पोखरी भर्न चौकीदारी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरी भर्न चौकीदारी

वीरेन्द्र केसी

अर्घाखाँची — गाउँमा सिँचाइ व्यवस्थाका लागि धेरै सरकारी निकाय गुहारे । सबैतिरबाट छिट्टै उपलब्ध गराउने आश्वासन पाए । तर, योजना कसैले पारिदिएनन् । सन्धिखर्क नगरपालिका–९ का पुष्करनाथ बन्जाडे यस्ता आश्वासनले गलेका थिए । पाखोबारीभरि तरकारी खेती लगाएका छन् । वर्षामा आवश्यक नपरे पनि हिउँदमा तरकारीलाई पानी चाहिन्छ । 

त्यसैले उपाय लगाए प्लास्टिकका पोखरी बनाएर आकाशे पानी संकलन गर्ने । त्यसैले वर्षाभरि उनी दिनरात आकाशे पानीको पर्खाइमा रहे । दुई लाख लिटर अट्ने प्लास्टिक पोखरीमा उनले आकाशको पानी जम्मा गरेका छन् । घर, गोठको छानोमा डुँड बनाएर पोखरीमा पानी खसाल्छन् । ‘सिँचाइका लागि मात्र होइन, हिउँदमा खानेपानीका लागि कुवा चहार्नुपर्छ,’ उनले भने, ‘१२ रोपनी पाखोबारीमा तरकारी खेती गर्छु । अहिले पोखरीमा पानी जम्मा गर्छु र हिउँदमा थोपा सिँचाइबाट तरकारी फलाउँछु ।’

राति निन्द्राबाट ब्यूझिँदा आकाशबाट पानी परेको थाहा पाउने बित्तिकै पोखरीतिर दौडिन्छन् । बर्खाभर पोखरीमा पानी जम्मा गर्न चौकीदारी गर्छन् । आकाशबाट ठूलो पानी पर्दा खुसी हुन्छन् । पोखरीमा पानी थपिन्छ । गत वर्ष पोखरी भर्न मुस्किल भयो । धेरै वर्षा भएन । यसपालि पानी धेरै परेकाले पोखरी आधाभन्दा धेरै भरिन थालेका छन् । छानोको सङ्लो पानी भर्छन् । त्यही पानीमा गाई र भैंसीको पिसाब मिसाउँछन् । ‘पानी र पिसाब मिसाएर सिँचाइ गरेपछि तरकारीका बोटमा मल धेरै राख्नुपर्दैन,’ उनले भने, ‘पिसाबले मलको भन्दा राम्रो काम गर्छ, उत्पादन दोब्बर हुन्छ ।’ पिसाब सिधै ड्रममा जाने बनाएका छन् । सुधारिएको भकारो छ । पिसाब मिसाएर सिँचाइ गरेपछि धेरै पानी पनि आवश्यक नपर्ने उनको तर्क छ ।

हिउँदमा तरकारी अवलोकन गर्न आउने कृषि अधिकृत, प्राविधिक, जनप्रतिनिधि, नेता, सरकारी कर्मचारी र कृषक खानेपानी नै अभाव भएको गाउँका पाखोबारीमा बेमौसमी तरकारी लटरम्मै फलेको देख्दा दंग पर्छन् । धेरैले जिज्ञासा राख्छन् । ‘गरेपछि सुख्खा बारीमा पनि असम्भव भन्ने हुँदैन,’ बन्जाडेले भने, ‘बर्खाभर पोखरीमा पानी जम्मा गर्ने, हिउँदमा तरकारी फलाएर आम्दानी गर्ने गर्छु ।’ गाउँमा बर्खामा धेरैले तरकारी खेती गरे पनि उनले हिउँदमा बढी फलाउँछन् । अहिले बारीमा मकै रोपेका छैनन् । अहिले घिरौंला, करेला, भिण्डी, लौका, काँक्रो, फर्सी, तीतेकरेला लगायत तरकारी फलेका छन् । विषादीमुक्त तरकारी उत्पादन गर्दा अर्गानिक भन्दै बजारबाट किन्न घरमै ग्राहक आउने उनले बताए ।

छत्रदेव गाउँपालिका–३ का विष्णुप्रसाद भुसालले पनि ४० हजार लिटर अट्ने प्लास्टिक पोखरी बनाएका छन् । बर्खाभर आकाशको पानी जम्मा हुन्छ । ‘हिउँदमा साग, काउली, बन्दा र आलुमा सिँचाइ पुग्छ,’ गोखुंगाका विनोद घमले भने, ‘सिँचाइ अभावमा अब जाँगर चले हिउँदमा पनि बारी खाली गर्नुपर्दैन । उत्पादन राम्रो हुन्छ ।’ अर्घाखाँचीका धेरै गाउँमा पानी अभाव भएपछि प्लास्टिक पोखरी बनाएर बर्खाको पानी जम्मा गरिन्छ । गर्मीको बेला धारामा पानी सुक्ने, एक गाग्री पानीका लागि कुवा चहार्नुपर्ने बाध्यता छ । ‘बर्खामा पानीका भेल बग्छन्,’ स्थानीय विमला थापाले भनिन्, ‘त्यही पानी जम्मा गरेपछि हिउँदलाई सिँचाइ पुग्छ । पिउनका लागि दुई/तीन घण्टा कुवा धाएर ल्याइन्छ, गाईबस्तु र सिँचाइलाई यही पानीले पुग्छ ।’

