कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

घरभित्रै महिला असुरक्षित

साउन र भदौमा मात्रै ५ महिला घरभित्रै मारिए, हत्या कि आत्महत्या भन्नेमै रूमलिन्छ प्रहरी
अमृता अनमोल

बुटवल — रूपन्देहीको तिलोत्तमाकी २७ वर्षीया सीता भण्डारी पौडेल भदौ २० मा आफ्नै घरमा मृत अवस्थामा भेटिइन् । बिहान ५ बजे आफन्त पुग्दा उनी झुण्डिएको पासो काटिएको र मुखभरि नीलडाम अवस्थामा आफ्नै कोठामा थिइन् ।

घरभित्रै महिला असुरक्षित

माइतीपक्ष मृत्युको कारण पत्ता नलाग्दासम्म शव नबुझ्ने अडानमा छ । घटना भएको १८ दिन बितिसक्यो । सीताको शव असोज ७ सम्म लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा छ । ‘छोरीले आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन । छोरीको हत्या नै भएको हो,’ बाबु हरिप्रसाद भण्डारीले भने, ‘किन हत्या भयो ? कारण नदिंदासम्म शव बुझ्दैनौं ।’

हरिप्रसादले हत्या आरोपमा सीताका पति टीका पौडेल र अमाजू विष्णुविरुद्ध भदौ २० मै किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले लिएन । माइतीपक्ष आन्दोलनमा उत्रियो, प्रहरी कार्यालय घेराउदेखि सडक प्रदर्शन गरे । दबाब बढेपछि बल्ल भदौ २५ मा सीताका पति टीका र अमाजू विष्णुलाई प्रहरीले हिरासतमा लियो । पोस्टमार्टम रिपोर्टमा सीताको झुण्डिएर मृत्यु भएको देखिएको भन्दै प्रहरीले आत्महत्या दुरुत्साहनमा मात्रै मुद्दा दिन दबाब दियो । माइतीपक्षले बाध्य भएर आत्महत्या दुरुत्साहनमा जाहेरी दिए । घटना अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताए ।

हरिप्रसादका अनुसार सीता र टीकाबीच दुई वर्षअघि मागीविवाह भएको हो । पाल्पा तानसेनमा दी दरबार रिसोर्ट सञ्चालन गर्ने उनीहरू तीज मनाउन भन्दै भदौ ६ गते तिलोत्तमास्थित घरमा आएका थिए । सीता ७ भदौमा तिलोत्तमा–४ मा रहेको माइती गएकी थिइन् । भदौ १९ मा श्रीमान् टीकाले भतिजको जन्मदिनको भोज छ भनेर सीतालाई घर बोलाएका थिए । तर, त्यस दिन जन्मदिनको भोज थिएन । २० गते बिहान ५ बजेतिर टीकाले नै ससुरा हरिप्रसादलाई जरुरी काम छ भन्दै आफ्नो घरमा बोलाएका थिए । हरिप्रसाद पुग्दा सीताको मृत्यु भइसकेको थियो । तर, टीका घरमा थिएनन् । केही समयपछि उनी मदिरा सेवन गरेर आएका थिए ।

पछिल्लो समय घरभित्रै महिला मृत भेटिने क्रम बढेको छ । तर, महिलाको मृत्युबारे न्यायिक क्षेत्र संवेदनशील भएको पाइँदैन । न त अधिकांश घटनामा पीडितलाई प्राथमिकता दिएर अनुसन्धान भएको पाइन्छ । फलस्वरूप धेरै पीडित पक्षले न्यायको अनुभूति गर्न पाएका छैनन् । हत्या कि आत्महत्या भन्नेमै धेरै घटना अल्झिएका छन् । आत्महत्या नै माने पनि दुरुत्साहन मुद्दा चलाउने र घटना अनुसन्धान गर्ने प्रक्रिया फितलो छ । कतिपय हिंसाविरुद्धका उजुरीलाई प्रहरीले न्यायिक प्रक्रियामा लैजान । अल्छी मान्दा त्यसले महिलालाई मृत्युका मुखमा पुर्‍याएको छ ।

