ अनुदान दिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । अघिल्लो आर्थिक वर्षमा २३ लाख अनुदान खर्च भएको उनले बताए । फोक्सिङकोट गाउँले मात्रै गाउँपालिकाबाट ९ लाख अनुदान पाएको छ । समूह, सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराउने गरेको उनले बताए ।

बाख्रापालनबाट अगुवा बनेकी हुमीसरा पाँडेले गाउँपालिकाबाट उत्पादनमा आधारित अनुदान २९ हजार रुपैयाँ बुझेको बताइन् । रिब्दीकोट गाउँपालिकाले दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित अनुदान दिएको छ । यस वर्ष १ सय ९४ जना किसानलाई अनुदान दिएको अध्यक्ष नारायणबहादुर जीसीले बताए । दुधमा प्रतिलिटर एक रुपैयाँ अनुदान दिएको छ । चालु आर्थिक वर्षमा १ करोड ४९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ । अब किसानले प्रतिलिटर २ रुपैयाँ पाउने छन् ।

अनुदान लिनका लागि दुध उत्पादक किसानले दुग्ध सहकारीमार्फत दुध बेच्नुपर्छ । सहकारीमार्फत नै नगद अनुदान वितरण गर्ने व्यवस्था गरेको छ । रिब्दीकोट गाउँपालिकाले कृषि उत्पादन अन्तर्गत गोलभेडा उत्पादनमा पनि अनुदान दिनका लागि कार्यविधि बनाएको छ ।

तिनाउ गाउँपालिकाले डुम्रे दुग्ध उत्पादक सहकारी संस्था अन्तर्गतका किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । सहकारी संस्थामार्फत दूध बिक्री गर्ने किसानलाई प्रदेश सरकारको सहयोगमा प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान वितरण गरेको हो । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार सहकारीमा आबद्ध भई दुध ल्याउने मस्याम, ठिमुरे, मदनपोखरा, तानसेन, रुप्सेलगायतका किसानले अनुदान पाएका हुन् । किसानलाई डुम्रे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री र उनीहरूको वार्षिक उत्पादनका आधारमा अनुदान वितरण गरेको हो । माथागढी गाउँपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान दिएको छ । पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिकाले पनि किसानलाई अनुदान र उत्पादनमा आधारित अनुदान दिएका छन् ।

प्रकाशित : आश्विन ८, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?