स्थानीय तह र कृषि ज्ञान केन्द्रले प्लास्टिक पोखरी निर्माण गर्न लगानी गरेका हुन् । ‘प्लास्टिक पोखरी बनाऐपछि हिउँदे तरकारी र बाली फस्टाएको छ,’ छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘यो प्रविधि अब घरैपिच्छे लागू गर्छौं ।’ माटोको पोखरीमा हिउँदमा पानी घट्ने भएकाले प्लास्टिक पोखरीलाई प्राथमिकता दिएको उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्

गाडी चढ्नै डर

‘डोजर अपरेटरले जता मन लाग्यो त्यतै बाटो खन्दा हामीले वर्षौंदेखि दुःख पाइरहेका छौं’
विप्लव महर्जन

सल्यान — वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरू क्षतविक्षत भएपछि यात्रुहरू गाडी चढ्नै डराउन थालेका छन् । वर्षाका कारण ठाउँठाउँमा पहिरो र हिलाम्मे सडक हुँदा यात्रा जोखिमपूर्ण बनेको हो ।


कालीमाटी– दम्दबाली सडकखण्डको झन्डै २० ठाउँमा पहिरो खसेको कालिमाटी गाउँपालिका–५ का नोखिराम बस्नेतले बताए । ‘अब त गाडी चढ्नै डर लाग्न थाल्यो,’ उनले भने, ‘हिँड्दाहिँड्दै पहिरोले गाडी पुर्ने हो कि भन्ने डर हुन्छ ।’ उनका अनुसार दम्दबालीबाट सुर्खेत र सदरमुकाम खलंगा जाने सडकको पनि अवस्था नाजुक भएको बताए । ‘सुर्खेत र खलंगा जाँदा फसेको ठाउँमा गाडी धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘गाडी चिप्लिएर दुर्घटना हुने जोखिम पनि उत्तिकै हुन्छ ।’

हिलाम्मे सडकका कारण गाडी गन्तव्यमा नपुग्दासम्म डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता भएको कुमाख गाउँपालिकास्थित स्यानिपिप्लीका दयाराम बोहराले बताए । ‘बरु पैदलै यात्राको भर छ,’ उनले भने, ‘गाडी चढे पनि ठाउँठाउँमा धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता हुन्छ ।’ उनका अनुसार हिलोका कारण गन्तव्यमा पुग्दासम्म यात्रुले लगाएका कपडा कामै नलाग्ने हुन्छन् ।

हिउँदमा डेढ घण्टामै पुगिने सल्लीबजार–चौरजहारी सडकको यात्रा ४/५ घण्टामा लम्बिएको उनले बताए । बर्सेनि सल्ली–चौरजहारी सडक स्तरोन्नतिका लागि करोडौं रकम खर्च हुने गरे पनि गुणस्तरीय काम नहुँदा यात्रुले सधैं दुःख पाइरहेको उनको भनाइ छ । बाग्चौर नगरपालिकाको पातिहाल्नादेखि खलंगा पुग्ने सडकको पनि हालत उस्तै छ । सडकमा गाडी चल्न लागेकाो झन्डै १५ वर्ष बिते पनि नाली नहुँदा सडक ठाउँठाउँमा चिरा परेको छ । पहिरो र खाल्डाखुल्डीका कारण पनि यात्रा जोखिमपूर्ण बनेको स्थानीय शेरबहादुर रोकाले बताए । ‘सडककै कारण बिरामीले बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘ठूला गाडीको के कुरा मोटरसाइकल पनि धकेल्दै गुडाउनुपर्छ ।’

सडक डिभिजन कार्यालयले खनेका भन्दा स्थानीय तहले निर्माण गरेका सडकमा बढी दुःख पाउन थालेको भल्चौरका हर्कबहादुर भण्डारीले बताए । ‘जताततै सडक खन्ने काम मात्र हुन्छ, तर स्तरोन्नतिमा स्थानीय सरकारको ध्यान जाँदैन,’ उनले भने, ‘डोजर अपरेटरले जता मन लाग्यो त्यतै बाटो खन्दा कहामीले वर्षौंदेखि दुःख पाइरहेका छौं ।’ पुल नहुँदा कैयौं ठाउँमा खोलाले गाडी बगाउने गरेको उनले बताए । वर्षा अझै नरोकिएका कारण सडक मर्मतमा समस्या भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । अवरुद्ध भएका र पहिरोले क्षति पुर्‍याएका सडक मर्मतको तयारी थालिएको शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाधर बबालले बताए । पर्याप्त बजेट नहुँदा सडक मर्मतमा समस्या भएको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×