क्यान्सरपीडितलाई १५ लाख- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सरपीडितलाई १५ लाख

कान्तिपुर संवाददाता

पाल्पा — ब्लड क्यान्सरपीडतका लागि १५ लाख रुपैयाँ सहयोग जुटेको छ । रामपुर नगरपालिका–५, रानाटोलका पीडित बालक अंकित रानाको उपचारका लागि उक्त सहयोग जुटेको हो । ६ वर्षीय बालक रानामा गत चैतमा ब्लड क्यान्सर देखिएको थियो । 


सामान्य परिवारका उनको उपचारमा समस्या भएपछि परिवारले सहयोगको आग्रह गरेका थिए । नेपाल मगर संघ र एकीकृत मगर उत्थान समाज रामपुरसँगको समन्वयमा पीडित रानाको उपचारका लागि १५ लाख ८७ हजार २ सय ४९ रुपैयाँ सहयोग जुटेको हो ।

गत चैत महिनादेखि चितवनमा नियमित उपचार गराउँदै आएकामा रकम अभाव हुन थालेपछि छोराको उपचारका लागि सहयोग गरिदिन घरपरिवारले आग्रह गरेको अंकितकी आमा लीला रानाले बताइन् । ‘अहिले केही सुधार भएपछि छोरालाई घरमै ल्याएका छौं,’ उनले भनिन् । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापासहितका सहयोग गर्ने व्यक्ति र संस्थाले संकलित रकम घरमै पुगेर बिरामी अंकित र आमा लीलालाई हस्तान्तरण गरेका हुन् ।


प्रकाशित : आश्विन ५, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

राजविराजलाई ‘ग्रिन–क्लिन सिटी’ बनाइने

कान्तिपुर संवाददाता

राजविराज — प्रदेश सरकारले सप्तरीको राजविराज नगरपालिकालाई ‘ग्रिन सिटी, क्लिन सिटी’ बनाउने भएको छ । नेपालकै पुरानो टाउन प्लानिङ भएको नगर राजविराजलाई सुन्दर र व्यवस्थित बनाउन यो अवधारणा अघि बढाइएको प्रदेश २ का आर्थिक मामिला मन्त्री शैलेन्द्रप्रसाद साहले बताए । 

सोमबार सप्तरी उद्योग वाणिज्य संघको सभाहल उद्घाटन कार्यक्रममा मन्त्री साहले उक्त कार्यक्रमका लागि तत्काल प्रदेश सरकारले १० करोड रुपैयाँ दिने जानकारी दिए । ‘राजविराजलाई ग्रिन सिटी क्लिन सिटी बनाउन तत्काल १० करोड रुपैयाँ दिन लागिएको छ,’ मन्त्री साहले भने, ‘पछि पनि प्रदेश सरकारले सहयोग गर्छ ।’

उक्त बजेट सरसफाइ, सडक बिजुली, छाडा पशु नियन्त्रण, बृक्षारोपण र सडकका खाल्टाखुल्टी मर्मतसम्भालगायतका काममा खर्चिने उनले जानकारी दिए ।

यस्तै, ५ हजार जना अटाउने क्षमताको सभाहल निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री साहले बताए । मन्त्री साहले प्रदेश सरकारले युवा स्वरोजगार कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए ।

प्रकाशित : आश्विन ५, २०७८ ११:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×