त्यसमध्येकी हुन्, रोहिणी गाउँपालिका धकधईकी २२ वर्षीया सन्जु पासी । भदौ २३ मा उनी आफ्नै परिवारबाट मरणासन्न हुने गरी कुटिइन् । परपुरुषको मोटरसाइकलमा चढेको आरोपमा कुटिएकी उनी न्यायको खोजी गर्दै प्रहरीकहाँ गइन् । प्रहरीले घरझगडा गाउँमै मिलाउनु पर्ने भन्दै भदौ २५ मा मिलापत्र गराइदियो । त्यसको अर्को दिन अर्थात् भदौ २६ मा उनी घरमै मृत अवस्थामा भेटिइन् । घरपरिवारले आत्महत्या गरेको दाबी गरे । माइती पक्षले भने हत्या भएको भन्दै सासू–ससुराविरुद्ध किटानी जाहेरी दियो । सुरुमा प्रहरीले जाहेरी लिएन । शव भीम अस्पताल भैरहवामा राखियो । माइती पक्षले दबाब दिएपछि मात्रै प्रहरीले जाहेरी लियो । ससुरा रामलाल पासी र सासू रुक्मिणी पासी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । प्रहरी रिपोर्टमा घाँटी दबाएर मृत्यु भएको उल्लेख छ । जिल्ला प्रहरीका अनुसन्धान अधिकृत डेलिम घिमिरेले लागू औषध दुरुपयोगका कारण पति सुधार गृहमा रहेका बेला बुहारी परपुरुषको मोटरसाइकल चढी भन्ने खबर सुनेपछि घरपरिवारले उनीमाथि ज्यादती गरेको बताए । ‘सानो कुरालाई ठूलो विषय बनाएर निर्मम यातना दिने र ज्यान लिने काम भएछ,’ उनले भने, ‘आरोपितले गल्ती स्वीकारेको अवस्था छ ।’

पति–पत्नीबीचको झगडा परालको आगो भन्ने उखान छ । तर, पछिल्लो समय पती–पत्नीबीचको झगडाले महिलाका लागि घर असुरक्षित बनेको छ । झगडा, विवाद, चोटपटक हुँदै हत्यामा पुगेका छन् । भदौ २५ मा कञ्चन गाउँपालिका–५ की २३ वर्षीया सीता चौधरी आफ्नै घरमा आगो लागेको अवस्थामा भेटिइन् । आगो लगाउने उनकै पति रन्जीत थिए । आगोले ८० प्रतिशत शरीर जलेकी उनलाई परिवारले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल हुँदै पाल्पा तानसेन पुर्‍याए । उपचारकै क्रममा भदौ ३० मा उनको मृत्यु भयो । आगो लगाएको अर्को दिन नै माइती पक्ष पति रन्जीतले आगो लगाएर मारेको भन्दै प्रहरीमा जाहेरी दिन गएको थियो । तर, प्रहरीले सीता आफैंले आगो लगाएको भन्दै जाहेरी लिन मानेन ।

मृत्युपछि माइतीले दबाब बढाए । अहिले कर्तव्य ज्यानमा २९ वर्षीय पति रन्जीत थारु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख दिवाकर रिजालले रन्जीत रक्सी खाएर आउने र अरुबेला पनि पत्नीसँग निहुँ खोजेर विवाद गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको बताए । ‘त्यस रात पनि रन्जीत रक्सी खाएर आएका थिए । त्यसपछि पति–पत्नीबीच विवाद भएछ । विवादपछि पतिले लाइटर बालेर पत्नी जलाएको देखिन्छ,’ उनले भने, ‘रक्सीको नशापछि आवेशमा आउँदा घटना भएको देखिन्छ ।’

रूपन्देही प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा रूपन्देहीमा सात जना महिला घरभित्रै मारिएका थिए । १ सय २३ महिला तथा बालिकाले आत्महत्या गरे । त्यसमध्ये ४५ वटामा माइती र आफन्त पक्षले हत्या दाबी गरेका थिए । तर, पाँच जनाविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भयो । त्यसको अघिल्लो वर्ष २०७५/७६ मा ९३ वटा आत्महत्याका घटना भएकामा ३४ वटाले हत्या भएको एवं आत्महत्या गर्न वाध्य गराएको दाबी गरेका थिए । तर, प्रहरीले चार जनाविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा ६ सय ४६ जना महिला तथा बालिकाले आत्महत्या गरे । त्यसमध्ये १५ वटामा मात्रै आत्महत्या दुरुत्साहनमा मुद्दा चलेको छ । चालू आवको दुई महिनामा मात्रै घरभित्रै मारिने महिला तथा बालबालिकाको संख्या पाँच पुगिसकेको छ । रूपन्देहीका प्रहरी प्रमुख मनोज केसीले आफन्तले हत्या वा आत्महत्या दुरुत्साहन भने पनि प्रमाण नपुग्ने भएकाले जाहेरी लिई मुद्दा प्रक्रियामा लैजान नसकिएको बताए । ‘आफन्त र घरभित्रका मुद्दा अनुसन्धान र प्रमाण जुटाउन पनि जटिल छ,’ उनले भने ।

प्रकाशित : आश्विन ८, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?