१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

रुकुमकोटमा ठूला होटलमा लगानी बढ्यो

रुकुम पूर्व — जिल्लामा मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि रुकुमकोटमा होटल व्यवसायमा लगानी गर्ने क्रम बढेको छ । अहिले यहाँ पूर्वाधारमा लगानी भइरहेको छ । यहाँका व्यवसायीले होटलमा लगानी गर्न थालेका छन् । यहाँ ठूलो लगानीका तीनवटा होटल सञ्चालनको तयारीमा छन् । 

रुकुमकोटमा ठूला होटलमा लगानी बढ्यो

स्थानीय विनोद केसीले पौने दुई करोड रुपैयाँ लगानीमा होटल बीएलबी, सुनिल रोकाले झन्डै १ करोड लगानीमा होटल लेक सिटी र राजु रेग्मीले त्यति नै लगानीमा मनज्ञा कन्ट्रीभिल्ला होटल सञ्चालनमा ल्याउँदै छन् । सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटस्थित कमलदह नजिकै होटल बीलएबी निर्माणाधीन छ । होटल लेक सिटी र मनज्ञा कन्ट्रीभिल्ला छिप्रिदह नजिक बनिरहेका छन् । स्थानीय विनोद मल्लले ठूलो लगानीमा होटल (लज) निर्माण गर्दैछन् । उनी भवन निर्माणको काममा जुटेका छन् । यो पनि छिप्रिदह नजिकै बन्दै छ ।

हिमाली जिल्ला पर्यावरणीय तथा वातावरणीय दृष्टिकोणले राम्रो रहेकाले पर्यटक बढ्ने अपेक्षाका साथ होटलमा लगानी बढाइएको हो । देशका ठूला सहर काठमाडौं, पोखरा, बुटवल, नेपालगन्जबाट रुकुमकोट पुग्न खासै समस्या छैन । विशेष गरी मध्यपहाडी लोकमार्ग, सहिद मार्ग र राप्ती लोकमार्ग भएर पर्यटक यहाँ आउजाउ गर्न सजिलो छ ।

पूर्वतर्फ ढोरपाटन सिकार आरक्ष, पोखरा हुँदै काठमाडौं जान आउन सकिने र पश्चिम क्षेत्रबाट पनि दाङ, नेपालगन्ज, सुर्खेत र बीचको सहिद मार्ग भएर पनि बुटवल हुँदै काठमाडौं आउजाउ गर्न सजिलो छ । यसैलाई मध्यनजर गर्दै रुकुमकोटमा होटलमा लगानी गर्नेको संख्या बढ्दै गएको हो ।

‘आशा छ । केही न केही होला भनेर लगानी गरिएको हो,’ बीएलबीका सञ्चालक केसीले भने, ‘पछिल्लो समय रुकुमकोट आकर्षक गन्तव्यका रूपमा परिचित हुँदैछ भन्ने हाम्रो ठम्याइ हो ।’ मानिसको आउजाउ बढेपछि व्यवस्थित र सुविधा सम्पन्न होटलको खोजी हुन थालेको देखेपछि आफूले पनि होटल व्यवसायमा लगानी गरेको उनले बताए । सकेसम्म राम्रो सुविधा दिने गरी आफूले तयारी गरिरहेको केसीले बताए । समयअनुसारको सुविधाका लागि होटल सञ्चालन गर्ने योजना रहेको होटल लेक सिटीका सञ्चालक रोकाले बताए । जिमहलसहित सुविधासम्पन्न होटल सञ्चालनको अन्तिम तयारीमा रहेको उनले बताए ।

२०७४ असोज १९ गतेदेखि रुकुम पूर्वले छुट्टै जिल्लाका रूपमा कामकाज सुरु गरेपछि यहाँको बजारीकरणले व्यापकता पाएको हो । भौतिक संरचनादेखि विभिन्न व्यवसायमा लगानी गर्नेहरू बढ्दै गएका हुन् । ‘रुकुमकोट उपत्यकामा पछिल्लो पाँच वर्षको अवधिमा धेरै लगानी भएको छ,’ रुकुमकोट उद्योग वाणिज्य संघका सचिव केवेन्द्र गौतमले भने, ‘सबभन्दा बढी भौतिक संरचना, त्यसपछि होटल र अन्य व्यवसायमा क्रमशः लगानी बढ्दै गएको छ ।’


प्रकाशित : आश्विन ४, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?