कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हस्तान्तरण नहुँदै भत्कियो सहिद मार्ग

११ अर्ब लागत अनुमान गरिएको सडक निर्माण थालेको १५ वर्षमा पनि पूरा भएन
काशीराम डाँगी

रोल्पा — दाङ घोराहीदेखि रोल्पाको होलेरीसम्मको करिब ३१ किलोमिटर सहिद मार्ग कालोपत्र भइसके पनि सरकारलाई हस्तान्तरण नगर्दै भत्किएको छ । करिब ९० प्रतिशत काम सकिसकेको ठेकेदार कम्पनीले क्षतिपूर्ति माग गर्दै गत वर्षदेखि काम रोकेको छ ।

हस्तान्तरण नहुँदै भत्कियो सहिद मार्ग

निर्माण कम्पनी सिल पेसिभिक जेभीले सडक कालोपत्रको जिम्मा लिएको थियो । निर्माण कम्पनीले गत वर्ष होलेरीसम्म कालोपत्र पूरा गरेको थियो । हस्तान्तरणअघि सडक भत्किएपछि अहिले यातायात सञ्चालनमा समस्या भएको छ । सहिद मार्ग योजना कार्यालयका अनुसार हस्तान्तरण गर्नुअघि सडक भत्किएकाले ठेकेदार कम्पनीलाई मर्मतका लागि आग्रह गरेको छ । कार्यालय प्रमुख इन्जिनियर विष्णुबाबु पाण्डेले निर्माण सकिएपछि मात्रै सडक हस्तान्तरण हुने बताए । ‘अहिले काम रोकिएको छ । भत्केको सडकले आवागमनमै समस्या छ,’ उनले भने, ‘छिट्टै काम सक्न आग्रह गरेका छौं ।’ ठेकेदार कम्पनीेले सडक चौडा पार्ने, टेवा पर्खाल लगाउने, नाली निर्माण र कालोपत्र गर्न २०७० सालमा सम्झौता गरेको थियो ।

तीन वर्षभित्र काम सक्ने गरी सम्झौता भए पनि अहिलेसम्म पूरा भएको छैन । कम्पनीले तोकिएको समयमै काम सम्पन्न गरे पनि सिमेन्ट उद्योगका लागि क्लिंकर ओसार्ने टिपरले सडक बिगारेको गुनासो गरेको छ । मध्यस्थता ऐन, २०५५ अनुसार ठेकेदार कम्पनीको उजुरी मध्यस्थसमक्ष सुनुवाइका लागि पेस गरिएको छ । पहिलो भागको कालोपत्र गर्न भारतीय एक्जिम बैंकबाट सहुलियत ऋणबाट बजेट जुटाइएको थियो । सहिद मार्ग योजनाका प्रमुख पाण्डेले ठेकेदार कम्पनीले सडक कालोपत्र गरे पनि हस्तान्तरण भइनसकेकाले कार्यालय जवाफदेही हुन नसक्ने बताए । ‘उक्त सडक मर्मत र फेरि कालोपत्र गर्नेबारे मध्यस्थता ऐनअनुसार कारबाही अघि बढाइएको छ । मध्यस्थबाट सुनुवाइ भएअनुसार निर्माण अघि बढाइनेछ,’ उनले भने ।

कालोपत्र गरेको सहिदमार्गमध्ये घोराहीदेखि रोल्पा र दाङको सीमासम्मको करिब २८ किलोमिटरसम्म दैनिक ३ सयजति टिपर चल्ने भएकाले सडक जीर्ण बनेको हो । दाङमा रहेका दुईवटा सिमेन्ट उद्योग सोना र सम्राट उद्योगका लागि रोल्पा र दाङबाट क्लिंकर ओसार्न टिपर चल्ने गरेका छन् । उद्योगलाई चाहिने ढुंगा र क्लिंकर लैजाने अनुमति रोल्पाको रुन्टीगढी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिकाले दिएका हुन् । दाङ, रोल्पा, रुकुम र डोल्पालाई सडक मार्गले जोड्ने उद्देश्यले सहिद मार्गको निर्माण आर्थिक वर्ष २०६४/६५ देखि थालिएको थियो । सडक योजना कार्यालयका अनुसार २ सय २० किलोमिटर लामो सडकको ९ किलोमिटर मात्रै ट्रयाक खन्न बाँकी छ । हाल उक्त सडक रुकुम पूर्वको मैकोटसम्म पुर्‍याइएको छ ।

अधिकांश भागमा सडक चौडा, नाली र ग्राभेल कार्य सम्पन्न भइसकेको छ । हालसम्म करिब २ अर्ब ६३ करोड खर्च भइसकेको उक्त महत्त्वाकांक्षी सडक निर्माण सम्पन्न गर्दा ११ अर्ब १७ करोड बजेट खर्च हुने अनुमान गरिएको योजना प्रमुख इन्जिनियर पाण्डेले बताए । थबाङको ठूलो गाउँ जोड्ने सबैभन्दा लामोसहित सडकमा सबै १७ वटा पक्की पुल निर्माण भइरहेका छन् । योजनाअनुसार कालोपत्र गरेर सरकारले उक्त सडक ग्रहण गर्नेछ । सहिद मार्गको रुकुमको मैकोटदेखि चीनको सीमासम्म पुग्न करिब १ सय ५० किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । लुम्बिनी प्रदेशले उक्त सडक निर्माण गर्न मुख्य योजना बनाउने तयारी गरेको छ ।

टिपरका लागि वैकल्पिक सडक खोज्नेबारे स्थानीयदेखि प्रदेश मन्त्रीस्तरीय छलफलमा पटक–पटक कुरा हुने गरेको छ । तर, वैकल्पिक सडक नभएकाले चुनढुंगा ओसार्न सहिद मार्गकै प्रयोग सुरुदेखि नै भइरहेको हो । यसबारे रोल्पा, दाङ, प्यूठानका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच छुट्टाछुट्टै छलफल हुँदै आएको छ । तर, निकास निस्केको छैन ।

प्रकाशित : आश्विन ७, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?